भ्रष्टाचार नियन्त्रणमा अख्तियारलाई खुट्टा नकमाउन प्रदेश प्रमुखको आग्रह

साझाकुरा
२०८१ माघ २९, मंगलवार ०९:२७

हेटौंडा- बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले भ्रष्टाचार नियन्त्रणका लागि कामकारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई खुट्टा नकमाउन आग्रह गरेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं बार्षिकोत्सवको अवसरमा हेटौंडामा आयोजित एक समारोहलाई सम्बोधन गर्दै प्रमुख देवकोटालेअख्तियारले ठुला र संस्थागत भ्रष्टाचारका मुद्दामा हातहाल्न हिचकिचाउने भन्ने आरोपलाई चिरेर काम गर्नुपर्नेमा जोड दिए । ‘यी आरोपलाई गलत सावित गराउन साना÷ठुला सवैखाले भ्रष्टाचारी माछाहरुलाई पक्रिन सक्नु पर्दछ’ देवकोटाले भने, ‘जनताको निराशा चिर्दै भ्रष्टाचारविरुद्ध खरो उत्रिएर जनताको विश्वास जित्न सक्नुपर्दछ । बेईमानीकाविरुद्धको कदमचाल्ने कुरामा खुट्टा नकमाउन म तपाईहरुलाई आग्रह गर्न चाहन्छु ।,’

मानवबाट हुने विवेकहिनताको परिणाम र सृजना हुने भ्रष्टचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले गरेको कामको प्रशंसा गरेका छन् । उनले कार्यालयको कामकारवाहीबाट देशमा सुशासन कायम गर्न महत्वपूर्ण योगदान दिने अभिलाषा लिएको बताए । प्रदेशप्रमुख देवकोटाले भ्रष्टाचार जधन्य अपराध भएको भन्दै यसको निन्दा कुनै शब्दमा लिन नसकिने बताए । देश, जनता र सुशासनविरुद्व कानुनविपरित जाने जोकसैलाई सुक्ष्म अनुसन्धान र निष्पक्ष कारबाही प्रक्रियामा अघि बढाउनुपर्ने देवकोटाले बताए ।

सकारात्मक र महसुश गर्न सकिने परिणामजन्य कार्यको लागि परिवर्तन हुन जरुरी रहेको उनको भनाई छ । युवाजगतको मुख्य निराशा कार्यसम्पादनमा देखिएको सुस्तता रहेको देवकोटाले बताए । यसले परिणाममुखी सोच राख्ने सवैलाई निराश बनाउने उनको धारणा छ । ‘द्रुतरुपमा परिवर्तनकारी देशहरुको तुलनामा हाम्रा कदमहरु ढिला सुस्ती भएका हुन की ? हामीले गम्भीर भएर सोच्नु पर्दछ ।’ उनले भने ।

भ्रष्टाचारविरुद्धको कारबाहीको बिकल्प नै नभएको प्रदेशप्रमुख देवकेटाले बताए । भ्रष्टाचारीले कुनैपनि हालतमा मुक्ति पाउन नुहेन भन्दै भ्रष्टाचार हुन नदिन ईमान्दारिता, पारदर्शिता र सुशासनका विषय वस्तु विद्यालय र कलेजका पाठ्यक्रमा बृहतरुपमा समावेश गरिनुपर्ने उनको भनाई छ । अख्तियारी वा निर्णय गर्ने हैसियतका व्यक्तिलाई नियमित रुपमा सम्भाजित भ्रष्टाचार रोक्न परामर्श अर्थात काउन्सिलिङ कक्षाहरु सञ्चालन गरिनुपर्ने उनी बताउँछन् ।

वार्षिकोत्सक समारोहमा बागमती सरकारकोतर्फबाट धारणा राख्दै आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सुशासन, पारदर्शिता र इमानदार शासन प्रणाली साझा जिम्मेवारी भित्रको विषय रहेको बताए । भ्रष्टाचार नियन्त्रण कार्यमा केबल अख्तियारको मात्रै जिम्मेवारी नभई सरकार, नागरिक समाज, निजीक्षेत्र र समुदायको साझा संकल्प हुनुपर्ने मन्त्री लामिछानेले बताए । बागमती प्रदेश सरकार सुशासन प्रवद्र्धन, न्याय प्रणालीको सुदृढीकरण र प्रशासनिक सुधार गर्ने प्रतिबद्धताका साथ अघि बढिरहेको उनले बताए ।

नीति निर्माण, सार्वजनिक सेवाप्रवाह, बजेट व्यवस्थापन, सार्वजनिक खरिद प्रक्रिया र प्रदेश तहका गतिविधिमा पारदर्शिता, जवाफदेहिता र निष्पक्षता कायम गर्न सरकार कटिबद्ध रहेको उनको दाबी छ । प्रदेश सरकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सहकार्य गर्दै सुशासन प्रवद्र्धनमा सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाई छ । प्रविधिको सही उपयोगले भ्रष्टाचार नियन्त्रण गर्न सकिने भएकाले डिजिटल शासन प्रणाली लागू गरेर सरकारी प्रक्रियालाई अनलाइन, द्रुत र पारदर्शी बनाउनेतर्फ प्रदेश सरकार गम्भीरताका साथ लागिपरेको उनको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*