हेटौंडा औद्योगिक क्षेत्रका ७ उद्योग बन्द बन्द उद्योगले २५५ रोपनी जमिन ओगट्यो

साझाकुरा
२०८१ फाल्गुन १२, सोमबार ११:१४

हेटौंडा- क्षेत्रफलको हिसाबले हेटौंडा औद्योगिक क्षेत्र देशकै ठुलो औद्योगिक क्षेत्र हो । २०२० सालमा अमेरिकी सरकारको सहयोगमा स्थापना भएका यो औद्योगिक क्षेत्रमा १ सय ४३ उद्योग सञ्चालनमा रहेका छन् । ७ वटा उद्योग बन्द अवस्थामा रहेका छन् । बन्द रहेका उद्योगले २ सय ५५ रोपनी जग्गा ओगटेका छन् । कोभिड–१९ महामारी तथा आर्थिक मन्दीको कारण देशको अन्यक्षेत्र जस्तै हेटौंडा औद्योगिक क्षेत्रका उद्योगहरु शिथिल भएका छन् । कतिपय उद्योग भने सरकारी ऐन, नियम, कानुनको कारण समस्या झेल्न बाध्य भएका छन् । बन्द भएका उद्योगलाई पत्राचार गरेर उद्योग सञ्चालनको वातावरण बनाउने, उद्योगीको गुनासो सुन्ने लगायत कार्य भइरहेको औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयले जनाएको छ ।

निर्माण सामग्रीका ८ वटा, प्याकेजिङ उद्योग ५ वटा, केमिकल तथा रंगरोगन उत्पादन उद्योग ११ वटा, इन्जिनियरिङ सेवा उद्योग १२ वटा, खाद्यान्न तथा पेयपदार्थ उत्पादन गर्ने उद्योग १४ वटा उद्योग रहेका छन् । ति उद्योगले पनि क्षमताकोे आधा हिस्सा मात्रै उत्पादन गरिरहेको औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयले जनाएको छ । विविध कारणले ति उद्योग उत्पादन क्षमता घटाएर काम गर्न बाध्य भएका छन् । औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट प्रत्यक्ष रुपमा ४ हजार भन्दा बढीले रोजगारी पाएका छन् ।

औद्योगिक क्षेत्रमा अहिले १८ उद्योग निर्माणाधीन अवस्थामा छन् । सम्झौताअनुसार उद्योग सञ्चालन नगर्ने ५ वटा उद्योगसँगको सम्झौता रद्द गरिएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी व्यवस्थापक संगीता कुँवरले जानकारी दिएकी छन् । ठुला लगानीकर्ताको मुख्य चासो उत्पादनमा भन्दा पनि वाणिज्यमा केन्द्रित भएको कारण उद्योग समस्यामा परेको छ । व्यवस्थापक कुँवरको अनुसार पछिल्लो समय औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । उद्योग संघ मकवानपुरका पूर्वअध्यक्ष स्वागतराज प्याकुरेलले सरकारको काम उद्योग सञ्चालन गर्ने नभएको बताउँछन् । उद्योगमैत्री वातावरण निर्माण गरेर उद्योगीलाई प्रोत्साहन गर्नुपर्ने उनको बुझाई छ ।

‘सरकारले उद्योग सञ्चालनबाट हात झिक्नु पर्छ र उद्योग सञ्चालनको वातावरण बनाउनेतर्फ सरकारको काम केन्द्रित हुनुपर्छ’ उनले भने । बन्द अवस्थामा रहेका सरकारी उद्योगलाई निजीक्षेत्रसँगको सहकार्यमा सञ्चालन गर्नुपर्ने उनको सुझाव छ । सरकार परिवर्तन भएपिच्छे औद्योगिक नीति परिवर्तन हुँदा पनि उद्योगलाई संकटको अवस्था देखापरेको उनले बताए । सरकारले दुरगामी महत्व राख्ने औद्योगिक नीति बनाउनुपर्ने उद्योगीको भनाई छ । देशकै मध्य भागमा रहेको हेटौंडा औद्योगिक क्षेत्रमा नयाँ उद्योग आउनेक्रम बढेको छ । तर, औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयले नयाँ आउने उद्योगलाई सहज रुपमा जग्गा भने उपलब्ध गराउन सकेका छैन ।

