यातायातसम्बन्धी ऐन संशोधन गरिनेछः मुख्यमन्त्री लामा

साझाकुरा
२०८१ फाल्गुन १८, आईतवार ११:५९

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले यातायातसम्बन्धी ऐनलाई संशोधन गरिने बताएका छन् ।नारायणी यातायात व्यवसायी संघको ३६ औँ वार्षिक साधारणसभा तथा १६ औँ अधिवेशनलाई शनिबार हेटौंडामा सम्बोधन गर्दै मुख्यमन्त्री लामाले ऐन संशोधनमार्फत् यातायात व्यवसायीको समस्यालाई समाधान गरिने बताए । सरकारले गर्नुपर्ने कतिपय कामहरु यातायात व्यवसायीले गरिरहेको उनको भनाई छ । मुख्यमन्त्री लामाले रोड परमिट, सवारी जाँचपास र नवीकरणलाई प्रविधिमैत्री बनाउन छलफल अगाडि बढाउन प्रदेश सरकार तयार रहेको जिकिर गरे । मुख्यमन्त्री लामाले बीमालाई व्यवस्थित गर्न सम्बन्धितपक्षसँग छलफल अघि बढाएको बताए ।

दुर्घटनामा परेका व्यक्तिको औषधिउपचारमा सघाउ पु¥याउन कोष स्थापना गर्ने तयारीमा प्रदेश सरकार रहेको उनको भनाई छ । मुख्यमन्त्री लामाले ऐन बनाउने कामसँगै बनेका ऐनको कार्यान्वयनमा जिम्मेवार बन्नुपर्ने उल्लेख गरे ।नागरिकलाई सहज सेवा सुविधा प्रदान गर्न संघसँग सहकार्य गर्न सरकार तयार रहेको उनले बताए । मुख्यमन्त्री लामाले विदेशमा भएको सिस्टम प्रदेशमा पनि कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले प्रदेश सरकारको महत्वपूर्ण राजस्वको स्रोत यातायात क्षेत्र रहेको बताए । प्रदेश सरकारले गत आर्थिक वर्षमा यातायात क्षेत्रबाट १३ अर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको उनले जानकारी दिए । प्रदेश सरकारले यातायात क्षेत्रलाई राजस्वको वृद्धिले मात्र नहेरेको मन्त्री महर्जनको दाबी थियो । सरकारले यातायात व्यवसायीसँगै यो क्षेत्रमा संलग्न कामदारकर्मचारीको विषयमा पनि योजनाबद्धरुपमा काम गरिरहेको उनले बताए ।

यातायात क्षेत्रलाई व्यवस्थित ढंगले सञ्चालन गर्न मन्त्रालयले गृहकार्य गरिरहेको उनको भनाई छ । कार्यक्रममा प्रतिनिधि सभाका सांसद् विन्दावासिनी कसांकार, संविधानसभा सदस्य अनन्त पौडेल, प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँ, प्रेमबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटलगायतले यातायातसम्बन्धी समस्या समाधान गर्न आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताएका छन् ।

‘मुलुक संघीयता गएपनि सवारी दर्ता गर्ने पद्दतिमा
परिवर्तन आउन सकेन’
नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठले मुलुक संघीयता गएपनि सवारी दर्ता गर्ने पद्दतिमा परिवर्तन आउन नसकेको बताएका छन् ।संघको शनिबार भएको ३६ औं साधारणसभा एवम् १६ औँ अधिवेशनमा अध्यक्ष श्रेष्ठले विगतमा अञ्चलमा दर्ता भएका सवारीलाई प्रादेशिकीकरण गर्न समस्या भएको बताए । साविक अञ्चलमा दर्ता भएका सबै सवारी साधनलाई प्रदेशको संरचनामा दर्ता गर्ने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाई छ । भारतीय मालबाहक सवारी नेपालमा निर्वाध ढंगले चल्ने गरेको तर, नेपाली सवारीसाधन भारतीय सीमावर्ती क्षेत्रमा २–३ किलोमिटर भन्दा जाने अनुमति नभएकोमा उनले असन्तुष्टि व्यक्त गरे ।

भारतीय सवारी साधनलाई समेत नेपालको सीमावर्ती सहरसम्म मात्र आउनपाउने व्यवस्था गर्नुपर्ने उनको भनाई छ । अध्यक्ष श्रेष्ठले रोडपर्मिट दिनेकार्य अन्यन्तै झण्झटिलो भएको गुनासो गरे । ‘हेटौंडा–सिन्धुली–धरान सडक, हेटौंडा–ठिंगन–काठमाडौं कान्तिलोकपथ खण्डमा पर्मिट नदिएका कारण सडकमा चल्नेसवारी दुर्घटना भएको अवस्थामा बीमादाबी लगायतमा समस्या छ’ उनले गुनासो गरे ।अध्यक्ष श्रेष्ठले बीमा ऐनलाई समयसापेक्ष रुपमा संशोधन गर्नुपर्ने बताए । २०६६ मा जारी भएको बीमा ऐन अहिलेसम्म परिवर्तन नहुँदा दुर्घटनामा घाइतेको उपचारमा समस्या भएको उनको भनाई छ । ‘२०६६ को ऐनले घाइतेको उपचारमा ३ लाख रुपैंयाँ उपलब्ध गराउने भनिएको छ तर, जटिल अवस्थाका घाइतेको उपचार खर्च ५० लाख रुपैंयाँभन्दा बढी हुने गरेको छ’ उनले भने ।

अध्यक्ष श्रेष्ठले राजमार्गमा सुरक्षा चेकजाँचको नाम चालकलाई असहज भएको बताए । चालकलाई दुःख दिने भन्दा पनि सहजीकरणको आवश्यक भएको उनको भनाई छ । राजमार्गमा सवारी सञ्चालन गर्ने क्रममा राष्ट्रिय अन्तर्राष्ट्रिय नियम कानुनका बारेमा सवारी चालकलाई सहजीकरण गरिनुपर्ने उल्लेख गरे । कार्यक्रममा संघले हेटौंडामा मुख्यालय रहेको मानवसेवा आश्रमलाई हरेक साधारणसभामा सहयोग गर्दै आएकोमा यो वर्ष नगद ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

त्यस्तै लामो समयदेखि दुर्घटना नगराउने पाँचजना चालकलाई जनही नगद १० हजार रुपैयाँ सहित सम्मान गरिएको छ । हेटौंडाका अर्जुन भुर्तेल, ध्रुवलाल श्रेष्ठ, काठमाडौंका सुरेश श्रेष्ठ, चितवनका भोला थापा र रौतहटका रामपुकार रायलाई सम्मान गरिएको हो । साधारणसभामा नेपाल मेडिसिटी अस्पताल काठमाडौंका विशेषज्ञ डाक्टरको टिमले व्यवसायीको निःशुल्क स्वास्थ्यपरीक्षण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*