बागमती प्रदेशसभा बैठकको नियमिततामा सैद्धान्तिक सहमति

प्रतिक्षा न्यौपाने
२०८१ माघ २३, बुधबार ११:१३

हेटौंडा- बागमती प्रदेशसभा बैठक सञ्चालनको नियमिततामा सरकार पक्ष र विपक्षी दलबीच सैद्धान्तिक सहमति भएको छ । बागमतीका सभामुख भुवन पाठकले मंगलबार राखेको सर्वदलीय बैठकमा प्रदेशसभालाई निरन्तर सञ्चालनका लागि सबै दलबीच सैद्धान्तिक सहमति जुटेको हो ।सरकारले सहजै प्रदेशसभा सञ्चालनको वातावरण तयार नगरेको प्रतिपक्ष दलहरुले आरोप लगाउँदै आएका थिए । यसअघि विपक्षी दल नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टीले सरकारसँग गरेका पूर्वसहमति कार्यान्वयन भएपछि मात्रै प्रदेशसभा सञ्चालन गर्न दिने अडान लिएका थिए ।

१७ माघमा प्रदेशसभा सचिवालयमा भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा १८ गते हिउँदे अधिवेशनको सुरुवात गर्ने बैठक सञ्चालनका लागि सहमित जनाउँदै आगामी बैठक सञ्चालनमा पूर्वसहमति कार्यान्वयनको ग्यारेन्टी खोजेको थियो ।प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गते मात्र सुरु भएको थियो । बैठकमा ३ वटा विधेयक पेस गर्ने भनिएको थियो । तर, दलहरुबीच सहमति नजुट्दा विधेयक पेस हुन सकेको थिएन । विपक्षी दलहरुले सरकारले विगतमा गरेका सहमति कार्यान्वयनको प्रगतिबारे बिहीवार प्रदेशसभामा बसेको कार्यव्यवस्था परामर्श समितिको प्रश्न उठाएपछि सम्भावित कार्यसूचिमा फेरबदल गरिएको थियो । ६ असोज २०८१ मा बागमती प्रदेशसभाका दलहरुबीच विपक्षी दलका सांसदको योजनामा बजेट थप गर्ने सहमति भएको थियो ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित विपक्षी दलले प्रदेशसभा अवरुद्ध गर्ने तयारी गरेपछि सरकारको सक्रियतामा बसेको सर्वदलीय बैठकमा अपुग बजेट थप्ने सहमति बनेको हो । त्यति बेलाको सर्वदलीय बैठकले योजनाको मूल्यांकन र बजेटको आकार निर्धारणका लागि नेपाली कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको संयोजकत्वको गठन गरेको कार्यदलले सरकारलाई प्रतिवेदन दिइसकेको छ । तर, सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै विपक्ष दल असन्तुष्ट देखिएका हुन् ।

चालू आवको बजेट बनाउँदा माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको थियो । हाल सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस त्यतिबेला प्रमुख प्रतिपक्षको भूमिका थियो । सरकारले मंगलबार भएको सर्वदलीय बैठकमा सत्तामा हुँदा ल्याएको बजेटमाथि प्रश्न उठाउनु उचित नभएको सन्देशसहित आगामी बजेटमा विगतमा भएका कमिकमजोरीलाई सच्याएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले प्रदेशसभा बैठक सञ्चालनमा कुनै वाधा नहुने बताए । सर्वदलीय बैठकमा कुनै सहमति नभएपनि छलफल भएको उनको भनाई छ । पत्रकारहरुको हाउस चल्छ की चल्दैन ? भन्ने प्रश्नमा उनले भने, ‘हाउस अवरुद्ध गर्ने ठाउँमा पुगिसकेका छैनौं ।’ सरकारसँग आफ्ना कुरा राखेर समय दिइएको उनले बताए । ‘समयभित्र उहाँहरुले के गर्नु हुन्छ, त्यसमा फरक पर्छ ।’

सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले दलहरुबीच कुनै असहमति भए समाधान गरेर जानुपर्छ भन्ने सभामुखको जोडमा सरकार र विपक्षी दल सकारात्मक भएको बताए । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनको रुपमा लगेर आउने विधेयकहरु प्रस्तुत गरेर प्रदेशसभा नियमित सञ्चालन हुनेछ । प्रदेशप्रमुखले फिर्ता गरेको विधेयकलाई पुनः अगाडि बढाइने छलफल भएको मन्त्री लामिछानेले बताए ।

आगामी दिनमा निर्माण हुने बजेटमा अगाडिदेखि नै गृहकार्य गरेर जाने विषयमा छलफल भएको उनी बताउँछन् । संसद पनि चलाउँदै जाने र बीचमा सहमतिका बिन्दुहरुमा पनि छलफल गरेर अगाडि बढ्नेमा एकमत भएको उनको भनाई छ । ‘बजेटको अवस्था के हो ? हाम्रो घाँटी कत्रो छ ? यी सबै कुरा हेरेर काम गर्दै जाने विषयमा सहमति भएको छ’ उनले भने । विपक्षी दलले उठाएका विषयमा मुख्यमन्त्री बहादुरसिंह लामाले सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*