अन्तर प्रदेश जोड्ने सडक निमार्णमा चासो : सिन्धुली र सर्लाही जोड्न बागमती र मधेश सरकारको सहकार्य

साझाकुरा
२०८१ माघ २१, सोमबार १५:४१

हेटौंडा-संघ र प्रदेशबीचको सहकार्य दिगो, प्रभावकारी र शसक्त नभएको भन्दै संघीयतामाथि नै प्रश्न उठाइदै आएको बेला अन्तरप्रदेश समन्वयलाई मजबुत बनाउन प्रयास भएको छ । अन्तरप्रदेश व्यापार व्यवसाय प्रवद्र्धन गर्न राजमार्ग निर्माणकार्यले विशेष भूमिका निर्वाह गर्छ ।भौतिक निर्माणको सवालसँगै सामाजिक विकासमा पनि ध्यान दिनु जरुरी रहेको सवाल उठाउन थालिएको छ भने अर्कोतिर भौतिक निर्माण नै नहुँदा विकासको अन्य पाटाहरु ओझेलमा परिरहेका छन् । विकासको लागि पनि सबैभन्दा पहिलो मेरुदण्ड कै रुपमा सडकलाई लिने गरिएको छ । विकास निर्माणका विषयमा सीमाक्षेत्र सबैभन्दा जटिल बनिरहेको हुन्छ ।

सीमाक्षेत्रका स्थानीय तह र प्रदेश सरकारबीच समन्वय हुन नसक्दा नागरिकले कष्ट भोग्न बाध्य छन् । यही समस्याको शिकार बनेका छन्, बागमती प्रदेशको हरिहरपुरगढी र मरिन गाउँपालिका  बागमती प्रदेशको सिन्धुली र मधेश प्रदेशको सर्लाही जोड्ने सडक निर्माण नहुँदा यो क्षेत्रका नागरिक अझै पनि समस्या भोग्न बाध्य छन् । सडकको ट्रयाक छ तर, यात्राको लागि भरपर्दो छैन । दुरीको हिसाबले सर्लाहीको हरिवनबाट १० किलोमिटर उत्तरतर्फ रहेको धिमिले, १३ किलोमिटर दुरीमा रहेको क्यानेश्वर क्षेत्र अत्यन्त विकट देखिन्छ । क्यान खोलामा पक्की पुल छ तर, उत्तरतर्फ रहेको मदन भण्डारी राजमार्गबाट त्यहाँसम्मको पहुँचमार्ग निकै जीर्ण छ । सडक पूर्वाधार उचित नहुँदा चुरे पहाडको फेदीमा रहेको क्यानेश्वर र सीमाको गाउँ धिमिलेका नागरिकले बिरामी पर्दा एम्बुलेन्स सेवासमेत पाउँदैनन् ।

कोही कसैलाई समस्या परिहाल्यो भने खहरेको बाटो हुँदै मरिनबाट हेटौंडा वा धिमिलेबाट हरिवन पु¥याउनु पर्छ । क्यानेश्वरमा रहेको स्वास्थ्यचौकीले थेग्न सके जीवनरक्षा हुन्छ, अन्यथा भगवान् भरोसामा बस्नुको विकल्प छैन । सडक सञ्जाल सशक्त भएपछि स्थानीय उतपादनले बजार पाउने, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतको विकासमा सडकले टेवा दिन्छ । यसैले पनि सडक सञ्जालको विकास विशेष प्राथमिकतामा पर्ने गरेको स्थानीय तहका जनप्रतिनिधि दाबी गर्छन् । स्थानयि क्षेत्रको विकासमा त सहजै समस्या सुल्झल्छन्, अन्तर प्रदेशको सीमानामा विकासको लागि एकअर्कोको बाटो हेर्दै समय वित्ने गरेको छ ।

