हेटौंडाबाट हुँदै आएको निर्यात व्यापारमा गिरावट

साझाकुरा
२०८१ माघ २५, शुक्रबार ११:०२

हेटौंडा- मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापार घटेको छ । गत आर्थिक वर्ष २०८०÷८१ को पहिलो छ महिनाको तुलनामा चालु आवको छ महिनामा मकवानपुर जिल्लाबाट भएको निर्यात व्यापारमा गिरावट आएको हो ।चालु आव २०८१÷८२ को गत साउनदेखि पुस मसान्त सम्ममा मकवानपुरबाट पाँच करोड ५९ लाख सात हजार ९९३ रुपैयाँ बराबरको निर्यात भएको छ । उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको मकवानपुर उद्योग वाणिज्य संघका अनुसार गत आव २०८०÷८१ मा मकवानपुरमा सञ्चालनमा रहेका निर्यातमूलक उद्योग र व्यावसायिक प्रतिष्ठानले २२ करोड ७० लाख ८० हजार ३१० रुपैयाँ बराबरको निर्यात गरेका थिए ।

व्यापारिक प्रतिष्ठान र उद्योग गरी गत आवको पहिलो छ महिनामा पाँचवटा र चालु आवको पहिलो छ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकमा निकासी गरेको संघले जनाएको छ । संघका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेतीले पछिल्लो समयमा आर्थिकमन्दीसँगै लगानीमैत्री वातावरण नभएका कारण अपेक्षा अनुसार निर्यात नभएको बताए ।मकवानपुरबाट चालु आवमा प्याक्ट ग्रुप क्लोजर, रिद्धिसिद्धि सिमेण्ट उद्योग, इभान्स लाइफ साइन्सेस प्रा.लि.र सिक्स भिल्ला प्रा.लि.ले निर्यात गरेको छ । यी उद्योग र व्यापारिक प्रतिष्ठानले प्लाष्टिकका बिर्को, सिमेण्ट, लोठसल्लाको पाउडर, पास्ता, कुरकुरेलगायतका खाद्यान्न निर्यात गरेको संघले जनाएको छ । संघका अनुसार प्याक्ट ग्रुप क्लोजर मर्मतको क्रममा रहेकोले पनि चालु आवको पहिलो छ महिनाको निर्यातमा ह्रास आएको हो ।

लोठसल्लाको पाउडर निर्यात गर्दै आएको इभान्स लाइफ साइन्सेस प्रा.लि.ले निर्यात व्यापारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै संघले यसअघि सम्मान गरेको थियो । गत आवमा बिस्कुट, पपलगायत उत्पादन भारततर्फ निर्यात गरेको खजुरीको नेपाल प्रा.लि. को उत्पादन चालु आवमा निर्यात भएको छैन । गत आव २०८०÷८१ मा मकवानपुर जिल्लाका विभिन्न उद्योगबाट ४३ करोड ५३ लाख ९४ हजार ९९४ रुपैयाँ बराबरको उत्पादन भारत तथा तेस्रो मुलुकमा निर्यात भएको थियो ।

मकवानपुरबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा हरेक वर्ष गिरावट आएको छ । तेस्रो मुलुकमा हुने निर्यात करिव ठप्पै भएको छ । बिगतको ईतिहास हेर्दा मकवानपुरबाट २०७४÷७५ को पहिलो ६ महिनामा ९ करोड ७१ लाख ३१ हजार रुपैयाँ बराबर निर्यात व्यापार भएको थियो । त्यतिबेला मकवानपुरका सातवटा उद्योगको निर्यातका लागि उद्योग वाणिज्य संघले उत्पत्तिको प्रमाणपत्र जारी गरेको थियो । हेटौंडा औद्योगिक क्षेत्रमा रहेका औद्योगिक प्रतिष्ठानले बस्तु उत्पादनमा भन्दा ट्रेडिङ व्यवसायतर्फ उन्मुख भएको उद्योग संघका पूर्वअध्यक्ष नवराज अर्यालले बताए । सरकारले उत्पादन गर्ने उद्योगलाई बढी कर लगाउने र भारतीय बजारबाट तयारी बस्तु ल्याएर मार्केटिङ गर्ने उद्यागलाई प्राथमिकता दिएको अर्यालले बताएका छन् । तत्कालीन बालाजी नेचुरल ईण्डस्ट्रीजले लोठसल्लाको प्रशोधन गरी टेक्सास बोकाटालगायतका औषधिजन्य कच्चापदार्थ निर्यात गरेको थियो ।

निर्यात गर्ने व्यवसाय चुनौतीपूर्ण बन्दै गएको उद्योग संघले जानकारी दिएको छ । एक दसकअघि मकवानपुरका २५ निर्यातमूलक उद्योगमध्य १९ वटा क्रसरजन्य उद्योग थिए । क्रसरजन्य उद्योगको उत्पादन निर्यातमा नेपाल सरकारले रोक लगाएपछि मकवानपुरको निर्यात व्यापारमा भारी गिरावट आएको हो । आव २०७०÷७१ मा मकवानपुरबाट निर्यात गर्ने उद्योगको संख्या २७ वटा पुगेको थियो । युनिलिभर नोपाल लि., एशियन पेन्ट्स प्रालि., अन्टार्टिक बिस्कुट ईण्डस्ट्रीज प्रालि. जस्ता बहुराष्ट्रिय उद्योगले करिव १३ बर्षदेखि निर्यात ब्यापार गरेका छैनन् । आब २०७०÷७१ मा मकवानपुरबाट निर्यात ब्यापार गर्ने उद्योगको संख्या २२ वटा रहेका थिए । मकवानपुरबाट २०७४÷७५ मा भारततर्फको निकासी २३ दसमलव ७८ प्रतिशतले घटेको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

आव २०७१÷७२ मा ४८ करोड ७७ लाख रुपैयाँको निर्यात व्यापार भएकोमा २०७२÷७३ मा ३७ करोड ५ लाख रुपैयाँमा झरेको थियो । त्यस्तै २०७३÷७४ मा ३५ करोड रुपैयाँको निर्यात व्यापार भएकोमा २०७४÷७५ मा २६ करोड ६७ लाख रुपैयाँमा सीमित भएको मउवासंघले जनाएको छ । नेपालमा लगानीको वातावरण नभएको भन्दै लगानीकर्ता पलायन भइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*