विधिपूर्वक काममा प्रशासनको सधैं साथ रहन्छः प्रजिअ श्रेष्ठ

प्रजिअ श्रेष्ठलाई नारायणी यातायात ब्यवसायी संघको स्वागत
साझाकुरा
२०८१ फाल्गुन २०, मंगलवार १२:०३

हेटौंडा- हेटौंडामा मुख्य कार्यालय रहेको नारायणी यातायात व्यवसायी संघले सोमबार मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई स्वागत गरेको छ ।प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवाभई आएकी श्रेष्ठलाई संघले सोमबार एक औपचारिक कार्यक्रम गरी स्वागत तथा सम्मान गरेको हो । संघका अध्यक्ष हीरालाल श्रेष्ठ, महासचिव सरोज खनाल, निवर्तमान अध्यक्ष बद्री चौलागाईलगायतले स्वागत गरेका हुन् । कार्यक्रममा अध्यक्ष श्रेष्ठले संघले गर्दै आएको गतिविधिबारे जानकारी गराएका थिए ।

यातायात व्यवसायीको वर्तमान समस्याका बारेमा समेत कार्यक्रममा छलफल भएको थियो । प्रमुख जिल्ला अधिकारीको हैसियतबाट गर्न सक्ने यातायात व्यवसायीको समस्यालाई समाधान गर्नेतर्फ अध्यक्ष श्रेष्ठले प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए । अध्यक्ष श्रेष्ठले समाजप्रतिको दायित्व आपूmहरुले नबिर्सेको बताए । ‘हामीले हेटौंडा क्याम्पस, मकवानपुर बहुमुखी क्याम्पसको शैक्षिक सुधारको लागि पनि धेरै काम गरेको छौँ’ अध्यक्ष श्रेष्ठ भने ‘व्यवसायसँगै संघले सामाजिकक्षेत्रमा पनि धेरै काम गर्दै आएको छ ।’

सर्वोच्च अदालतको आदेश अनुसार नै प्रमुख जिल्ला अधिकारीको मार्गदर्शनभित्र रहेर आपूmहरु चल्न तयार रहेको अध्यक्ष श्रेष्ठले बताए । ‘हामीले हाम्रै जिल्लाको सिडियो पाएका छौँ, उहाँ हाम्रो गहना हो, त्यसैले उहाँको मागदर्शनमा रहेर नै हामी हाम्रो कामलाई अगाडि बढाउँछौँ’ अध्यक्ष श्रेष्ठले भने । कार्यक्रममा अध्यक्ष श्रेष्ठले प्रमुख जिल्ला अधिकारी कार्यकालको पूर्ण सफलताको शुभकामना समेत दिए ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले यातायात क्षेत्र व्यवस्थित नहुँदासम्म शान्तिसुरक्षा कायम गर्न नसक्ने बताइन् । ‘शान्तिसुरक्षा र अमनचयनको कुरा गरिरहँदा यातायातक्षेत्र व्यवस्थित हुनुपर्छ’ उनले भनिन् ‘नेपाल सरकारलाई धेरै कर तिर्ने संस्था भएकोले आर्थिक समृद्धिमा पनि यहाँहरुको भूमिका महत्वपूर्ण छ ।’ नीतिगत रुपमा देखिएका केही जटिलतालाई समाधान गर्न जरुरी भएको उनको भनाई छ ।

बद्लिदो परिस्थित अनुसार समस्याको समाधान पनि निस्कँदै जाने भएकोले आफ्नो काममा जिम्मेवार ढंगले अघि बढ्न उनले आग्रह गरिन् । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले यातायातक्षेत्रमा देखिएको बेथितिलाई सुधार गर्न यातायात व्यवसायी स्वयम् लाग्नुपर्नेमा जोड दिइन् । ‘यातायातक्षेत्रमा धेरै बेथिति, विकृति भएको कुरा तपाई, हामी सबैलाई थाहा छ, त्यसलाई अन्त्य गर्न तपाईहरु जिम्मेवार बन्नुपर्छ’ उनले भनिन् ।

एकअर्कासँग समन्वय गरी अगाडि बढ्दा मकवानपुर जिल्लालाई सुशासनयुक्त जिल्ला बनाउन सकिने उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले नीति र विधि अनुसार हुने काममा प्रशासनको सधैं साथ रहने समेत प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा संघका महासचिव खनालले प्रमुख जिल्ला अधिकारीलाई विगतदेखि नै गरिने स्वागत तथा सम्मानको निरन्तरता अनुसार कार्यक्रम गरिएको बताए ।

महासचिव खनालले आपूmहरु सधै जिल्ला प्रशासनको साथमा रहको बताएका छन् । विगतमा भुकम्प, कोरोना महामारी, बाढीपहिरोको समयमा संघले सर्वसाधारण जनताको लागि उल्लेख्य काम गरेको बताएका छन् । गत असोजमा सिस्नेरीको बाढीपीडितको आपूmहरुले प्रशासनसँग मिलेर काम गरेको उनले बताए ।यसैगरी संघका निवर्तमान अध्यक्ष चौलागाईले संघको मातहात रहेका सवारी साधनहरु नियम र विधिमा रहेर चल्ने बताएका छन् । मालबाहक र यात्रुबाहक क्षेत्रमा फरकफरक समस्या रहेको निवर्तमान अधयक्ष चौलागाईले बताए । स्वागत तथा सम्मान कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*