कुलेखानी जलविद्युत् चौबिसै घण्टा सञ्चालनमा

हेटौंडा-भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ । नेपाल विद्युत् प्राधिकरणको ब्याकअपकारुपमा रहेको कुलेखानी जलाशययुक्त जलविद्युत् आयोजनामा केही दिनदेखि २४ घण्टामा पानीको सतह सरदर ३६ सेन्टिमिटर घट्न थालेको छ । कुलेखानी जलाशयमा बिहीबार दिउँसो २ बजेतिर एक हजार ५ सय २३ मिटर ८२ सेन्टिमिटर पानीको सतह पुगेको थियो । शुक्रबार दिउँसो २ बजेतिर एक हजार ५ सय २३ मिटर ४६ सेन्टिमिटरमा झरेको थियो । शनिबार यही समयमा जलासयको पानी थप ३६ सेमि घटेको छ । भारतबाट दिनको १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानीका तीनवटै जलविद्युत् आयोजना चौबीसै घण्टा सञ्चालन गरिएको कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले बताए ।
‘अहिले चौबीसै घण्टा कुलेखानीका तीनवटै आयोजना सञ्चालनमा छन्,’ भट्टले भने, ‘कुलेखानी जलाशयको पानीको सतह दिनहुँ ३५ देखि ४० सेन्टिमिटरसम्म घट्न थालेको छ ।’ बुधबार र बिहीबार चौबीसै घण्टा कुलेखानी आयोजना सञ्चालन गरिएको छ । यसवर्षको बर्खामा कुलेखानी जलाशय ओभरफ्लो भएर ड्यामको २ वटै ढोका खोलिएको थियो । समुन्द्री सतहबाट एक हजार ५ सय ३० मिटर पानी अट्ने क्षमता भएको कुलेखानी जलाशय गत असोज १० मा पूर्णरुपमा भरिएएर ओभरफ्लो भएको हो ।
जलासयको बाँध भरिएपछि जोखिम बढेको भन्दै असोज ११ मा ड्यामको ढोका खोलिएको थियो । मकवानपुरको उत्तरीक्षेत्रमा रहेको थाहा नगरको दामन, पालुङ, बज्रबाराही, चित्लाङ एवम्
ईन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाधार क्षेत्रमा भारी वर्षा भएका कारण कुलेखानी जलाशय भरिएर ओभरफ्लो भएको थियो । सुक्खायाम सुरु भएपछि कुलेखानी जलाशययुक्त आयोजना सञ्चालन गरिएको हो ।
हालसम्म जलाशयको पानीको सतह ६ मिटर १८ सेन्टिमिटर घटिसकेको छ । कुलेखानी जलाशयमा एक हजार ४ सय ८३ मिटर पानीको सतह अन्तिम बिन्दु हो । पानीको सतह एक हजार ४ सय ८३ मिटरमा पुगेपछि विद्युत् उत्पादन गर्न सकिन्न । गतवर्षको सुक्खायाममा जलाशयको पानी झन्डै अन्तिम बिन्दुसम्म उपयोग गरिएको थियो । कुलेखानी जलाशयको पानी एक हजार ४ सय ८४ मिटरसम्म तल झर्दा प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ । जलाशयमा संकलित पानीमध्ये ४६ मिटर मात्र विद्युत् उत्पादनमा प्रयोग गर्न सकिन्छ ।
कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन हुने प्राधिकरणले जनाएको छ । कुलेखानी जलाशयमा संकलित पानीबाट तीनवटै आयोजनाले विद्युत् उत्पादन गर्छन् । ३ सय मिटर चौडाइ र सात किलोमिटर लम्बाइ रहेको कुलेखानीको जलाशय नेपालको सबैभन्दा ठूला जलासययुक्त आयोजना हो । सुक्खायाममा सञ्चालन गर्न कुलेखानी जलाशयमा बर्खाको पानी संकलन गरेर राखिएको भट्टले बताए ।
कुलेखानी जलविद्युत् आयोजनाको जलाशयको पिँधको सतहमा माटो बढेकाले ६ करोड ३३ लाख युनिट विद्युत् उत्पादनमा कमी आएको बताइएको छ । सुरुमा जलाशयमा संकलित पानीबाट २१ करोड ११ लाख युनिट विद्युत् उत्पादन हुने गथ्र्यो तर, अहिले त्यो क्षमतामा ह्रास आएर १४ करोड ४७ लाख युनिट मात्र विद्युत् उत्पादन हुन्छ । जलाशयको पानी संकलन क्षमतामै ह्रास आएकाले विद्युत् उत्पादनमा कमी आएको हो ।
जलासयको पिंधमा माटो र गेग्रान भरिंदै गएपछि यसले विद्युत उत्पादन प्रभावित हुन्छ । करिब २७ मिलियन क्युसेक पानी अट्ने क्षमतामा ह्रास आएको कुलेखानी प्रथमका एक प्राविधिकले बताए । बर्सेनि जलाधार क्षेत्रबाट खोलाले बगाएर ल्याउने ढुंगा, माटो, बालुवा र पातपतिंगर जलाशयमा थुपार्ने गरिएकाले सरोवरको सतह बढेपछि पानी अट्ने क्षमता साँघुरिँदै गएको हो । सुरुमा कुलेखानी जलाशयमा ८५ दशमलव ३ मिलियन क्युसेक पानी अट्थ्यो । त्यो क्षमतामा ह्रास आएर अहिले ५९ दशमलव ९९ मिलियन क्युसेकमा झरेको छ । कुलेखानी सञ्चालनमा आएको ४१ वर्षमा १३ मिटरभन्दा बढी जलाशयको पिँधको सतह वृद्धि भएको बताइएको छ । सरोवरको सतह बढेकाले जलाशयको पानी संकलन गर्ने क्षमतामा ३० प्रतिशत गिरावट आएको हो । विद्युत् उत्पादनमा पनि ३० प्रतिशतले ह्रास आएको छ ।
जलाशयको पानी क्षमतामा ह्रास आएपछि सुरुको अवस्थाको तुलनामा विद्युत् प्राधिकरणले वार्षिक करिब ३५ करोड रुपैयाँ नोक्सानी बेहोर्दै आएको छ । २०३९ सालमा कुलेखानी जलविद्युत् आयोजना प्रथम सञ्चालनमा आउँदा जलाशयमा संकलित पानीमध्ये ५७ मिटर पानी विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिन्थ्यो । २०५० सालको बाढीपछि जलाशयमा संकलितमध्ये ५० मिटर मात्र पानी विद्युत् उत्पादन गर्न सकिन्थ्यो । अहिले ४६ मिटरमात्र पानी विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिन्छ । जलाशयमा ‘डेब्रिज’ यसरी थुप्रिँदै गएपछि विद्युत् उत्पादन गर्न प्रयोगमा आउने पानीको सतह घट्दै गएको छ ।