आर्थिक गतिविधि चलायमान बनाउन सरकार प्रतिबद्ध : गृहमन्त्री लेखक

साझाकुरा
२०८१ फाल्गुन ७, बुधबार १२:३४

हेटौंडा,-गृहमन्त्री रमेश लेखकले आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।मंगलबारदेखि हेटौंडामा सुरु भएको दोश्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ लाई उद्घाटन गर्दै गृहमन्त्री लेखकले निजीक्षेत्रलाई पनि समाहित गर्दै देशमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार लागि परेको बताए । गृहमन्त्री लेखकले निजीक्षेत्रलाई व्यावसायिक वातावरणको सुनिश्चित गर्नको लागि नै अध्यादेश ल्याइएको स्पष्ट पारे । उद्योगी, व्यवसायीको मागअनुसार नै अध्यादेश आएको उनको भनाई छ ।

‘संघीय संसद्बाट अध्यादेश स्वीकृत हुन जरुरी छ, अध्यादेश स्वीकृति भएपछि आवश्यक नियमावली, कानुनहरु बनाएर व्यावसायिक वातावरणलाई सुनिश्चित रुपमा अगाडि बढाउन चाहन्छौँ’ गृहमन्त्री लेखकले भने । उनले समृद्धि र सुशासनको यात्रामा मुलुकलाई अगाडि बढाउन वर्तमान सत्ता समीकरण बनेको जिकिर गरे । संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ गर्नु सरकारको प्रमुख उद्देश्य रहेको उनको भनाई छ ।

त्यसैगरी गृहमन्त्री लेखकले वर्तमान सरकार गठन भएपश्चात् निर्माण व्यवसायीको भुक्तानी दिने प्रक्रिया सुरु भइरहेको बताए । निर्माण व्यवसायीलाई आफ्नो काममा लगनशील भएर लाग्न आग्रह गर्दै उनले ढिलै भएपनि बाँकी रहेको भुक्तानी दिन सरकार प्रतिबद्ध रहेको दाबी गरे । निर्माण व्यवसायी माथि हुने अवाञ्छित गतिविधि रोक्न सरकारले सुुरक्षाको प्रबन्ध गर्ने उनले उल्लेख गरे । गृहमन्त्री लेखकले निर्माण व्यवसायीले जिम्मा लिएको काम गुणस्तरीय र समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

दोश्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सुरु

हेटौंडामा दोश्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव आज मंगलबारदेखि २०८१ सुरु भएको छ । गृहमन्त्री रमेश लेखकले महोत्सवको उद्घाटन गरेका हुन् । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हेटौंडा–१० स्थित टिसिएनचौरमा आयोजित महोत्सव फागुन १८ गतेसम्म चल्नेछ ।
महोत्सवमा निर्माणको क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरण र निर्माण सामग्रीको प्रदर्शनी तथा बिक्री गरिने मुख्य उद्देश्य रहेको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले जानकारी दिए । महोत्सव अवधिभर निर्माण उद्योग क्षेत्रमा रहेको समस्या, चुनौती, अवसरबारे छलफल, गोष्ठीलगायत अन्तक्र्रियात्मक कार्यक्रमसमेत हुने उनको भनाइ छ ।

संघको अहिले रहेको भवन जीर्ण भएपछि नयाँ भवन बनाउने उद्देश्य लिएर संघले महोत्सवको आयोजना गरेको उनको भनाई छ । निर्माण व्यवसायीले सम्पन्न भइसकेकाका कामको भुक्तानी समयमै नपाउँदा आपूmहरु समस्यामा परेको अध्यक्ष कँडेलले बताए । निर्माणमैत्री कानुन बन्न नसक्नु अहिलेको प्रमुख चुनौती रहेको उनको भनाई छ ।महोत्सवमा निर्माण व्यवसायी, दर्शक, उपभोक्ताका राय, सल्लाह, सुझावसमेत संकलन गरिने अध्यक्ष कँडेलले जानकारी दिएका छन् । उनका अनुसार महोत्सवमा निर्माण उपकरण, निर्माण सामग्री, औद्योगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामग्रीलगायत तीन सय भन्दा बढी स्टल रहेका छन् ।

महोत्सवमा हेटौंडा आइडल प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रिय एवंम् स्थानीय कलाकारको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । हेटौंडा आइडलमा प्रारम्भिक छनोटबाट १६ प्रतिस्पर्धी छनोट भइसकेका छन् ।महोत्सवको प्रवेश शुल्क ७५ रुपैयाँ र विद्यार्थीको लागि ५० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । यसअघि २०७१ सालमा पहिलोपटक महोत्सव गरेको संघले १० वर्षपछि दोस्रोपटक महोत्सव गरेको हो । महोत्सवबाट १ करोड भन्दा माथि आम्दानी हुने आंकलन आयोजकले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*