बागमतीमा निजी सालको रुख सदुपयोगको कार्यविधि अन्तिम चरणमा
हेटौंडा-बागमती प्रदेशको वन तथा वतावरण मन्त्रालयले निजीवनमा रहेका साल प्रजातिको रुख कटानकार्य सुरुवात गर्नका लागि अनुगमन कार्यविधि तयार पारेको छ । वन निर्देशनालयले हेटौंडामा आयोजना गरेको २ दिने दोस्रो त्रैमासिक समिक्षा गोेष्ठीमा मन्त्रालयका सचिव डा.केदार बरालले निजीवनको साल प्रजातिको रुखकटान, उपभोग, ओसारपसार, विक्रीवितरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०८१ तयार गरी स्विकृतिका लागि प्रदेश सरकार मन्त्रिपरिषद्मा पठाउने अन्तिम चरणमा पुगेको बताएका हुन् । नेपालको सालको काठ पर्याप्त मात्रामा उत्पादन गर्न सकिने सम्भावना हुँदाहुँदै मलेसियन टिम्बर आयात गरिरहेको अवस्थामा यो कार्यबिधिले उपभोक्तालाई राहत हुने देखिएको छ ।
डा. बरालले भने ‘मन्त्रालयले अहिले निजीवनको साल प्रजातिको रुखकटान, उपभोग, ओसारपसार, विक्रीवितरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०८१ मस्यौदा तयार गरिसकेको अवस्था छ ।’ यो कार्यविधि प्रदेश सरकार मन्त्रिपरिषद्वाट स्वीकृत भएपश्चात लागु हुनेछ । यो कार्यविधिवमोजिम दर्ता भएका निजीवन धनीले आफ्नो निजीवनमा लगाइएका वा हुर्काइएका सालका रुखहरु स्विकृति लिइ कटान र उपयोग गर्न सक्नेछन् । नेपालका धेरै जिल्लामा निजी वन लगाइएको छ ।
संघीय सरकारको २०८० साल मंसिर ७ गते नेपाल राजपत्र भाग ५ मा प्रकाशन गरेको सूचना १ को ५ (ग) मा दर्ता भएका निजीवनमा लगाइएका वा हुर्काइएका सालप्रजातिको रुख कटान, उपभोग ओसारपसार र विक्रीवितरण गर्न पाउने र यसको प्रदेश सरकारले आवश्यक अनुगमन गर्नुपर्ने व्यवस्था गरेकोले प्रदेश सरकारले निजीवनको साल कटान तथा उपयोग कार्यको अनुगमन गर्नका लागि यो कार्यविधि तयार गरेको हो । साल प्रजातिका रुख काट्न नदिएकै कारण उपभोक्ताले कम गुणस्तरको विदेशी काठ डलर खर्चेर उपभोग गर्नु परिरहेको थियो ।
कार्यक्रममा प्रदेशको वन तथा वतावरण मन्त्रालयका मन्त्री कृष्णप्रसाद सिलवालले कार्यविधिले कुनै व्यक्तिले गैरकानूनी ढंगबाट अन्य निजीवन धनीको जग्गामा रहेको रुख चोरी कटानी तथा निकासी गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने उल्लेख गरिएको बताए । यस्तै त्यसको अनुगमन तथा प्रतिवेदन सम्बन्धी व्यवस्थामा डिभिजन वन कार्यालय, स्थानीय तह, वन निर्देशनालय र मन्त्रालयले अनुगमन गर्ने बताए । अनुमगमनमा प्रभावकारी कार्यका लागि छलफल भइरहेको बताइएको छ ।
कार्यक्रममा मन्त्रालय मातहतका निर्देशनालय, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र १५ वटै डिभिजन वन कार्यालयका प्रमुखहरुले अन्तिम रुप दिएको कार्यविधि प्रदेश सरकार, मन्त्रिपरिषदवाट स्वीकृत भएपश्चात तुरुन्तै लागु गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । पछिल्लो वर्षहरुमा नेपालको वनमा सुकेर ढलेका सालको काठ गर्मीयाममा डडेलोबाट खरानी बनेर खेर गइरहेको र कमसल खालका वा न्युन गुणस्तरको विदेशी काठ उपभोग गर्न बाध्य भएको भन्दै सामुदायि वन समूहले बहस उठाएका थिए ।
निजी जग्गामा हुर्किएका सालको रुख काट्नको लागि वन दर्ता गरेर व्यक्तिगत र व्यावसायिक प्रयोजनको लागि उपभोग गर्न पाइने गरी कानुनी बाटो एक वर्ष अघिदेखि खुला भएको थियो । दर्ता भएका निजी वनको सालका रुख तोकिएको कानुनी प्रक्रिया पूरा गरेर देशभर बिक्री गर्न पाइने गरी बाटो खुला गरिएको हो । नेपाल सरकाले २२ वर्षअघि लगाएको निजी जग्गाको सालको रुख कटानको प्रतिबन्ध खुला भएको हो ।
विसं २०५८ कात्तिक १६ मा लगाएको प्रतिबन्ध ‘निजी वन दर्ता गरेर काट्न पाइने’ भनेर विसं २०८० मंसिर ७ मा सरकारले राजपत्रमा सूचना प्रकाशन गरेको थियो । सूचनाअनुसार निजी वनमा लगाइएका सालको रुख कटानको अवरोध हटेको हो । निजी वनको सालको रुख काट्न प्रतिबन्ध लगाएपछि वातावरणीय संतुलनमा समेत समस्या भएको वातावरणविद्हरुले बताएका थिए ।







