अनुदानको मल वितरणमा डिजिटल प्रणाली

साझाकुरा
२०८२ पुष १५, मंगलवार ११:४८

हेटौंडा-कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानको रासायनिक मल वितरण प्रक्रिया थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘अनुदानको मल वितरण सूचना प्रणाली’ सञ्चालनमा ल्याएको छ ।मन्त्रालयले मल खरिद तथा बिक्रीवितरण कार्यमा हुने अनियमितता रोक्न र किसानको पहुँच सहज बनाउन यो डिजिटल प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिएको छ ।

यो प्रणाली मार्फत अब मल आयात, वर्तमान मौज्दात (स्टक) र बिक्रीवितरणको अद्यावधिक विवरण जुनसुकै समयमा हेर्न सकिने व्यवस्था गरिएको छ । विशेषगरी बजारमा मल वितरण गर्दा विक्रेताले गर्ने पक्षपात, तोकिएको भन्दा बढी मूल्य लिने र अनधिकृत व्यक्ति वा संस्थालाई मल बेच्नेजस्ता गुनासा सम्बोधन गर्न यो प्रणाली प्रभावकारी हुने मन्त्रालयको विश्वास छ ।

यस प्रणालीको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको कुनैपनि सहकारी वा फर्मले पाएको कोटाको मल कुनकुन किसानलाई कति परिमाणमा बिक्री गरियो भन्ने विस्तृत विवरण अब सर्वसाधारणले प्रत्यक्ष हेर्न पाउनेछन् । वेबसाइटको ‘हाम्रो सेवाहरु’ भित्र रहेको ‘अनुदानको मल वितरण सूचना प्रणाली’ मा क्लिक गरी स्थानीय तह छनोट गरेपछि त्यसक्षेत्रको मलको स्टक र बिक्री विवरण खुल्ने छ । मन्त्रालयका सूचनाअधिकारी महानन्द जोशीका अनुसार मल विक्रेता सहकारी र फर्मले मलको स्टक र बिक्रीसम्बन्धी विवरण अनिवार्य र नियमित यस प्रणालीमा प्रविष्ट गर्नुपर्ने छ ।

विक्रेताले विवरण प्रविष्ट गरेपछि मात्र प्रणालीमा देखिने भएकाले यस कार्यमा जिम्मेवार हुन मन्त्रालयले सचेत गराएको छ । मन्त्रालयले किसानलाई पनि डिजिटल सुविधाको भरपुर उपयोग गर्न र मल वितरणकार्य पारदर्शी बनाउने सरकारको प्रयासमा सहयोग गर्न आह्वान गरेको छ । यो व्यवस्थाले मल वितरणमा हुने कालोबजारी र पहुँचवालाको दबदबा अन्त्य भई वास्तविक किसानले समयमै मल पाउने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*