लागूऔषध सेवन गरी नशाको तालमा देवरले गरे भाउजुको हत्या

साझाकुरा
२०८१ चैत्र १३, बिहीबार १३:२१

लागूऔषध सेवन गरी नशाको तालमा हेटौंडा–१, चौकीटोलमा देवरले भाउजुको हत्या गरेको रहस्य खुलेको छ । २२ वर्षीय राहुल दासले बुधबार आफ्नी जेठी भाउजु ३५ वर्षीया गुडिया दासको खुकुरी प्रहार गरी हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरले राहुलसँग लिएको प्रारम्भिक बयान र उनको मेडिकल चेकजाँचबाट उनले लागूऔषध सेवन गरेको पुष्टी भएको हो । ‘उनी लागूऔषध सेवनकर्ता रहेछन् । उनले भाउजुको हत्या गरेको स्वीकारेका छन् ।’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले राहुलले आफूलाई परिवारले घृणाको दृष्टिले हेर्ने गरेको बताएका छन् ।

प्रहरी स्रोतका अनुसार उनले लागूऔषध सेवनका लागि भाउजुसँग पैसा माग्ने गरेका थिए । भाउजुले पैसा नदिने र कडाई गर्दा उनले आक्रोशमा खुकुरी प्रहार गरेको देखिन्छ । राहुलले माइलो दाइ २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी घाइते बनाएका थिए । ‘राहुलले आफू दाईबाट पनि सुरक्षित नभएको महसुस गरी मार्ने कोसिस गरेको बताएका छन् ।’, प्रहरी निरीक्षक सापकोटाले भने । घाइते रुपेशको हेटौंडा–१ स्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । उनको पाखुरामा गम्भीर चोट लागेको छ ।

दासको तीन दाजुभाइमध्ये जेठो रोशन दास रोजगारीको सिलसिलामा ५ महिनाअघि कतार गएका थिए । ३ सन्तानकी आमा गुडियालाई राहुलले खुकुरी प्रहार गरी घरमै हत्या गरेका हुन् । राहुलले गुडियाको टाउकोमा खुकुरी प्रहार गरी मारेर कोठमा उनको शव छोपेर राखेका थिए । बुधबार राति ९ बजेसम्म पनि गुडियासँग सम्पर्क नभएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घरको बन्द कोठा खोली हेर्दा मृत अवस्थामा शव फेला पारेको थियो । बुधबार राति ९ बजे उनको हत्या भएको प्रहरीले थाहा पाएपनि विहीबार विहान १० बजेमात्र उनको शव पोष्टमार्टका लागि हेटौंडा अस्पताल लगिएको छ ।

‘घटनाका कारण परिवार विक्षिप्त भएका छन् । त्यसकारण अन्य विषयमा हामीले अनुसन्धान गरेका छैनौं । राहुलको आफ्नै बुवासँग २ वर्षदेखि बोलचाल नै बन्द भएको रहेछ ।’, प्रहरी निरीक्षक सापकोटाका अनुसार लागूऔषध सेवनका कारण उनको परिवारमा सम्बन्धन विग्रिएको प्रारम्भिक अनुसन्धानमा देखिन्छ । हेटौंडामा तरकारी तथा फलफूलको थोक बजारमा दास परिवार फलफूलको व्यवसाय गर्दै आएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*