पुरानो साख फर्काउँदै नारायणी यातायात ब्यवसायी संघ
हेटौंडा-२०७७ चैत्र ७ गते ३४ औं वार्षिक साधारणसभा गरेपछि नारायणी यातायात ब्यवसायी संघले आगामी फागुन १७ गते शनिबार ३५ औं साधारणसभा गर्ने भएको छ । यसका लागि संघले पूर्वतयारी गरिरहेको छ । शनिबार बीरगंजका यातायात ब्यवसायीसँग छलफलका क्रममा संघका अध्यक्ष हीरालाल श्रेष्ठले भने–‘हामीलाई धेरै दुःख दिने काम गरियो, सर्वोच्च अदालतको फैसलापछि हालको अवस्थामा हामी संघको साधारणसभा गर्नसक्ने अवस्थामा पुगेका छौं ।’ यसअघि फागुनको ७ गते भरतपुरका ब्यवसायीसँग र ३ गते काठमाडौंका ब्यवसायीसँग छलफल गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
आजभन्दा ४५ वर्षअघि अग्रज ब्यवसायीबाट स्थापना भएको नारायणी यातायात व्यवसायी संघले विभिन्न किसिमका आरोह अवरोहको सामना गरेर अघि बढ्दै गर्दा देशकै सबैभन्दा ठूलो र अग्रणी संस्थाको रुपमा परिचय बनाएको अध्यक्ष श्रेष्ठले बताए । ‘२०७५ को सुरुवातबाट यातायात क्षेत्रमा मडारिएको कालो बादलले यातायात क्षेत्रमा ठूलो आपत विपद आइलाग्यो, यसले हामीलाई पीडा दियो’ अध्यक्ष श्रेष्ठले भने ।
यातायात व्यवस्था विभागले सरोकारवालालाई पूर्णरुपमा वेवास्ता गरी ‘यातायात व्यवस्थापन कार्यविधि निर्देशिका (संशोधित २०७४)’ जारी गरेपछि २०७५ बैसाख ४ गते मन्त्रिस्तरीय निर्णयबाट संस्था दर्ता ऐन २०३४ अन्तर्गत स्थापित यातायात क्षेत्रका संघ संस्थालाई नवीकरण नगर्ने निर्णयगरेको थियो ।साविक नारायणी यातायात व्यवसायी संघको पूर्ण बैठकले मिति २०७५÷३÷२२ गते संघको भगिनी संस्थाको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेको नारायणी संघ हेटौंडाले ब्यवसायीको समस्या समाधान गर्दै आएको थियो ।
२०७५ फागुन १९ गतेको राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७५ अनुरुप नारायणी यातायात व्यवसायी संघको रुपान्तरित कम्पनीको रुपमा स्थापना भएको पुरानो नारायणी यातायात कम्पनी प्रालि दर्ता गरेर संघका नेतृत्वले ब्यवासयीका दुर्घटना, बीमा दायित्वलगायत विषयमा काम गर्न थालेको थियो । ढुवानी तथा तौलपुल बन्द गर्न सरकारी संयन्त्र नै लागी परेको थियो ।
‘हामी ढुवानी तथा तौलपुलसम्बन्धी कार्यलाई पुनः संचालन गर्ने प्रयास गरिरहेका छौं’ अध्यक्ष श्रेष्ठले भने । सवारी दुर्घटनापश्चात घाइते तथा अ·भ·को औषधिउपचार, मृतकका पीडित परिवारतर्फ पु¥याउनु पर्ने सेवा, सवारी धनीलाई दुर्घटना पश्चात आइपर्ने समस्यामा सहकार्य, आफ्नो सवारी तथा तेस्रोपक्ष सवारी मर्मतमा सहयोगलगायत कार्य नारायणी संघ हेटौंडाबाट गरिएको थियो ।नेपाल सरकारले यातायात क्षेत्रका संघ संस्थाको नवीकरण नगर्ने निर्णयसँगै संघको नवीकरण नभएपछि सरकारको निर्णयका विरुद्ध नेपाल ट्रक यातायात व्यवसायी महासंघले सर्बोच्च अदालतमा मुद्दा दायर गरेको थियो । अबका दिनमा संघको नवीकरण गरी संघलाई अगाडि बढाउने विषयमा गम्भिरतापूर्वक नेतृत्व टोली लागिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
हेटौंडा–३ तीनताप्केस्थित राप्तीनदी छेउको खुलाचौरमा संघले १५ कठ्ठा जग्गा खरिद गरी तौलपुल, चालक रिफ्रस सेन्टर निर्माण गर्ने तयारी गरिरहेको संघका महासचिव सरोजकुमार खनालले बताए । ‘हामीले खेप्नुपरेको अनेक सास्तीमध्ये कर कार्यालयले दिएको सास्ती पनि आर्थिक हिसावले पीडादायी नै बन्यो’ महासचिव खनालले भने । कर कार्यालयले संघलाई बारम्बार फुल अडिटमा राखेको थियो । २०७३÷७४ भन्दा अघिका वर्षको विभिन्न शीर्षकको करको विषयमा झण्डै १ करोड ३५ लाख रुपैयाँको मुद्दा राजश्व न्यायाधीकरणमा रहेको छ ।
२०७४÷७५ को हिसावमा बसको ट्रिपशुल्कमा भ्याट र अन्य शीर्षकमा कर गरेर ३ करोड रुपैयाँ भन्दा बढीको मुद्दा आन्तरिक राजश्व कार्यालय हेटौंडाले उठाएको अवस्था थियो । पछिल्ला ६ वर्षको कार्यकालमा संले खेप्नु परेको सबैखाले समस्याका बारेमा पनि साधारणसभामा सदस्यहरुलाई जानकारी गराइने बताइउको छ । संघले आगामी शनिबार साधारण सभामा संघका यातायात ब्यवसायी सदस्यको निशुल्क स्वास्थ्यपरीक्षणका लागि मेडिसिटी अस्पतालको बिशेषज्ञ चिकित्सक टोलीसँग सहकार्य गर्ने भएको छ ।
कार्यक्रममा संघका उपाध्यक्ष बीरगंज सेक्टरका बिनोद मानन्धर, हेटौंडाका बिष्णु बिडारी, सचिव ठाकुरनाथ सुबेदी, शालिकराम ढकाल, सेरेश खड्गी, कार्यसमिति सदस्य शंकर गिरी, कमलबहादुर शाह, डम्बरबहादुर गोपाली, भीमप्रसाद बास्तोला, तिलकबहादुर कार्की, कुमार बर्तौला, श्यामप्रसाद उप्रेतीलगायतको सहभागिता रहेको थियो ।







