आर्थिकरुपमा विपन्न बालबालिकाको मुटुरोगको निःशुल्क उपचार हुने

हेटौंडा-सरकारले १५ वर्ष मुनिका आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाको मुटुसम्बन्धी रोगको उपचार निःशुल्क गर्ने भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा यो जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सरकारले १५ वर्ष मुनिका आर्थिकरुपमा विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्नेगरी शहीद गंगालाल अस्पताल सञ्चालक समितिबाट निर्णय गराएको बताएका छन् ।
उनले आर्थिक कठिनाइका कारण कुनैपनि बालबालिकालाई मुटु उपचारबाट वञ्चित हुन नदिने भन्ने सरकारको लक्ष बमोजिम यस्तो निर्णय गरिएको जानकारी दिए । कार्यक्रमका लागि मन्त्रालयले बजेट उपलब्ध गराउने, केही आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने निर्णय भएको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई ५ सय बालबालिकाको शल्यक्रिया सहितको मुटु उपचारको लागि प्रतिबालबालिका २ लाख ५० हजारको रुपैयाँ सहायता दिँदै आइरहेको उनले बताए । नेपालमा एक हजार बालबालिकामध्ये ८ देखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको अध्ययनले देखाएको डा. बुढाथोकीको भनाइ छ ।
उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई ५ सय बालबालिकाको शल्यक्रिया सहितको मुटु उपचारको लागि प्रतिबालबालिका २ लाख ५० हजारको रुपैयाँ सहायता दिँदै आइरहेको छ । नेपालमा एक हजार बालबालिकामध्ये ८ देखि १० जनामा मुटु सम्बन्धी समस्या देखिने गरेको अध्ययनले देखाएको छ ।’ उनले मस्कुलर डिस्टोफी रोगको पहिचान, उपचार र रोकथाम एवम् पुनःस्थापनका लागि नीति तथा कार्ययोजना तयार गर्न प्राध्यापक डा.जगदीशप्रसाद अग्रवालको संयोजकत्वमा सुझाव समिति गठन भएको समेत जानकारी दिए । मस्कुलर डिस्टोफी एक प्रकारको अनुवंशिक रोग हो । जसले शरीरका मांसपेशीहरुलाई क्रमशः कमजोर बनाउँछ, जसले हिँड्न, दौडिन र खेल्न कठिन हुन्छ । मुटुरोगका कारण ग्रामीण क्षेत्रका हजारौं बालबालिकाले अकालमा ज्यान गुमाउनु परेको अवस्था छ ।