कलंकी–मार्खु–सिम्लाङ–विसिंखेल सडकको बिजोग : निर्माण अवधि सकिन ३ महिना बाँकी, भौतिक प्रगति ३० प्रतिशत

साझाकुरा
२०८१ चैत्र ५, बुधबार १०:५३

हेटौंडा- मकवानपुर जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको कुलेखानी, मार्खु, चित्लाङ, बज्रबाराही तथा दामन–पालुङलाई लिने गरिन्छ । तर, ति ठाउँमा पुग्ने सडक अलपत्र हुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई आवगमनमा समस्यापरेको छ । विशेष गरी कलंकी–मार्खु–सिम्लाङ–विसिंखेल खोला सडकको निर्माणकार्य सुस्तगतिमा हुँदा पर्यटकलगायत स्थानीय र व्यवसायीलाई सास्ती भएको छ । लालिगुराँस, सुन्दरवस्ती, नेपालकै पहिलो र ठूलो मानवनिर्मित जलासय (इन्द्रसरोवर), डुंगा शयरको लागि त्यहाँ पुग्नका लागि यात्रा सहज भने छैन । हिउँदमा धुलो र वर्षामा हिलोको सामाना गर्दै जानुपर्ने अवस्था छ ।
सडकको अवस्था राम्रो नहुँदा पछिल्लो समय पर्यटकको संख्यामा कमी आएको स्थानीय राजकिशोर कार्कीले बताए । ‘सडक भत्काएर अलपत्र छाड्दा धुलो–धुवाँका कारण बसोबास गर्न पनि कठिन भएको छ’ उनले भने ‘धुलो उडेर हैरान भएपछि आफूहरुले नै ट्यांकरबाट पानी हाल्ने काम गरेका छौँ ।’ सडकमा धुलो उडेर रुघाखोकी लाग्ने, श्वासप्रश्वासको समस्या देखापरेको स्थानीय बिमला बलामीको गुनासो छ । छिटो भन्दा छिटो सडकलाई कालोपत्रे गर्न उनले माग गरिन् ।

‘सडक निर्माण समयमा नहुँदा आवतजावतमा कठिन भएको र व्यापार व्यवसाय चल्न सकेको छैन’ उनले बताइन् ‘विगतको तुलनामा यो क्षेत्रमा पर्यटक कम आउने गरेका छन्, होटल व्यवसाय निकै कम मात्रामा चल्दा अप्ठेरो परेको छ ।’ पर्यटकीयरुटको रुपमा विकास गर्ने गरी बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको ३५ करोड २८ लाख ६२ हजार रुपैयाँ लगानीमा लामा आइएस आरआर जेभी काठमाडौँले दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

२०८२ असार १८ गते निर्माणकार्य सक्ने गरी निर्माण कम्पनीले सम्झौता गरेको हो । तर, निर्माणअवधि सकिन ३ महिना मात्र बाँकी रहँदा भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २८ प्रतिशत रहेको छ । ८ दशमलब ८ मिटर लम्बाइको यो सडक चौडा गरी कालोपत्रे सडकमा स्तरोन्नति गर्ने मुख्य जिम्मेवारीे निर्माण कम्पनीले पाएको हो ।समयमै निर्माणकार्य सक्नका लागि पूर्वाधार विकास कार्यालयले पटकपटक लिखित र मौखिकरुपमा ताकेता गरिरहेको भएपनि काम तीव्रगतिमा हुन नसकेको पूर्वाधार विकास कार्यालय हेटौंडाका प्रमुख सुजन भण्डारीले स्वीकार गरेका छन् ।

निर्माणकार्य समयमै सक्न आफूले निरन्तर छलफल तथा अनुगमन गरिरहेको भण्डारीले बताए । निर्माण कम्पनीलाई काम छिटो गर्न दवाब बढाइरहेको उनको भनाइ छ । यो ठेक्काको काम समयमै सक्न कार्यालयले पछिल्लो ४ महिनामा मात्र ३ पटक छलफल गरेको छ भने ५ पटक भन्दा बढी पत्राचार गरेको छ । निर्माणको कामलाई तीव्र बनाउन निर्माण कम्पनीलाई दवाब दिइरहेको कार्यालय प्रमुख भण्डारीले बताए । काम समयमै सक्न कार्यालयले ३ पटक निर्माण व्यवसायीसँग बैठक बसेर निर्णय समेत गरेको उनको भनाइ छ ।

हालकै अवस्थामा यो ठेक्काको काम निर्धारित अवधिभित्र सक्ने अवस्था नरहेको भण्डारीले बताए । यद्यपि कार्यालयको निरन्तरको प्रयासपछि चैत पहिलो साताबाट निर्माण सामग्री र जनशक्ति थप गरेर काम गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको उनको भनाइ छ । निर्माण कम्पनीले क्रसर स्थापनाको काम गरिरहेको र क्रसर सञ्चालन भएपछि कामले तीव्रता पाउने जनाएको भण्डारी बताउँछन् । यो ठेक्कामा चालु आर्थिक वर्षमा नाला निर्माण, बेस तथा ग्राभेल गर्ने काम सक्ने लक्ष्य रहेको उनले बताए । ठेक्काको अनुगमन तथा मूल्यांकन सहित म्याद थपको बारेमा निर्णय गर्ने र आगामी आर्थिक वर्षमा कालोपत्रे गर्नेगरी कार्यालयले योजना तयार गरेको प्रमुख भण्डारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*