बागमतीको विशेषाधिकार समितिबारे कोशी प्रदेशको चासो
हेटौंडा- बागमती प्रदेशसभाको शिक्षा, स्वास्थ्य तथा कृषि समिति र कोशी प्रदेशसभाको सामाजिक विकास समितिबीच अन्तरप्रदेश अनुभव आदानप्रदान भएको छ ।सोमबार प्रदेशसभा सचिवालयमा अनुभव आदानप्रदान कार्यक्रम भएको हो । कार्यक्रममा कोशीका सामाजिक विकास समिति सदस्यहरुले बागमती प्रदेशसभा अन्र्तगत रहेका विशेषाधिकार समितिको औचित्यबारे जिज्ञासा राखेका थिए । कोशीका प्रदेशसभा सदस्य तिलाचन पाठकले विशेषाधिकार समितिको अभ्यास नभएको जिकिर गरेका छन् । उनले विशेषाधिकार समितिको उपलब्धिबारे जानकारी पाए कोशीमा पनि समिति निर्माण गर्न मद्दत पुग्ने बताए । बागमती प्रदेशमा कामको आधारमा संसदीय समितिको नामाकरण भएको भन्दै उनले प्रशंसा गरे ।
पुरानै नियमावलीमा काम गर्नुपर्दा केही असहज भएको उनले गुनासो गरे । सरकारको अस्थिरताको कारण पनि समितिलाई चलायमान बनाउन कठिन भएको उनले बताए । प्रदेश सांसद् पाठकले प्रदेशसभाले बनाएका कानुनले जनतामा पारेका प्रभावबारे अध्ययन गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय कृषिअनुदान दुरुपयोग हुँदै गएको उनले धारणा राखे । कोशी प्रदेश चिया, अलैंची उत्पादनको लागि प्रख्यात भएपनि मिल्क होलिडेको समस्या रहेको उनले बताए । स्थानीयस्तरमा प्रदेश सरकारले गरेका लगानीको अवलोकन हुन नसकेको उनले जिकिर गरे । स्थानीयस्तरका उत्पादन प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।
त्यसैगरी अर्का सदस्य सपना दर्जीले दलित अधिकार ऐन अझै टेबल हुन नसकेको बताइन् । यद्यपि ऐनमाथि छलफल जारी रहेको र ड्राफ्ट पनि तयार भएको उनले बताइन् । बागमती प्रदेशसभा सदस्य शुष्पा भुजेल न्यौपानेले प्रदेशसभा नियमावली बमोजिम नै विशेषाधिकार समिति गठन गरेको बताइन् । गण्डकी प्रदेशमा पनि यो समिति गठन भएको उनले बताइन् । प्रदेशसभा सदस्यहरुको विशेष अधिकार हनन् भएको अवस्थामा समितिले सहजीकरण गर्ने उनले उल्लेख गरिन् ।
उनले विशेषाधिकार समिति अन्य संसदीय समिति भन्दा फरक किसिमको भएको धारणाराखिन् । त्यस्तै प्रदेशसभा सदस्य समिता खड्गीले प्रदेशबाट स्थानीय तहमा धेरै बजेट गएपनि त्यसको अपनत्व कसैले लिन नखोजेको बताइन् । प्रदेश सरकारको स्थानीय तहमा गएको बजेट अलपत्र अवस्थामा रहेको उनले बताइन् । कार्यक्रममा प्रदेश सचिवालयका सचिव पूर्णबहादुर दर्जीले उत्तरविधायिकी परीक्षणलाई बागमती प्रदेशले अगाडि बढाएको बताए । सरकारले बनाएका कानुनलाई जिल्लाजिल्लामा गएर सरोकारवालासँग छलफल गरेको उनले बताए ।
स्थानीय र प्रदेश तहमा बनेका कानुनमा कस्तो भिन्नता छ ?, त्यसबारे पनि छलफल गरिएको उनले बताए । विद्यमान कानुनमा कस्तो परिमार्जन आवश्यक छ ? र अब बन्ने कानुन कस्तो हुनुपर्छ ? भन्ने विषयमा सरोकारवालासँग अन्तरक्रिया गरिएको उनको भनाई छ । अन्तरक्रियाबाट प्राप्त सुझावलाई सम्बन्धित मन्त्रालयमा पठाउने गरेको उनले बताए । यस्तै प्रदेशसभाका सचिव रामकुमार पौडेलले संविधानले तोकिएको काम अझै पनि गर्न नसकिएको बताए ।
बागमतीको हेटौंडा र कोशीको विराटनगर औद्योगिक नगरीः सभापति मण्डल
कार्यक्रममा कोशीका सामाजिक विकास समितिका सभापति गयानन्द मण्डल गनगाईले बागमती प्रदेश सरकारको कार्यविधिबारे जान्न बुझ्न आपूmहरुले अवलोकन गरेको बताए । बागमतीको हेटौंडा र कोशीको विराटनगर औद्योगिक नगरी भएको उनले बताए । युवाहरु विदेशिने समस्यालाई हल गर्न पनि यी दुबै प्रदेश समृद्ध हुनुपर्ने उनले बताए । सभापति मण्डलले कोशीमा तरकारी खेतीको लागि उर्बर भूमि भएको बताए ।
जनतालाई उत्पादनस“ग जोड्न नमूना वडा कार्यक्रम सुरुः सभापति ढकाल
बागमतीका शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकालले राजनीतिक परिवर्तनपछि जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नमूनायोग्य कार्य भइरहेको बताए । परिवर्तनको प्रतिफल जनताले कतिसम्म प्राप्त गरेका छन् ?, त्यसको मूल्याङकन गर्न अझ पनि बाँकी रहेको उनले बताए । महिलालाई उद्यमशील बनाउन गृहिणी महिला कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।
सभापति ढकालले जनतालाई उत्पादनसंग जोड्न नमुना वडा कार्यक्रम सुरु भएको उल्लेख गरेका छन् । सो कार्यक्रमको लागि प्रत्येक वडामा १ करोड बजेट छुट्याइएको उनले बताए । किसानलाई उत्पादनको आधारमा अनुदानको व्यवस्था गर्ने नीति अपनाइएको उनले बताए । सभापति ढकालले सीमान्तकृत चेपाङ समुदायको जीवनस्तर उकास्न चेपाङ चिउरी कार्यक्रम सञ्चालन गरिएको बताए । दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न दुधमा अनुदानको व्यवस्था गरिएको उनको भनाई छ ।
सभापति ढकालले बेमौसमी तरकारी उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न टनेलको व्यवस्था गरिएको बताए । उनले कृषि अनुदानलाई दुरुपयोग गर्ने किसानलाई कारवाही गरिने व्यवस्था लागु गरिएको जिकिरगरेका छन् । शिक्षाको गुणस्तर सुधार गर्न आवासीय मोडेलको व्यवस्था गरिएको उनले बताए । सभापति ढकालका अनुसार बागमती प्रदेशमा ५ वटा आवसीय विद्यालय रहेका छन् । ९३ जना प्रदेश सांसद् रहेको कोशी प्रदेशको सामाजिक विकास समितिले वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत बागमती प्रदेशमा अनुभव आदानप्रदान कार्यक्रम गरेको छ ।







