१८ वर्षको संघर्षपछि मकवानपुर गढी–४ को घरघरमै खानेपानी

साझाकुरा
२०८२ पुष १६, बुधबार ११:१९

हेटौंडा- मकवानपुरगढी गाउँपालिका–४ का स्थानीय बासिन्दाले १८ वर्ष लामो संघर्षपछि पहिलोपटक घरघरमा धाराबाट खानेपानी पाउन थालेका छन् ।सुरुमा ५ हजार लिटर क्षमताको सानो ट्यांकीबाट सुरु गरिएको योजना विस्तार हुँदै हाल ६३ हजार लिटर क्षमताको ट्यांकी निर्माण गरिएको छ । प्रदेश सरकारको करिब ५६ लाख रुपैयाँ बजेट र स्थानीयको श्रमदानबाट आयोजना सम्पन्न भएको हो ।

अब गाउँमा २४ सै घण्टा नियमित खानेपानी आपूर्ति हुने अपेक्षा गरिएको छ । नयाँ खोरिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मंगलबार एक कार्यक्रमका बीच खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरेको छ । समिति अध्यक्ष पूर्णबहादुर भ्लोनको अध्यक्षता तथा प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा धारामा पानी प्रवाह गरेर आयोजना उद्घाटन गरिएको हो ।

कार्यक्रममा वडाअध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, वन उपभोक्ता समिति अध्यक्ष सर्कलाल लो, उपभोक्ता समिति सचिव सानुबहादुर तितुङ लगायतको उपस्थिति रहेको थियो । वडाअध्यक्ष तिमल्सिनाले पानीको अभावमा बितेका कठिन दिन सम्झँदै भने, ‘२०६१ सालमा दुई लाख रुपैयाँबाट योजना सुरु गरिएको थियो । सबै स्थानीयको सहकार्यले मात्र यो सम्भव भयो’ उनले पानीको दिगोपनाका लागि मितव्ययी प्रयोग गर्न आग्रह गरे ।

प्रदेशसभा सदस्य श्रेष्ठले आगामी दिनमा थप बजेटको पहल गर्दै वडालाई अझ सुविधा सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गरिन् । ‘पानी गाउँसम्म ल्याउन योगदान गर्न पाउँदा खुसी लागेको छ,’ उनले भनिन् ।खानेपानी योजना सफल बनाउन स्थानीय महिलाले बेल्चा चलाएर श्रमदान गरेका थिए । ट्यांकी निर्माणदेखि पाइप बिछ्याउनेसम्म महिलाको सक्रिय सहभागिताले योजनालाई गति दिएको स्थानीय बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*