मुगल सेनालाई हराएको स्मृतिमा गढीको २६२ औं विजयोत्सव

साझाकुरा
२०८१ माघ ११, शुक्रबार १७:३०

हेटौंडा- मकवानपुरगढी गाउँपालिकाले माघ १० गते बिहीवार विजयउत्सव मनाएको छ । २ नम्बर वडा कार्यालयको आयोजनामा बिहीवार दरबार परिसरमा विजयउत्सव मनाएको हो ।देशकै ठूलो मानिने मकवानपुरगढी राज्यमाथि आक्रमण गर्न आएका करिब २५ सय विदेशी सेनाका फौजलाई पृथ्वीनारायण शाहको गोर्खाली सेनाले पराजित गरेको दिनलाई विजयउत्सव मनाइने गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपालको नक्शाअंकित संरचनामा राष्ट्रिय झण्डोत्तोलन गर्दै विजयउत्सव मनाइएको हो । मुख्यमन्त्री लामाले देशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको ऐतिहासिक मकवानपुरगढी दरवारक्षेत्रको संरक्षण एवम् प्रवद्र्धनका लागि बहुवर्षीय गुरुयोजना सुनिश्चित गरेर लैजानुपर्ने बताए ।

गढीको महत्व आफूले बुझेको बताउँदै मुख्यमन्त्री लामाले आर्थिक मामिलामन्त्री हुँदा पनि यहाँको विकासका लागि सहयोग गरेको स्मरण गरे । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकूरीले मकवानपुरढी दरबार जीर्णोद्धारका लागि पटकपटक गरी प्रदेश सरकारले ५ करोड रुयौयाँ उपलब्ध गराएको बताए । मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामास्याङतानले आगामी वर्षदेखि अझै व्यवस्थित र भव्य तरिकाले विजयउत्सव मनाउने बताए । मकवानपुरगढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको अध्यक्ष लामाको भनाई छ ।

मकवानपुरगढी–२ का वडाध्यक्ष बखानसिंह पाख्रिनले गढी दरबारको ऐतिहासिक पृष्ठभूमि तथा यो क्षेत्रको विकासका लागि भइरहेका गतिविधिबारे जानकारी गराए । पुरातत्व विभागसँगको समन्वयमा दरबारक्षेत्रको जीर्णोद्धारका काम भइरहेको भन्दै पाख्रिनले प्रदेश तथा संघीय सरकारसँगको समन्वयमा थप कार्य भइरहेको बताए । नेपालका १०० उत्कृष्ट पर्यटकीय गन्तव्यमा मकवानपुरगढी पनि रहेको उल्लेख गर्दै उनले पर्यटकको सुविधाका लागि होमस्टेमार्फत् सरल आवासको व्यवस्थापन भइरहेको बताए ।

नेपाल सरकारले देशका एक सयवटा महत्वपूर्ण गन्तव्यभित्र मकवानपरगढीलाई पनि समेटेको छ । हाल पुरातत्व विभागसँगको समन्वयमा गढी दरबारक्षेत्रको जीर्णोद्धारकार्य भइरहेको छ । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ, मध्यपृतना मुख्यालय हेटौंडाका निमित्त पृतनापति सुवासजंग थापा, गोरखगणका गणपति नीरञ्जन धामी, मकवानपुरगढीका वडा अध्यक्षहरु भागवत घिमिरे, अर्जुन तिमल्सिना, आइतसिं लो, कृष्णप्रसाद बजगाईं, दिपेश दाहाललगायतको आतिथ्यता थियो ।

इतिहासमा माघ १०माघ १० गते अर्थात २६१ वर्ष अघि मुगल सैनिकबाट गोर्खालीमाथि गरिएको आक्रमणको पथप्रदर्शक पराजित सेन राजा दिग्वन्धन सेन थिए । मिरकासिमसँग वार्ता मिलेपछि युद्ध गर्न बंगाली सेनाको फौज सहित दिगवन्धन सेन मकवानपुरगढीतर्फ लागे ।राजा दिग्वन्धन सेन चुरियासम्म आएर पछि हटे । चुरियाडाँडा काटेर १८१९ पुस २७ गते मीर कासिमको फौजले हर्नामाडीचौकी आक्रमण गरे । यो आक्रमणमा करिब ३ हजार फौजी खटाइएको थियो । यसरी आक्रमण गर्न आएको कुरा दहचोकगढीमा बसेका राजा पृथ्वीनारायण शाहलाई रातारात खबर पुग्यो । त्यसबखत पृथ्वीनारायण शाह शिखरकटेरी गैरीगाउँबाट मकवानपुरगढी चढ्नको लागि सजिलो बाटो बनाईरहेका थिए ।

यसैबीच गोर्खाली सेनाहरु गएर मिर कासिमको फौजमाथि ढुङ्गा मुढा बर्साए । कोही क्याम्पमै र कोही भारी बोकेर गढीतर्फ आइरहेको देखेर गोर्खालीका सेनापति नहरसिंह बस्न्यात, केहलरसिंह बस्न्यात, वंशराज पाँडे, जीव शाह, हर्क पन्त, रामकृष्ण कुँवरको नेतृत्वमा गोर्खालीले शिखरकटेरी माथिबाट ढुङ्गामुढा बर्साए ।युद्ध हुँदै जाँदा वि.स १८१९ माघ १० गते भएको अन्तिम लडाईमा मिर कासिमका नायव नवाव सेनाको हार भयो । यस युद्धमा मीर कासिमका सत्र सय जवान र गोर्खालीका ३० जना सेनाको मृत्यु भएको थियो ।

युद्धबाट गोर्खालीलाई ५ सय बन्दुक, २ तोप, बारुद, गोला लाभ भएको थियो । गोर्खालीले बिदेशी सैनिकमाथि विजय प्राप्त गरेकोले मनोबल उच्चभएको थियो । मुगललाई गोर्खालीबाट पराजित गरेपश्चात राजा पृथ्वीनारायण शाहबाट मकवानपुरगढीमा पहिलो बिजयउत्सव मनाइएको थियो । सोही दिनलाई ऐतिहासिक दिनको सम्झनामा माघ १० गते विजयउत्सव मनाउने गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*