गौरीटार रंगशाला निरीक्षण, फुटबल मैदान निर्माण अन्तिम चरणमा

साझाकुरा
२०८१ माघ २३, बुधबार ११:२०

हेटौंडा- बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले हेटौंडा–६ स्थित गौरिटार रंगशालामा निर्माणाधीन खेलकुद पूर्वाधारको स्थलगत निरीक्षण गरी पूर्वाधार निर्माणको प्रगतिविवरणबारे जानकारी लिएका छन् ।निरीक्षणका क्रममा मन्त्री महर्जनले सम्बन्धित कार्यालय र निर्माण व्यवसायी कम्पनीलाई निर्माण कार्य तोकिएको मितिभित्रै सम्पन्न गर्न निर्देशन दिँदै निर्माणको क्रममा त्यसको गुणस्तरलाई विशेष ध्यान दिन आग्रह गरे । प्रदेश सरकारले खेलकुदक्षेत्रको विकासका लागि गुणस्तरीय खेलकुदका संरचना निर्माण गर्नुका साथै खेलाडी प्रोत्साहनमा समेत काम गर्ने लक्ष्य लिएको उनले बताए ।

निरीक्षणका क्रममा मन्त्रालयका सचिव केशवराज सुवेदी र प्रदेश खेलकुद विकास परिषद्का इन्जिनियर निवेश बर्तौलाले ब्रिफिङ गरेका थिए । रंगशाला परिषरमा करिब १८ करोड लागतमा फुटबल रंगशाला निर्माण गरिएको परिषद्ले जनाएको छ । सामाजिक विकास कार्यालय मकवानपुरमार्फत् निर्माण भइरहेकोे फुटबल रंगशालाको निर्माणकार्य अन्तिमचरणमा पुगेको र केही दिनभित्रै प्रदेश खेलकुद विकास परिषद्लाई हस्तान्तरण गर्ने तयारी भइरहेको परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिए ।

उनका अनुसार सोही क्षेत्रमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला र नेपालकै ठूलो पौडी पोखरी निर्माणको काम करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ । २० असार २०८२ भित्र क्रिकेट रंगशाला र पौडी पोखरी निर्माणको काम सम्पन्न हुने उनले बताए । क्रिकेट रंगशालामा पहिलोचरणमा ६५० दर्शक क्षमताको प्याराफिटसहित ५ वटा पिच, ७० मिटर रेडिएशनको ग्राउण्ड भीआइपी कक्ष, खेलाडी कक्ष, चेन्जिङ रुम, टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपा·मैत्री क्षेत्र, पार्किङ लगायतका संरचना निर्माण हुँदैछ । त्यस्तै अन्तर्राष्ट्रियस्तरको पौडी प्रतियोगिता संचालन गर्न मिल्ने गरी नेपालकै ठूलो पौडीपोखरी र खेलाडीका लागि अभ्यास गर्न सानो पौडीपोखरी तथा प्याराफिटलगायत संरचना निर्माण गरिँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*