बागमती प्रदेश सरकार र मधेश प्रदेश सरकारले हरिवन–क्यानेश्वर सडक निर्माणमा तदारुकता देखाएका छन् । संविधानको व्यवस्था अनुसार विकास निर्माणमा समन्वय र सहकार्य गर्ने गरी दुई प्रदेश सरकारले अग्रसरता देखाएका हुन् । पूर्वपश्चिम राजमार्गको हरिवनबाट मदनभण्डारी राजमार्गको मरिन जोड्ने गरी करिब ३० किलोमिटर सडक निर्माणमा दुई प्रदेश सरकार सहकार्य गर्न तयार देखिएका छन् । अन्तरप्रदेश मात्रै हैन यो सडक नेपालको छिमेकी राष्ट्र चीन र भारतलाई जोड्ने छोटो मार्गको रुपमा विकास गर्न सकिने गरी सम्भाव्यता अध्ययनको थालनी गर्न दुई प्रदेश सरकार अघि बढेका छन् ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले र मधेश प्रदेशका अर्थमन्त्री सुनिल यादवले यो सडकको स्थलगत अवलोकन गरेका छन् । आगामी आर्थिक वर्षमा बजेट व्यवस्था गर्ने गरी हरिवन–मरिन जोड्ने सडक निर्माण तथा स्तरोन्नतिको काम गर्ने उनीहरुको भनाई छ । दुबै प्रदेशका मन्त्रीले संयुक्तरुपमा सडकको अवलोकन गर्दै मधेश प्रदेशको पूर्वपश्चिम राजमार्ग र बागमती प्रदेशको मदन भण्डारी राजमार्गलाई जोड्ने सडक सञ्जाल विस्तारको आवश्यक छलफल तथा सहकार्यसहित सम्झौता गर्ने मन्त्रीद्वय काफ्ले र यादवले बताए ।

मन्त्री काफ्लेका अनुसार सर्लाहीको विष्णु गाउँपालिका हुँदै हरिवनदेखि धिमिले क्यानेश्वरबाट सिन्धुलीको मरिन गाउँपालिकासम्म जोड्ने सडकलाई व्यवस्थित रस्तरोन्नतिको तयारी भएको हो । दुवै प्रदेशलाई जोड्ने छोटो दुरीको सडक सञ्जाल विस्तारको काम अघि बढाउने उनले बताए । यो विषयमा दुई सरकारबीच औपचारिक रुपमा छलफल गरेर अघि बढ्ने गरी भौगोलिक अवस्थितिको अवलोकन गरिएको उनको भनाई छ । उनले यो सडकखण्डलाई विस्तार गर्न सके बागमती प्रदेश हुँदै भारत र चीनलाई समेत जोड्न सकिने अवस्था देखिएको बताए ।

‘मधेश प्रदेशको सर्लाहीको हरिवनदेखि बागमती प्रदेशको सिन्धुलीको मरिनसम्म करिब ३० किलोमिटर सडकलाई स्तरोन्नति गरेर जोड्न सकिने देखियो,’ उनले भने,‘हरिवनबाट धिमिले हुँदै क्यानेश्वरसम्म १३ किलोमिटर र क्यानेश्वरदेखि मरिनसम्म १७ किलोमिटर सडक स्तरोन्नति गर्नुपर्ने हुन्छ । दुवै प्रदेशले आफ्नो क्षेत्रमा पर्ने सडकलाई आवश्यक बजेट छुट्याएर काम थाल्ने तयारी रहेको छ । आयोजनालाई बहुवर्षीय योजनाअन्तर्गत काम गर्न थाल्यौं भने दुबै प्रदेशका जनताले लाभ लिन अवस्था रहेको छ ।’

मन्त्री काफ्लेले सिन्धुलीको मरिनदेखि काभ्रेको नेपालथोक दुम्जा (बीपी राजमार्ग) वा बागमती गाउँपालिकाको झुरझुरेबाट काभ्रेको खानीखोला–तालढुंगा (जनयुद्ध मार्ग) सम्म यो सडकलाई विस्तार गर्न सकिने अवस्था रहेको बताए । यो सडक निर्माण गर्न सकेको खण्डमा काठमाडौंबाट छोटो दुरीमा मधेशको राजधानी जनकपुरसँग जोड्नने किबल्प हुने उनको भनाई छ । मधेश प्रदेशका अर्थमन्त्री यादवले मधेशलाई बागमतीका पहाडीक्षेत्रसँग जोड्न यो सडकखण्ड आवश्यक रहेको बताए ।

हरिवनदेखि सिन्धुलीको मरिनसम्मको सडकलाई विस्तार गर्नसके मधेशको उत्पादन पहाड र पहाडको उत्पादन तराईसम्म पु¥याउन सहज हुने उनको भनाई छ । यो बाटोले मधेश र बागमतीलाई जोड्ने मात्र नभई यस क्षेत्रका स्थानीयको आर्थिक उन्नतिमा समेत टेवापुग्ने देखिएकाले दुवै प्रदेशले प्राथमिकतामा राखेर निर्माण गर्न सहमति भएका उनले बताए । ‘आउने बजेटमा दुवै प्रदेशले बाटोको लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने तयारी भएको छ,’ उनले भने । यो सडक निर्माण भएपछि यस क्षेत्रको स्थानीय उत्पादनले बजार पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*