एन्टारटिक बिस्कुट प्रा.लि.का श्रमिक आन्दोलित

साझाकुरा
२०८१ फाल्गुन ६, मंगलवार १०:५५

हेटौंडा- हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको एन्टारटिक बिस्कुट प्रालिका श्रमिकहरुले चरणबद्ध आन्दोलन सुरु गरेका छन् । परीक्षण अवधि सकिएका श्रमिकलाई श्रम ऐन बमोजिम स्थायी नियुक्ति गर्ने सहमति गरेको उद्योगले आफ्नै लिखित प्रतिबद्धता विपरित ९७ जना श्रमिकलाई निष्काशन गरेपछि श्रमिकहरु आन्दोलित भएका हुन् । फागुन १ गतेदेखि जारी आन्दोलनलाई श्रमिकहरुले थप चर्काउने चेतावनी दिएका छन् । व्यवस्थापन पक्षले गैरकानुनी तवरले अनुचित श्रम अभ्यास गरेको श्रमिकको आरोप रहेको छ ।

‘उद्योगले अनुचित श्रम अभ्यास गरेको भनेर आवाज उठाएकै भरमा मलाई विभिन्न प्रपञ्च गरेर विभिन्न झुठा कागजहरु तयार गरेर निष्काशन गर्ने काम समेत गरेको छ’ श्रमिक विश्वराज बजगाईले भने ‘उद्योग व्यवस्थापकले गलत मनसाय राखेर पनि मलाई निष्काशित गर्ने काम गरेको छ, यसप्रति हामी आन्दोलित श्रमिकहरु विरोधमा उत्रिएका छौँ ।’ श्रम ऐन विपरित आन्दोलनको नेतृत्व गर्ने मजदुर नेतालाई अनावश्यक लान्छाना लगाई निश्कासन गर्नु अनुचित श्रम अभ्यास भएकोे नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को निष्कर्ष छ ।

उद्योग प्रशासनलाई गलत अभ्यास सच्याउन जिफन्टले आग्रह गरेको छ । ५ वर्ष सेवा गरिसकेका मजदुरलाई गैरकानुनी सम्झौता गरेर उद्योग प्रशासनले नयाँ सम्झौताका नाममा परीक्षण अवधिमा निष्काशन गर्ने योजना बनाएको भन्दै जिफन्टले बिरोध जनाएको जिफन्टका बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले बताए । उनले भने ‘अनुचित श्रम अभ्यासलाई रोक्नुपर्छ, श्रमिकलाई कानुनी व्यवस्था बमोजिम रोजगारी सम्झौता गराएर काम लगाउनुपर्छ ।’

उद्योगका मानव संशाधन प्रबन्धक विवश अर्यालले भने कर्मचारीलाई निष्काशन नगरेको दाबी गरेका छन् । आन्दोलित कर्मचारीलाई करार अविधि नवीकरण गर्ने प्रक्रियामा आएर काम सुचारु गर्न प्रशासनले आग्रह गरेको छ ।उनले भने–‘उद्योग प्रशासन कर्मचारी निकाल्ने पक्षमा छैन तर, प्रक्रियामा त आउन प¥यो नि ।’श्रमिकहरुको आन्दोलनमा समग्र उद्योग ट्रेड युनियन नेपाल जिल्ला समन्वय कमिटी मकवानपुर, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, क्युपेक नेपाल लगायतले पनि ऐक्यबद्धता जनाएका छन् । उद्योगमा हाल ४ सय भन्दा कामदार कर्मचारी कार्यरत छन् । समग्र उद्योग ट्रेड यूनियन नेपाल मकवानपुरका अध्यक्ष केशवप्रसाद अधिकारीका अनुसार उद्योगले बिना कारण गत माघ २८ र २९ गते १३ जना नियमितरुपमा काम गर्दै आइरहेका श्रमिकलाई गैरकानूनी ढंगले निष्काशन गरेको थियो ।

उद्योगले श्रमिकको मौलिक हक हनन गरेको भन्दै प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले सोमबार प्रतिनिधिसभामा गैरकानूनी तरिकाबाट निष्काशनमा परेका श्रमिकलाई पुनर्वहाली गर्न माग गरेका छन् । ट्रेड युनियन मकवानपुरले आफ्ना मागहरु पूरा नभएसम्म चरणबद्ध किसिमले आन्दोलन गर्ने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । युनियनले विरोधको कार्यक्रम आगामी ६ गतेसम्म नियमितरुपमा बिहान ८ बजेदेखि ९ बजेसम्म कालोपट्टी बाँधेर उद्योग परिसरमा विरोध गर्ने जनाएको छ ।

आउँदो ७ गते जिफन्ट नेपालका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठको उपस्थितमा उद्योगको परिसर अगाडि बृहत बिरोधको कार्यक्रम गर्ने बताइएको छ । हेटौंडा औद्योगिक क्षेत्रका औद्योगिक प्रतिष्ठानमा कामदार कर्मचारीले आन्दोलन गर्ने, सामूहिक सौदाबाजी गर्ने, प्रदर्शन गर्ने आदि जस्ता बिरोधका कार्यक्रम हुन छाडेको थियो । कोभिड–१९ महामारी, कच्चापदार्थको अभाव, आर्थिक मन्दी आदि कारण औद्योगिक प्रतिष्ठानले पूर्ण क्षमतामा उत्पादन गर्न सकेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*