फागुन १ मा बालमैत्री घोषणा हुँदै प्रदेशको एकमात्र उपमहानगर
हेटौंडा- बागमती प्रदेशको एकमात्र उपमहानगरलाई बालमैत्री घोषणा गरिने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा उपमहानगरलाई आगामी फागुन १ गते बालमैत्री घोषणा गर्न लागेको जानकारी गराइएको हो ।पत्रकार सम्मेलनमा नगरप्रमुख मीनाकुमारी लामाले विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा उपमहानगरलाई ‘निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त’ घोषणा गर्न लागेको बताइन् । बालमैत्री घोषणा कार्यक्रम उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा गरिने नगरप्रमुख लामाले संचारकर्मीमाझ बताइन् ।
घोषणा कार्यक्रम अघि बिहान १० बजेबाट बुद्धचोक, राप्तीरोड, हेटौंडा–६ न्युरेनी पेट्रोलपम्प, स्कुलरोड, बलराम दास पेट्रोलपम्प हुँदै क्याम्पा रंगशालासम्म बृहत प्रभातफेरी कार्यक्रमको आयोजना गरिने नगरप्रमुख लामाले बताइन् ।कार्यक्रमलाई नगरको गौरब, प्रतिष्ठा र शानको विषयको रुपमा लिई यो असिभयानलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न सम्पूर्ण नगरबासीले आ–आफ्नो स्थानबाट सहभागी भई सहयोग गर्न लामाले आग्रह गरेकी छन् ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री घोषणा कार्यान्वयन कार्यविधि २०७९ ले हेटौंडाको सबै वडा बालमैत्री घोषित भइसकेको बताउँदै नगरप्रमुख लामाले भनिन्, ‘हेटौंडाको १९ वटै वडा बालमैत्री घोषित भएसँगै उपमहानगरलाई पनि बालमैत्री घोषणा गर्न लागेको हो ।’ बालमैत्री स्थानीय शासनयुक्त नगर समिति तथा घोषणा मूलसमारोह समिति संयोजक समेत रहेकी नगरप्रमुख लामाले बालमैत्री घोषणा गर्न हेटौंडा उपमहानगरका वडामा विभिन्न संंरचना बनाइएको बताइन् ।
हेटौंडालाई बालमैत्री बनाउन विभिन्न चुनौती रहेको बताउँदै लामाले सरोकारवाला स्थानीय तहलाई बालमैत्री घोषणा गर्नुभन्दा पनि त्यसलाई निरन्तरता दिनु ठूलो चुनौती रहेको बताइन् । बालमैत्री घोषणा गर्न आवश्यक बालमैत्री स्थानीय शासनका ५१ सूचकमा हेटौंडा उपमहानगरपालिकाले ४३ वटा सूचकमा सतप्रतिशत, एउटा सूचनकमा ९९ दशमलव ९४ प्रतिशत, एउटा सूचकमा ९९ दशमलव ८९ प्रतिशत, एउटा सूचकमा ९९ दशमलव ८७ प्रतिशत, एउटा सूचकमा ९९ प्रतिशत, एउटा सूचकमा ९८ दशमलव ६३ प्रतिशत, एउटा सूचकमा ९६ दशमलव ८४ प्रतिशत, एउटा सूचकमा ९१ प्रतिशत र एउटा सूचक ८८ दशमलव ०६ प्रतिशत नजिता हाँसिल भएको नगरप्रमुख लामाले जानकारी दिइन् ।
पूर्वमा बकैया गाउँपालिका, पश्चिममा मनहरी र राक्सिराङ गाउँपालिका, उत्तरमा मकवानपुरगढी, भीमफेदी, कैलाश गाउँपालिका र दक्षिणमा मधेश प्रदेशको बाराको उत्तरी सीमानामा पर्ने हेटौंडा उपमहानगरको कुल क्षेत्रफल २६१ दशमलव ५८ वर्ग किलोमिटर रहेको छ । उपमहानगरमा १८ वर्ष भन्दा कम उमेर समूहका ५० हजार १९५ जनसंख्या रहेका छन् । जसमा २६ हजार १४५ बालक र २४ हजार ५० बालिका रहेका छन् । बालबालिकाको संख्यालाई आधार मान्दा ५२ दशमलव ८ प्रतिशत बालक र ४७ दशमलव २ प्रतिशत बालिका रहेका छन् ।
उपमहानगरमा २६५ टोलस्तरीय र १०६ वटा बालसमूह गरी जम्मा ३७१ वटा ३७१ बालसमूह तथा १९ वडास्तरीय र १ नगरस्तरीय गरी २० वटा बालसमूह सञ्जालसहित ३७१ वटा बालबालिकाका संरचना क्रियाशील अवस्थामा छन् । ती विभिन्न संरचनागत समिति समेत गरी ९ हजार २५० जना बालिबालिकाको प्रत्यक्ष सहभागिता रहेको बताइएको छ । पत्रकार सम्मेलनमा उपप्रमुख राजेश बानियाँ, प्रमुखप्रशासकीय अधिकृत, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।







