ढल्केबर–बारा खण्ड निर्माण कार्य सकियो
हेटौंडा- हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभीए प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर–बारा खण्ड निर्माणकार्य सकिएको छ ।देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारत बीचको विद्युत व्यापार विस्तारका लागि यो प्रसारण लाइन निर्माण भइरहेको छ । धनुषाको ढल्केबर सबस्टेसनदेखि पश्चिमतर्फ पर्ने महोत्तरी, सर्लाही, रौतहट हुँदै बारा र मकवानपुरको सीमानामा पर्ने सरस्वती डाँडासम्मको १०० किलोमिटर प्रसारण लाइन निर्माण सकिएको हो ।
धनुषाको ढल्केबरबाट पूर्वतर्फ पर्ने सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण निर्माण सकिएर गत असारबाट सञ्चालनमा आइसकेको छ । ढल्केबरबाट पश्चिमतर्फको विद्युत प्रवाहलाई थप सहज बनाउन रौतहटको चन्द्रनिगाहपुर (चपुर) बजार नजिक रहेको जंगलसम्मको करिब ६० किलोमिटर ४००
केभी प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा सञ्चालनमा ल्याइएको छ ।
हाल चालु रहेको पूर्वपश्चिम १३२ केभी प्रसारण लाइनलाई उक्त स्थानमा ट्यापिङ गरी बिहीबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा ४०० केभी प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ढल्केबरबाट पश्चिमतर्फ र पश्चिमबाट ढल्केबरतर्फ विद्युत पठाउन हाल रहेको पूर्वाधार संरचनाको बाधा हटाउन निर्माण सम्पन्न भएको ४०० केभीलाई १३२ केभीमा चार्ज गरिएको बताए ।
‘हिउँदयाममा हाल देखिएको ऊर्जा अभावलाई समाधान गर्न ढल्केबर–मुजाफरपुर अन्तर्देशीय प्रसारण लाइनबाट दिउँसो थप विद्युत भारतबाट आयात गर्न सकिन्छ, यसबाट कुलेखानी जलाशय, माथिल्लो तामाकोशी, कालीगण्डकी, मस्र्याङ्दी, मध्यमस्र्याङ्दीजस्ता अर्धजलाशययुक्त आयोजनाको पानी दिउँसो जम्मा गरी साँझको पिकआवर र राति चलाउन सकिन्छ, यसबाट ढल्केबरबाट पश्चिमतर्फको विद्युत आपूर्ति व्यवस्थापनमा थप सहज हुनेछ,’ घिसिङले भने ।
वर्षायाम सुरु भएपछि देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत पश्चिमबाट ढल्केबरतर्फ प्रवाह गरी भारतमा हुने विद्युत निर्यातको परिमाण बढाउन सकिने उनको भनाइ छ । हाल चालु रहेको १३२ केभी प्रसारण लाइनको कन्डक्टर फेरेर क्षमता बढाउने काम अगाडि बढाउन सहज भएको पनि उनले जानकारी दिएका छन् । पूर्वपश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता वृद्धि गर्न हेटौंडादेखि ढल्केबर सबस्टेसनसम्मको करिब १३६ किलोमिटर खण्डमा पर्ने कम क्षमताको पुरानो तारलाई बदलेर उच्चक्षमताको नयाँ तार राख्न लागिएको हो ।
अब ४०० केभीलाई १३२ केभीमा चार्ज गरिएकाले यो लाइनबाट विद्युत प्रवाह गरी तार फेर्ने काम अगाडि बढाउन सकिने भएको प्राधिकरणले जानकारी दिएको हो । अहिले पुरानो १३२ केभी प्रसारण लाइनबाट करिब २ सय मेगावाट विद्युत प्रवाह हुँदै आएकोमा कन्डक्टर बदलेपछि क्षमता वृद्धि भई करिब ४ सय मेगावाटसम्म प्रवाह गर्न सकिने हुन्छ ।यसबाट त्यस क्षेत्रमा विद्युत आपूर्तिमा सुधार हुने, पश्चिम क्षेत्रमा उत्पादित विद्युतलाई पूर्वतर्फ थप प्रवाह गर्न सकिने र देशभित्र खपत गरी बढी भएको विद्युतलाई ढल्केबर सबस्टेसनमार्फत भारततर्फ निर्यात गर्न सकिने उल्लेख गरिएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित हेटौंडा सबस्टेसनबाट इनरुवा सबस्टेसम्मको २ सय ८८ किलोमिटर ४०० केभी प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो ।







