सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दैछ : प्रचण्ड
हेटौंडा- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताएका छन् । मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिदस्मृति रंगशाला तथा सातौं बागमती गोल्डकपराष्ट्रिय फुटबल प्रयोगिताको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।‘जबसम्म देशबाट भ्रष्टाचारको अन्त्य गरिंदैन र सामाजिक न्याय स्थापित गरिंदैन, त्यतिबेलासम्म राष्ट्रिय एकता कायम हुन सक्दैन र देश अघि बढ्न सक्दैन भन्नेमा देशव्यापी जनमत बलियो बन्दै गएको छ’– अध्यक्ष प्रचण्डले भने–‘मैले देशैभरि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको छु । हाम्रो अभियान सफल बन्दै गएको छ ।’
भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, राष्ट्रिय स्वाधीनताको पक्षमा, सामाजिक न्यायको पक्षमा र आर्थिक समृद्धिको पक्षमा देशैभरि देखिएको चेतनाको लहर नयाँ आशाको किरण भएको पनि उनले स्पष्ट गरे ।अध्यक्ष प्रचण्डले ‘यो सचेतना निकै महत्वपूर्ण छ । हामी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई बलियो बनाउँदै आवश्यकताअनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाई गर्ने छौं । यसमा सबै लामबद्ध हुन पनि आह्वान गर्न चाहन्छु ।’ नागरिकलाई स्वस्थ्य बनाउन र देशको प्रतिष्ठा विश्वव्यापीरुपमा स्थापित गर्न खेलकुदको विकास महत्वपूर्ण भएको उल्लेख गर्दै उनले स्थानीय सरकारले यसमा ध्यान दिनु थप महत्वपूर्ण भएको बताए ।
आफू प्रधानमन्त्री भएको बेलामा खेलपूर्वाधार निर्माण र खेलाडीको प्रोत्साहनका लागि धेरै कार्यक्रम अगाडि सारेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले खेलका कारण देशको प्रतिष्ठा उँचो बन्दै गएको बताए । बागमती गाउँपालिकाले खेलपूर्वाधारलाई महत्व दिएर रंगशाला निर्माण गर्नुका साथै राष्ट्रिय खेलकुद आयोजना गरेकोमा उनले धन्यवाद पनि दिए । स्थानीय सरकारको यो सकारात्मक कदम भएको उनले बताए ।
यसअघि अध्यक्ष प्रचण्डले पार्टीको बागमती गाउँपालिका कार्यलयमा स्थानीय नेता कार्यकर्तासँग भेटघाट गर्दै देशव्यापीरुपमा पार्टीप्रति आकर्षणको लहर सुरु भएकाले यसलाई संस्थागत गर्दै अघि बढाउन आग्रह गरे । जे भन्छ, त्यो गर्ने माओवादी नै रहेछ भन्ने जनतामा विश्वास बढ्दै गएको उल्लेख गर्दै उनले जनताको आशा र विश्वासमा कमी आउन नदिने गरी योजना र कार्यक्रम अघि बढाउन नेता कार्यकर्तालाई निर्देशन दिए । पार्टीका लागि आएको यो महत्वपूर्ण अवसर भएकाले अब पार्टीका लागि दायाँबायाँ गर्ने छुट नभएको उनले स्पष्ट गरे ।
जितेका पालिका र वडामा मत बढाउने तथा नजितेकामा जीत हातपार्ने गरी अघि बढ्न निर्देशन प्रचण्डले दिएका छन् । माओवादीले नेतृत्व गरेका पालिकाले उत्कृष्ट स्थान हासिल गर्दै गएको उल्लेख गर्दै उनले पार्टीले नेतृत्व गरेका सबै पालिकालाई नमूना बनाउने गरी पार्टीले केन्द्रले योजना अघि सारेको बताए । त्यस्तै अध्यक्ष प्रचण्डले सहिद परिवारसँग पनि भेटघाट गरेका थिए ।
फापरबारीको झुरझुरेमा २०६२ माघ ८ गते शनिबार बेलुकी करीव ६ बजेदेखि आइतबार बिहान २ बजेसम्म तत्कालीन बिद्रोही माओवादी र सरकारी सुरक्षानिकाय बीच ठूलो भिडन्त भएको थियो । नेपाली सेनाले नाइट भिजन हेलिकोप्टरबाट हवाई आक्रमण गरेको थियो । मूख्य भिडन्त स्थलभन्दा ४ किलोमिटर टाढा फापरबारी–१ लम्कनामा सुरक्षाकर्मीले हेलिकप्टरबाट प्रहार गरेको वमको छर्राले ४ वर्षीय बालकको मृत्यु भएको थियो । युद्धको मुख्यस्थल झुरझुरेमा दुई सर्वसाधारणको मृत्यु हुनुको साथै दुईघर र एक गोठ जलेर नष्ट भएको थियो ।
बागमती गाउँपालिका–४ झुरझुरेमा सहिद पार्क निर्माणका लागि तत्कालीन जनयुद्धका कमाण्डर नेकपा माओवादीका अध्यक्ष प्रचण्डले २ माघ २०७५ मा शिलान्यास गरेका थिए । जनयुद्धको इतिहास बोकेको यो पार्कलाई स्थानीय सरकारले पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेको छ । २०६२ माघ ८ गते रातको समयमा भएको भिडन्तका क्रममा स्थानीय मानबहादुर बज्यु र प्रताप बज्यु, २८ माओवादी नेता कार्यकर्ता र ६ सुरक्षाकर्मी गरी ठूलो संख्यामा हताहत भएको थियो । यही स्थानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सहिदस्तम्भ, भ्युटावर, पिकनिकस्थल, पैदलमार्ग सहितको पार्क निर्माण गर्ने योजना छ ।







