हेटौंडा–६ रामनगरमा हर्षोल्लासपूर्वक मनाए तमु ल्होसार

मौलिक सांस्कृतिक पहिचान झल्किने घाँटु र कौडा नृत्य प्रस्तुत
साझाकुरा
२०८२ पुष १६, बुधबार ११:१६

हेटौंडा-गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँवर्षको स्वागतकारुपमा मंगलबार तमु ल्होसार पर्व हर्षोल्लासपूर्वक मनाएका छन् । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँवर्षकारुपमा विशेष महत्वका साथ मनाउने परम्परा रहेको छ । पर्वको अवसरमा तमु ल्होसार मूलसमारोह समिति मकवानपुरको आयोजनामा हेटौंडामा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । हेटौंडा उपमहानगरपालिका–६, रामनगरस्थित प्रस्तावित तमु सामुदायिक भवन निर्माणस्थलमा हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुखआतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख लामाले भाषा, संस्कार र संस्कृतिको संरक्षणमा सबैको साझा दायित्व रहेको बताइन् । उनले तमु ल्होसारले आपसी एकता, सद्भाव र सामाजिक सहकार्यलाई थप मजबुत बनाउने उल्लेख गरिन् ।

सबै जातजाति तथा समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षणमा उपमहानगरपालिका सदैव प्रतिबद्ध रहेको नगरप्रमुख लामाको भनाइ थियो । कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर दाहाल, थारु कल्याणकारी परिषद्का केन्द्रीय सदस्य जानकी चौधरी लगायतले मन्तव्य राखेका थिए । जिल्ला कार्यसमिति अध्यक्ष केशरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न ल्होसार विशेष कार्यक्रममा पुरुष छेलो प्रतियोगिता आयोजना गरिएको थियो भने गुरुङ समुदायको मौलिक सांस्कृतिक पहिचान झल्किने घाटु र कौडा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रम स्थलमा गुरुङ समुदायका मौलिक परिकारका स्टल राखिएका थिए ।

संस्कृतिको संरक्षण गर्न प्रदेश सरकार तयार : मुख्यमन्त्री बानियाँ- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेशभित्र बसोबास गर्ने जातजातिका संस्कृतिको संरक्षण गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।मुख्यमन्त्री बानियाँले गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको भन्दै अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान भएको बताए । यहाँका प्रत्येक जातजाति र समुदायका आआफ्नै सांस्कृतिक महत्व बोकेको मौलिक परम्परा रहेको शुभकामना सन्देशमा भनिएको छ । उनले बागमती प्रदेश सरकार धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै सबै समुदायबीच एकता र सहअस्तित्व कायम राख्न प्रतिबद्ध रहेको बताए ।

उनले शुभकमना सन्देश मार्फत् प्रदेशभित्र बसोबास गर्ने जातजातिका संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्दै तिनको विकासका लागि आवश्यक सहयोग गर्न सदैव तयार रहेको विश्वास दिलाए । मुख्यमन्त्री बानियाँले साँस्कृतिकरुपमा धनी तमु (गुरुङ) समुदायले संस्कृतिको संरक्षण एवम् प्रवद्र्धन गर्नका लागि आफ्नो सांस्कृतिक परम्परा, प्रथा एवम् चालचलनलाई व्यवस्थित गर्नका लागि गरिएका प्रयास अनुकरणीय रुपमा स्थापित हुँदै आएका भन्दै तमु ल्होसार २०८२ पर्वले सबै किसिमका असमानता अन्त्य गर्न प्रेरणा दिन विश्वास व्यक्त गरे ।

उनले यस पर्वले सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई हाम्रो सामाजिक सद्भाव कायम राख्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र सुदृढ गर्न र समाजवादको लक्ष्य हासिल गर्न हामी सबै नेपाली एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्ने अपेक्षासहित तमु ल्होसारको शुभकामना व्यक्त गरे ।

हाम्रा मौलिक चाडपर्व सम्पन्नताका परिचायक:प्रदेशप्रमुख देवकोटा – बागमती प्रदेशका प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले हाम्रा मौलिक चाडपर्वहरु सम्पन्नताका परिचायक भएको बताएका छन् । तमु ल्होसार पर्वको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले विविधताबीचको अभूतपूर्व एकता र मेलमिलाप हाम्रो गौरव भएको ररहनुपर्ने बताए ।

‘सम्पन्नतालाई आर्थिक समृद्धिमा मात्र नहेरी मौलिक कला, संस्कृति र रहनसहनसँग जोडेर हेर्नुपर्दछ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक सम्पदाका धनी हामी नेपाली भौतिक समृद्धिको उच्चतम विन्दुमा पुगेका राष्ट्रका जनताभन्दा खुशी र समृद्ध छौँ’ उनले शुभकामना सन्देशमा भनेका छन् । यो पर्व नेपालको मुख्यतया पहाडी क्षेत्रमा बसोबास गर्ने संस्कृतिका धनी गुरुङ समुदायद्धारा नयाँ वर्षको रुपमा मनाइने गरिन्छ । तमु ल्होसार तमु अर्थात गुरुङ समुदायको महान चाड हो ।

प्रदेशप्रमुख देवकोटाले शुभकामना सन्देशमार्फछ तमु ल्होसार पर्वले एकता, सहकार्य र विकासको मार्गमा डो¥याई स्थिरता, शान्ति र समृद्धि हासिल गर्ने हेतु अघि बढ्न सम्पूर्ण नेपालीलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । तमु ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*