हेटौंडा औद्योगिक क्षेत्रका उद्योगले वार्षिकरुपमा कच्चापदार्थको आयातमा लाग्ने भन्सार महशुल, उत्पादित बस्तु बिक्रीमा लाग्ने भ्याट, अन्तशुल्कलगायत शीर्षकमा वार्षिक १३ अर्ब रुपैयाँ राजश्व तिर्दै आएका छन् । यो साना करदाताको सूचीमा रहेका औद्योगिक प्रतिष्ठानको बिवरण भएको बताइएको छ । ठूला करदाताको सूचीमा रहेका करदाताले तिरेको राजश्व यसमा समाबेश नभएको उद्योग संघले जनाएको छ ।हेटौंडा औद्योगिक क्षेत्रमा कम्पाउण्ड वाल निर्माण हुन नसक्दा निजीक्षेत्रको अर्बौं रुपैयाँको लगानी शान्तिसुरक्षाको दृष्ट्रिले जोखिममा रहेको छ । अमेरिकी सरकारको सहयोगमा ६१ वर्षअघि निर्माण गरिएको औद्योगिक क्षेत्रको पर्खाल निर्माण हुन सकेको छैन । औद्योगिक क्षेत्रको बीचबाट मकवानपुरको पूर्बीक्षेत्रमा जाने सडकमा वर्षौंदेखि निर्वाध सवारी सञ्चालनमा छ ।

औद्योगिक क्षेत्रको छेवैमा रहेको राजमार्गमा दैनिक हजारौं सवारी साधन गुडिरहेका हुन्छन् । २५ मिटर सडक विस्तार अलमलको कारण हेटौंडामा रहेको औद्योगिक क्षेत्रमा निर्माण गरिने भनिएको वाल निर्माण अलमलमा परेको छ । औद्योगिक क्षेत्रमा रहेको उद्योगलाई सुरक्षा दिन औद्योगिक क्षेत्रको चारैतिर ६ किलोमिटर कम्पाउण्ड वाल लगाउनु जरुरी छ । उद्योगीले औद्योगिक क्षेत्रभित्रको सार्बजनिक बाटो बन्द गर्न माग गर्न भने छोडेका छैनन् । पूरानो ईतिहास बोकेको हेटौंडा औद्योगिक क्षेत्रमा रहेका १५ भन्दा बढी उद्योग पनि ऐतिहासिक नै छन् । जीर्ण भएका त्यस्ता भवन जुन धराप थापेझैं अवस्थामा छन् । हेटौंडा औद्योगिक क्षेत्रमा रहेका औद्योगिक प्रतिष्ठानमा सुरक्षाको सामान्य उपायहरु पनि अपनाईएको छैन ।

हेटौंडा औद्योगिक क्षेत्रको मध्यभागबाट निस्कने सडक कुनै राजमार्ग भन्दा कम व्यस्त छैन । विना रोकतोक सार्वजानिक सवारी निर्वाध आवत÷जावत गर्ने कारणले असुरक्षा महशुस भएको छ । हेटौंडा औद्योगिक क्षेत्र एउटा खुल्ला गौचरण भन्दा माथी उठ्न नसकेको गुनासो लगानीकर्ताले गरिरहेका छन् । गर्मी मौसममा हावाहुरीसँगै आगलागी पनि हुन सक्छ । तर, यत्रो ठूलो औद्योगिक क्षेत्रमा एउटा पनि बारुणयन्त्र छैन । औद्योगिक क्षेत्रभित्र अत्याधुनिक बारुणयन्त्र हुनुपर्ने संघले जनाएको छ ।

चुरियामाईको जंगल र औद्योगिक क्षेत्रको सीमाना जोडिएको छ । आगलागी मात्र हेटौंडा औद्योगिक क्षेत्रको समस्या भने होइन । चुनौतीका चाङबाट गुज्रदै गरेको औद्योगिक क्षेत्रमा सुधार नगर्ने हो भने हेटौंडामा लगानी भित्राउने सपना भाषणमा मात्र सीमित बन्ने लगानीकर्ताको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*