सोनाम ल्होछारमा वृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने

साझाकुरा
२०८२ पुष १६, बुधबार ११:२९

हेटौंडा-नेपाल तामाङ घेदुङ, मकवानपुरगढी गाउँपालिका कार्यसमितिको आयोजनामा २८६२ औँ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछारको अवसरमा वृहत् सांस्कृतिक कार्यक्रम २०८२ आयोजना हुने भएको छ ।मंगलबार समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी माघ ३ गते कार्यक्रम हुने जानकारी गराएको हो । कार्यक्रम मकवानपुरगढी गाउँपालिका–१, रानीबासस्थित एग्रो टुरिजम पार्कमा आयोजना हुने समितिका अध्यक्ष सानोकान्छा थिङले जानकारी दिए ।

तामाङ समुदायको संस्कृति, कला, भेषभूषा र पहिचानको संरक्षण एवं प्रवद्र्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष थिङले बताए । तामाङ सेलोका चर्चित गायक प्रकाश तितुङ, सञ्जीव घिसिङ, बिक्रम लुङ्बालगायत अन्य कलाकारको गायन प्रस्तुतिरहनेछ । विविध सांस्कृतिक नृत्य प्रस्तुति हुने कार्यक्रमका कलाकार संयोजक एवं समितिका उपाध्यक्ष बिक्रम योञ्जनले जानकारी दिए ।

कार्यक्रममा सांस्कृतिक झाँकी प्रदर्शन, ताम्बा डम्फुरेको प्रस्तुति तथा लामाद्वारा विधिपूर्वक पूजा गरिने उपाध्यक्ष योञ्जनले बताए । कार्यक्रम सञ्चालनका लागि मकवानपुरगढी गाउँपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको र वडा नम्बर १ कार्यालयले विशेष सहयोग गरेको आर्थिक संयोजक राज स्याङ्तानले जानकारी दिए । आयोजकका अनुसार कार्यक्रम सञ्चालन गर्न करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कार्यक्रममा गाउँपालिकाको कृषि शाखाले रैथाने बाली, कोदो, फापर, गहुँ लगायत परिकारको स्टल राखी प्रदर्शन गरिने छ । पत्रकार सम्मेलनमा गढीका वडा नम्बर १ का वडाअध्यक्ष आइतसिंह लो, समितिका सल्लाहकार आकाश गोले, राजकुमार गोले लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*