कैलाशको बजेट संशोधन, ९ चेली सम्मानित

साझाकुरा
२०८१ माघ १६, बुधबार ११:०६

हेटौंडा-= मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले २ करोड ३० लाख रुपैयाँ थप आयव्यय अनुमान सहित चालू आर्थिक वर्ष २०८१÷८२ को बजेट संशोधन गरेको छ ।चालू आवमा २७ करोड ३७ लाख रुपैयाँको बजेट बनाएको गाउँपालिकाले सोमबारको १५ औं गाउँसभाबाट २ करोड ३० लाख २४ हजार रुपैयाँ थप अनुमानसहित बजेट संशोधन गरी २९ करोड ६७ लाख ४४ हजार रुपैयाँ बनाएको हो । थपिएको बजेट आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमान गरिएको छ । गाउँसभाको बैठकमा उपाध्यक्ष बालकुमार मल्लले बजेट संशोधन, परिमार्जन, रकमान्तर तथा थप गर्नका लागि प्रस्ताव पेश गरेकोमा गाउँसभाबाट सर्वसम्मतिले पारित गरेको हो । गाउँसभाबाट चालुतर्फको ८ वटा योजनामा थप बजेट र ६ वटा नयाँ योजनामा ३४ लाख ६३ हजार रुपैयाँ बजेट थप गरिएको छ ।

पुँजीगततर्फ ३४ वटा योजनामा बजेट थप गरिएको छ भने २९ वटा नयाँ योजना थपिएका छन् । पुँजीगततर्फ ३५ करोड २० लाख ५ हजार रुपैयाँ बजेट थप गरिएको छ । गाउँसभाबाट चालुतर्फ २५ वटा योजनाको रकमान्तरण गरिएको छ भने पुँजीगततर्फ १४ योजनाको रकमान्तर गरिएको छ । गाउँसभाबाट खानेपानी सरसफाई ऐन र पशुस्वास्थ्य तथा पशुसेवा ऐन पारित गरिएको छ । ३ वटा ऐन संशोधन गरिएकोमा २७ वटा कार्यविधि संशोधन गरिएको छ । गाउँपालिकाले बालबिवाह न्युनीकरकणका लागि बिगतका वर्षदेखि नै सुरु गरेको चेली प्रोत्साहन कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिएको छ ।

कम्तिमा १२ पास गरी २० वर्ष उमेर पार भएर मात्र बिवाह गर्ने चेलीलाई गाउँपालिकाले नगद सहित सम्मान गरेको हो । मंगलबार गाउँपालिकाको १५ ओैं हिउँदे अधिवेशनका अवसरमा ९ जना चेलीलाई नगदसहित सम्मान गरिएको थियो । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, उपाध्यक्ष मल्ल, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठलगायतले प्रतिव्यक्ति २० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

सम्मानित हुनेहरुमा अम्बिका अर्याल, अनिता रुम्बा, कैलाश–९ का कल्पनामाया घलान, कैलाश–९ का सविना रुम्बा, कैलाश–६ का हीरा मुक्तान, वडा नम्बर ९ कि देवकी बर्तौला, वडा नम्बर १० कि लक्ष्मी ब्लोन, शान्ति तितुङ र अबिगेल प्रजा रहेका छन् । गाउँपालिका अध्यक्ष मुक्तानले विवाहअघि कम्तिमा पनि १० जोड २ पास गर्नुपर्ने र उमेर २० वर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखिएको बताए ।

उनले देशभरका स्थानीय तहमध्ये यो कार्यक्रम पृथक कार्यक्रम भएको बताए । गाउँघरमा छोरीलाई बालबिवाह गर्ने, पढाइबाट बञ्चित गर्ने चलन अझै रहेको बताउँदै उनले यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे । उपाध्यक्ष मल्लले कार्यक्रमलाई बृहतरुपमा विस्तार गर्दै लैजाने बताए । उनले २० वर्ष पूरा भएपछि मात्र विवाह गर्न चेतना फैलियोस र परिपक्व भएपछि मात्र विवाह गर्नुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताए । गाउँपालिकाले हरेक वर्ष चेली प्रोत्साहन कार्यक्रमका लागि बजेट विनियोजन गर्दै आएको छ ।

सभामा पालिकाले विभिन्न विधामा व्यक्ति तथा संस्थाहरु सम्मान गरेको छ । सञ्चारकर्मीतर्फ पोष्टराज अधिकारी, पूर्वशिक्षकतर्फ ढोडाई चौधरी र तारणीप्रसाद चौधरी, सहजकर्तातर्फ पार्वती खतिवडा, शिक्षकतर्फ शान्ति खतिवडा र अर्जुनप्रसाद लामिछाने, विद्यार्थीतर्फ कृष्टिना बानियाँ, हरिओम बर्तौला र विवस अर्याल, प्रधानाध्यापकतर्फ लक्ष्मीदेव घिसिङलाई सम्मान गरिएको थियो ।

कृषकतर्फ श्यामबहादुर गोले, मेड्पा उद्यमीतर्फ कुमारीमाया मुक्तान, कार्यालय सहयोगीतर्फ रामप्रसाद प्रजा, सामाजिक परिचालकतर्फ राजेन्द्र थिङ, सिनियर अनमीतर्फ तारा थापा, सिनियर अहेवतर्फ सुधिरकुमार कुशवाहा, प्राविधिक सहायकतर्फ दीपेन्द्र अधिकारी, निर्माण व्यवसायी तर्फ आयूश्री विल्र्डसका चेतबहादुर थापा, उपभोक्ता समिति अध्यक्षतर्फ हरिदास रिजाललाई सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*