हेटौंडा सहरका परिकल्पनाकार डा.हेगनको सालिक अनावरण

साझाकुरा
२०८१ फाल्गुन २१, बुधबार ०८:३६

हेटौंडा- हेटौंडा सहरका परिकल्पनाकार स्वीस नागरिक डा. टोनी हेगनको अर्धकदको सालिकको अनावरण गरिएको छ ।हेगनकी छोरी डा. क्याट्रिन हेगन सहित हेटौंडा उपमहागनगरप्रमुख मीनाकुमारी लामा र पूर्वनगरप्रमुख हरिबहादुर महतले मंगलबार संयुक्तरुपमा हेटौंडा–१० टिसिएनमा निर्मित टोनी हेगन पार्कमा निर्माण गरिएको डा.टोनी हेगनको अर्धकदको सालिकको अनावरण गरेको हुन् । सालिक र पार्क निर्माण गर्न हेटौंडा उपमहानगरलगायत विभिन्न संघ संस्थाले सहयोग गर्दै आएका छन् ।

१ विगाहा ४ का साढे १७ धुर क्षेत्रफलमा पार्क निर्माण गरिएको छ । पार्क निर्माणमा हालसम्म २ करोड ९ लाख ८१ हजार रुपैयाँ खर्च भइसकेको छ । सालिकको अनावरण गर्दै हेगनकी छोरी डा. क्याट्रिनले हेटौंडा उपमहानगरपालिकालगायत हेटौंडावासीप्रति आभार प्रकट गरिन् । उनले आफ्नो बाबु नेपाललाई माया गर्ने विदेशी भएको र नेपाललाई विश्वमै चिनाउने एक सच्चा नागरिक भएको उल्लेख गरिन् । नेपालको ग्रामीण क्षेत्रका जनताको आर्थिक स्थितिमा विगतको भन्दा अहिले सुधार भएको उनले बताइन् ।

इन्द्र नेपालको सभाध्यक्षतामा भएको अनावरण कार्यक्रममा नगरप्रमुख लामाले डा. टोनी हेगनलाई पुस्तौंपुस्तासम्म चिनाउने उद्देश्यले उपमहानगरपालिकाले सहरको मध्यभागमा पार्क निर्माण गरेको बताइन् । पार्कको व्यवस्थापनमा उपमहानगर जिम्मेवार भएर लाग्ने उनले प्रतिबद्धता व्यक्त गरिन् । नगरप्रमुख लामाले अन्तर्राष्ट्रियजगतमै नेपाललाई चिनाउन आपूmहरु लागिपरेको समेत उल्लेख गरिन् । कार्यक्रममा टोनी हागन फाउण्डेसनका अध्यक्ष प्रमोदकुमार झाले टोनी हेगनले नेपाललाई विश्वमा मात्र नभई नेपालीलाई नेपाल चिनाएको बताए । पूर्वमेयर हरिबहादुर महत, डा. कृष्णप्रसाद धिताललगायतले टोनी हेगन र हेटौंडाका बारेमा बोलेका थिए ।

पार्कमा फल्चा, ढुंगेधारा, अध्ययन केन्द्र, महिला एरोबिकस्थल, बालमैत्रीपार्क, जेष्ठनागरिकमैत्री स्थल, ब्याडमिन्टन कोर्ट निर्माण गरिँदैछ । ७० वर्षअघि नै हेटौंडा सुन्दर सहर बन्न सक्ने घोषणा गरेका स्वीस नागरिक डा. हेगनको स्मृतिमा हेटौंडा उपमहानगरपालिकाले टोनी हेगन पार्क निर्माण गर्न सहयोग गर्दै आएको हो । करिब डेढ बिघा जमिनमा पार्कको निर्माण कार्य गरिएको छ । सन् १९५० अक्टोबर २४ मा डा. हेगनसहित तीनजना भूगर्भविद् नेपालको भौगर्भिक नक्सा तयार गर्ने कामका लागि तत्कालीन राणा प्रधानमन्त्री मोहनशम्शेर राणाको पाहुनाको रुपमा नेपाल आएका थिए ।

