हेटौंडा बालमैत्री घोषणा, अब महानगर बनाउने प्रतिबद्धता
हेटौंडा- बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौंडालाई बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहको रुपमा घोषणा गरिएको छ ।सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हेटौंडा–५, स्थित पिप्लेक्याम्पा रंगशालामा नगरप्रमुख मीनाकुमारी लामाको सभाध्यक्षता रहेको घोषणा समारोहमा ताम्रपत्र अनावरण गर्दै हेटौंडालाई ‘निकृष्ट बालश्रम मुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त पालिका’ घोषणा गरेका हुन् । मन्त्री सिंहले हेटौंडालाई आगामी केही महिनाभित्रै संघीय सरकारले स्थानीय निकायको मापदण्ड अनुसार महानगरपालिकामा रुपान्तरण गर्नेतर्फ प्रतिबद्ध भएको जानकारी गराएका छन् ।
उनले बालमैत्री घोषणा भन्दा पनि दिगोपनमा गम्भीर भएर काम गर्न आग्रह गरेका छन् । मन्त्री सिंहले बालबालिकाको अधिकार तथा नागरिकको मौलिकहक प्रत्याभूत गर्ने सवालमा स्थानीय तहदेखि प्रदेश र संघ सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए । समाजको उत्थान गर्न र स्थानीय तहमा सुशासन ल्याउन उपमहानगरपालिकाको नयाँ सोच र चिन्तनका साथ अघि बढ्नुपर्ने बताए ।
उनले बालबालिकाको चौतर्फी विकासको लागि उनीहरुको मनोविज्ञानलाई भावनात्मक रुपले अघि बढाउन विद्यालयले गुणात्मक शिक्षाको साथै अनुशासित एवम् प्रभावकारी ढंगबाट समाजमा उत्थान गर्ने कार्यमा सरिक हुन प्रेरणा जगाउनुपर्नेमा जोड दिए । मन्त्री सिंहले स्थानीय निकायले सहरलाई आधुनिकरण गर्दै नगरक्षेत्रमा रहेका शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकासलाई गुणस्तरीय सेवाप्रदान गरी सर्वसाधारण नागरिलाई छिटो छरितो सेवाप्रवाह गर्नेतर्फ जनप्रतिनिधि इमान्दार हुनुपर्ने बताए ।
बागमती प्रदेशका कार्यबाहक मुख्यमन्त्री प्रकाश श्रेष्ठले हेटौंडा उपमहानगरपालिकालाई महानगर बनाउने सपना रहेको बताए । महानगरको मापदण्ड पूरा गर्न प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने जिम्मेवारीमा कुनै कमी हुन नदिइने प्रतिबद्ध रहेको उनको भनाई छ । कार्यबहाक मुख्यमन्त्री श्रेष्ठले बालमैत्री घोषणालाई घोषणामा मात्र नभई व्यवहारमा पनि कार्यान्वयन गर्न वडा समितिलाई जिम्मेवार बनाउनुपर्ने बताए । काबा मुख्यमन्त्री श्रेष्ठले बागमती प्रदेशको विभिन्न जिल्लामा बहुवर्षीय योजनालगायत दीगो विकासको लागि स्थानीय ११९ तहलाई विभिन्न योजना, बजेट, प्राविधिक उपलब्ध गराइएको बताए ।
कार्यक्रममा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सदस्य तथा पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले बालमैत्री शासनयुक्त पालिका घोषणा भएको हेटौंडालाई दीगो रुपमा कार्यान्वयनमा ल्याउन सम्बन्धित पदाधिकारी इमानदारीपूर्वक क्रियाशील हुनुपर्ने उल्लेख गरे । उनले बालबालिकालाई उनीहरुको रुचीअनुसार शिक्षा लगायत प्राविधिक पक्षमा अध्ययन गर्ने वातावरण बनाउन सकेमा मात्रै लक्ष्य पूरा गर्न सकिने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, एकलाल श्रेष्ठ, जिसस मकवानपुरका प्रमुख ललितबहादुर घलान, प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरे, हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँलगायतले आफ्नो धारणा राखेका थिए । बागमती प्रदेशका कार्यबाहक मुख्यमन्त्री श्रेष्ठले हेटौंडा उपमहानगरपालिकाद्वारा आयोजित विभिन्न टोल विकास समिति, शैक्षिक संस्थालाई प्रमाणपत्र वितरण गरेका थिए ।
यसैगरी, हेटौंडाले तीनवर्षको मिहेनतपछि बिहीवार घोषणा गर्न सफल भएको हो । हेटौंडा उपमहानगरपालिका मकवानपुरको चौथो बालमैत्री स्थानीय तह घोषित भएको छ । यसअघि जिल्लाको मनहरी गाउँपालिका बालमैत्री घोषित देशकै पहिलो गाउँपालिका बनेको थियो । मनहरीपछि मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिका बालमैत्री पालिका घोषणा भएका थिए ।
हेटौंडा बागमती प्रदेशको एकमात्र उपमहानगर हो । बागमती भित्र चारवटा महानगरपालिका बाहेक सबै नगरपालिका छन् । हेटौंडा उपमहानगरपालिकामा १८ वर्ष भन्दा कम उमेर समूहका ५० जार १ सय ९५ जनसंख्या छ । जसमा २६ हजार १ सय ४५ बालक र २४ हजार ५० बालिका रहेका छन् । घोषणाका लागि आवश्यक ५१ वटा सूचकमध्ये उपमहानगरपालिकाले ४३ सूचकमा सतप्रतिशत नतिजा हासिल गरेको नगरउपप्रमुख बानियाँले बताए ।
हेटौंडामा २ सय ६५ टोलस्तरीय र १ सय ६ वटा बालसमूह गरी जम्मा ३ सय ७१ वटा बालसमूह तथा १९ वडास्तरीय र १ नगरस्तरीय गरी २० वटा बालसमूह सञ्जालसहित बालबालिकाको संरचना क्रियाशील छन् ।विभिन्न संरचनागत समितिमा ९ हजार २ सय ५० जना बालिबालिकाको प्रत्यक्ष सहभागिता रहेको उपमहानगर प्रवक्तासमेत रहेका १ नम्बर वडाका वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिए । उपमहानगरलाई बालमैत्री घोषणा पश्चात् दिगोपनाको लागि नगरस्तरीय पञ्चवर्षीय रणनीतिक योजना तयार पारिएको उनले बताए ।







