कैलाशका मुक्तानले दिलाए नेपाललाई ३ पदक
हेटौंडा-भारतको वेस्टबंगालस्थित कालिम्पोङमा डिसेम्बर २१ र २२ मा सम्पन्न तेस्रो कालिम्पोङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा कैलाश गाउँपालिका–६ का अम्बर मुक्तानले नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन् ।उनले सिनियर पुम्से विधामा दोस्रो, सिनियर पुम्से पेयर विधामा दोस्रो र सिनियर स्पिड किक विधामा तेस्रो स्थान हासिल गर्दै नेपालका लागि ३ पदक जित्न सफल भएका थिए ।
मुक्तानको स्थायी घर कैलाश गाउँपालिका वडा नम्बर ६ पकनी भएपनि हाल उनी काठमाडौंमा बसोबास गर्दै आफ्नो खेलक्षेत्रलाई निरन्तर अगाडि बढाउँदै आएका छन् । उनले यसअघि पनि भारतका विभिन्न सहरमा आयोजित प्रतियोगितामा सहभागी भई नेपालको लागि पदक जितिसकेका छन् ।मुक्तान हाल नागार्जुन नगरपालिका–७ रामकोटस्थित थ्री ब्रदर तेक्वान्दो डोजाङका डोजाङ प्रमुख हुन् । उनी राष्ट्रिय रेफ्री तथा प्रशिक्षक रहेका छन् ।