त्यो विदेशी टोली रक्सौल नाका हुँदै वीरगन्ज, अमलेखगन्जसम्म सानो रेलमा आएका थिए । अमलेखगन्जबाट सानो जीपमा चुरियाको सुरुङ पार गरेका थिए । जब सुरुङको अर्को मुखबाट बाहिर आउँदा देखिएको राप्ती र कर्रा नदी आसपास विशाल रुपमा फैलिएर जमिन र सालको रुखहरु देखेपछि यो स्थान सुन्दर बन्ने कल्पना गरेका थिए । नेपालप्रेमी जसले नेपालको भौगर्भिक सर्वेक्षणको क्रममा ७५ जिल्लाको भ्रमण गर्दा करिब १४ हजार किलोमिटर दुरी पैदलयात्रा तय गर्ने कीर्तिमान कायम गरेका थिए ।

डा. हेगनले नै पहिलो पटक हिमाली अधिराज्य नेपाललाई विश्वसामु परिचय दिने काम गरेका थिए । सन् १९५० अक्टोबरमा हेटौंडाको अवस्थाका बारेमा डा. हेगनले लेखेका थिए ‘चुरिया पहाडमुन्तिर बनेको सय मिटर लामो सुरुङ हुँदै जाने कच्ची सडकबाट फराकिलो दुन उपत्यकामा पु¥यायो । त्यस उपत्यकामा खासै बस्ती थिएन । भारतबाट काठमाडौं जाने मुख्य मार्गमा पर्ने हेटौंडा एउटा सानो बजार थियो । घनाजंगलले पूरै नढाकिए पनि यो क्षेत्र साँच्चै नै एउटा बृहत् प्रदेश थियो । सर्लक्क तन्किएका सालका मोटा वृक्षहरुले मेरो ध्यान तानिरहेको थियो ।’

डा. हेगनको यो भनाइ नै एउटा बृहत् प्रदेशमा एउटा सुन्दर मानवबस्ती बसाल्ने परिकल्पना बन्न पुग्यो । सन् २००३ अप्रिल १८ मा स्विट्जल्याण्डको लेन्जरहाइडमा उनको मृत्यु भएको थियो । उनको नेपालप्रतिको असिम माया र अगाध प्रेमका कारण मरणोपरान्त उनको ‘अस्तु’ खरानीलाई नेपालको तराई पहाड र हिमालका तीनै भूभागमा छर्किएको थियो । उनको त्यो अन्तिम इच्छा थियो । उनको इच्छाअनुसार नातिले हेलिकोप्टर चार्टर गरी अस्तु छर्किने काम गरेका थिए ।

उनी सन् १९१७ मा स्विट्जरल्यान्डको लुजर्न भन्ने ठाउँमा जन्मिएका थिए । डा. हगन १९५० मा पहिलो स्विस विकास सहयोग अभियान लिएर नेपाल आएका थिए । सन् १९५२ मा उनी नेपाल सरकारको मातहतमा र संयुक्त राष्ट्रसंघको तर्फबाट समेत नेपालसम्बन्धी खोज र अनुसन्धानमा व्यस्त रहे । टोनी हेगन नै नेपालको भौगोलिक खोज र अनुसन्धान गर्ने पहिलो विदेशी नागरिक हुन् ।

उनलाई नेपाल विशेषज्ञ भनेर पनि चिन्ने गरिन्छ । उनले नेपालको अधिकांश भूभागको पैदलयात्रा गरेर त्यहाँको भौगोलिक र सांस्कृतिक अवस्थाको बारेमा बृहत् खोज र अनुसन्धान गर्ने काम गरेका थिए । यही गहिरो खोजका आधारमा उनले नेपालको सांस्कृतिक विविधताको बारेमा मौन वृत्तचित्र ‘फिल्म’ बनाएका थिए । जसलाई पछि उनले आफ्नै आवाजमा अंग्रेजी भाषामा अनुवाद गरेका थिए । नेपाललाई धेरै नजिकबाट नियालेका हेगनले ‘नेपाल’ नामक पुस्तकसहित अरु थुप्रै पुस्तक लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*