हेटौंडा अस्पतालमा मुटुरोग सेवा शुभारम्भ मुख्यमन्त्री भन्छन्ः ‘प्रदेश सरकार स्थापनापछि अस्पतालको सेवा बढ्यो’

साझाकुरा
२०८१ फाल्गुन २८, बुधबार ११:१५

हेटौंडा- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालमा विशेषज्ञ मुटुरोग सेवा शुभारम्भ गरिएको छ ।मुटुरोगसम्बन्धी उपचार सहज रुपमा प्रदान गर्ने उद्देश्यले मंगलबारबाट कार्डियो ओपीडी सञ्चालनमा ल्याइएको हो । अस्पतालको भूइँतलामा रहेको ओपीडी विभागको सुभारम्भ बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, स्वास्थ्यमन्त्री किरण थापा लगायतको उपस्थितिमा गरिएको हो । टिचिङ कार्डियो मनमोहन भास्कुलरमा अध्ययन गरेका मुटुरोग विशेषज्ञ डा. विकेश श्रेष्ठबाट हेटौंडामा दैनिकरुपमा मुटुजाँच सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले बताएका छन् ।

क्याथ ल्यावको अभावले गर्दा अप्रेशन बाहेकका सबै मुटुको उपचार सेवा इसिजि, इको, टीएमटी, हल्टर, एविपी जस्ता परीक्षण हेटौडाबाटै हुने उनले बताए । कार्यक्रममा मुख्यमन्त्री लामाले प्रदेश सरकार स्थापना भएपछि हेटौंडा अस्पतालको सेवासुविधा बढ्दै गएको बताएका छन् । प्रदेश सरकारको औचित्यलाई स्वास्थ्यक्षेत्रमा भएको विकासले पुष्टि गरेको उनको भनाई छ । मुख्यमन्त्री लामाले प्रदेश सरकार मातहात आएकै कारण १३ वटै जिल्लाका अस्पतालको अवस्थामा सुधार हुँदै गएको जिकिर गरे ।

मुख्यमन्त्री लामाले हेटौंडामा नै क्याथ ल्याव सञ्चालनमा ल्याएर मुटुको अप्रेशन सेवा बिस्तारको लागि प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । हेटौंडामै मुटुको अपरेशन हुनसके प्रदेशकै ठुलो सफलता हुने उनको धारणा छ । मुख्यमन्त्री लामाले स्वास्थ्यक्षेत्रमा राजनीति धेरै गर्न नहुने बताए । २० प्रतिशतमात्र राजनीति गरेर बाँकी काम गर्नुपर्ने मुख्यमन्त्री लामाको सुझाव छ । हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने आवाज उठिरहेको प्रसंगतर्फ संकेत गर्दै मुख्यमन्त्री लामाले नकारात्मक सोच राखेर काम नगर्न आग्रह गरे ।

त्यसैगरी स्वास्थ्यमन्त्री थापाले संघीयता लागु भएपछि विशेष गरी स्वास्थ्य, शिक्षाक्षेत्रले ठुलो फड्को मारेको दाबी गरेका छन् । हेटौंडा अस्पतालको सेवाबाट मकवानपुर जिल्लामात्र नभई मधेश प्रदेशका सर्वसाधारण पनि लाभान्वित भइरहेको उनको भनाई छ । मन्त्री थापाले हेटौंडा अस्पतालको स्तरोन्नतिको लागि प्रदेश सरकारले थप मेडिकल उपकरण समेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । जनशक्तिको अभावमा कतिपय ठाउँमा आधारभूत अस्पताल सञ्चालन हुन नसकिरहेको उल्लेख गर्दै मन्त्री थापाले दूरचिकित्सा सेवा (टेलिमेडिसिन) मार्फत् उपचारपद्दति सुरु गर्ने अभियानलाई अगाडि बढाउने बताए । राजमार्ग केन्द्रित ट्रमा सेन्टर स्थापना गर्न मन्त्रालय लागिपरेको उनले उल्लेख गरेका छन् ।

मन्त्री थापाले चिकित्सकहरु कमीकमजोरी सुधार गरेर गुणस्तरीय स्वास्थ्य सेवा दिन आग्रह गरे ।त्यसैगरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. प्रदीप ज्ञवालीले प्रादेशिक अस्पतालको सेवा बिस्तारसँगै निरन्तरता महत्वपूर्ण हुने बताए । सेवा विस्तारमा आएका छात्रवृत्तिका विशेषज्ञ डाक्टरलाई अस्पतालमा २ वर्ष टिकाउन पर्ने अवस्था रहेको उनले बताएका छन् । हेटौंडा अस्पतालमा कार्डियो सेवासँगै क्याथ ल्याव निर्माणको तयारीमा प्रतिष्ठानले काम अघि बढाउने उनले बताए ।

स्तरीय स्वास्थ्यसेवाका लागि प्रदेश सरकारले उपयुक्त बजेट व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ । आगामी वर्षबाट प्रतिष्ठानमा एमबीबीएस कार्यक्रमका सञ्चालनको लागि ७५ प्रतिशत बजेट सुनिश्चित गर्नपर्ने भएकाले सरकारले उपयुक्त निर्णय गर्नुपर्नेमा उनले जोड दिए । उपमहानगरपालिकासँगको साझेदारीमा रोटरी क्लब अफ हेटौंडाले अस्ताललाई एकवर्ष अघि ८० लाख रुपैयाँ मूल्य बराबरको मुटु परीक्षण उपकरण उपलब्ध गराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*