कक्षा १२ को परीक्षा स्थगित, बैशाख २१ बाट हुने

हेटौंडा-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित मितिमै सञ्चालन गर्न सबै संयन्त्र प्रयोग गर्ने निर्णय गरेकै दिन परीक्षा स्थगित गरेको छ । बोर्डले बैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा बैशाख २१ देखि गर्ने भएको छ । शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा सञ्चालन गर्न अन्योल सिर्जना भएपछि परीक्षा सार्ने निष्कर्षमा परीक्षा बोर्ड पुगेको हो । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको जानकारी दिएका छन् । आउँदो बिहीबारबाट हुने परीक्षा अब बैशाख २१ गतेबाट हुने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।
मंगलबार विहान बसेको बोर्ड बैठकले कर्मचारी परिचालन गरेरै भएपनि तोकिएकै दिन आउँदो बिहीबार परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । बोर्डको यो निर्णयप्रति चौतर्फी आलोचना भएपछि बोर्डका अध्यक्ष शर्मा सहितको टोली बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न पुगेको थियो । छलफलमा प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएको बताइएको छ । यसअघि विहानको बोर्ड बैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लामा रहेको जिल्ला परीक्षा समन्वय समितिलाई सम्पूर्ण जिम्मा दिएर निजामति कर्मचारी परिचालन गरी परीक्षा संचालन गर्ने निर्णय गरेको परीक्षानियन्त्रक कृष्ण शर्माले बताएका थिए ।
नेपाल शिक्षक महासंघले परीक्षा सञ्चालनमा सहभागी नहुन शिक्षक कर्मचारीलाई आह्वानगरेको थियो । चैत २० गतेबाट काठमाडौं केन्द्रित सडक प्रर्दशन गर्दै आएको महासंघले २५ गतेबाट शैक्षिक हड्ताल घोषणा गरेको थियो । यसबीचमा शिक्षकहरुसँग सहमति गर्ने शिक्षामन्त्री विद्या भट्टराईको प्रयास सफल हुन नदिएपछि उनले स्वास्थ्यको कारण देखाएर राजीनामा दिइसकेकी छन् । यो पटक कक्षा १२ को परीक्षामा पाँच लाख विद्यार्थी सहभागी हुँदैछन् । परीक्षाका लागि जापान सहित एक हजार पाँच सय ९१ परीक्षाकेन्द्र निर्धारण गरिएको थियो । त्यति नै संख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष परीक्षामा संलग्न हुने योजना थियो । परीक्षामा दुई हजार कर्मचारी, २० हजार
सुरक्षाकर्मी परिचालन हुने परीक्षा बोर्डको तयारी थियो ।
यस्तै नतिजा प्रकाशनमा शिक्षकको असहयोग घोषणाकाकारण कक्षा १० को अन्तिम परीक्षा दिएर बसेका पाँच लाख १४ हजार विद्यार्थीको उत्तरपुस्तिका परीक्षणको काम पनि ठप्प भएको छ । शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयमा पढ्ने ५५ लाख बालबालिकाको पढ्न नपाएको भन्दै आलोचना भइरहेको छ । तत्कालै विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने शिक्षकको माग संसदीय प्रक्रियामा रहेकोले पेचिलो बन्दै आएको छ । विधेयकमाथि संसदीय समितिमा छलफल भइरहेको र ऐन निर्माणको प्रक्रिया छिटो पूरा गर्ने प्रधानमन्त्री ओलीले बताउँदा समेत शिक्षक महासंघले सडक आन्दोलनलाई निरन्तरता दिएको छ ।
प्रधानमन्त्री ओलीसँग शिक्षक नेताहरुको शुक्रबार मध्यरातसम्म छलफल भएको थियो । वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षाको व्यवस्थापन र सञ्चालनमा शिक्षक सहभागी नभए अरु संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा सञ्चालय गर्ने निर्णय बोर्डले गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् स्थानीय निकायलाई पत्राचार गरेको थियो । यसअघि परीक्षा सञ्चालनमा खटिने जनशक्तिका लागि तालिम हुने गरेको थियो तर, यसपटक शिक्षकहरु आन्दोलनमा भएकाले तालिम भएको थिएन । शिक्षक महासंघले भने परीक्षा नै बहिस्कार गर्ने अडान कायम राखेको छ ।
‘दुईदिन बाँकी छ । यस्तो समयमा बोर्डले परीक्षा गर्ने निर्णय ग¥यो भने हामी असहयोग गर्छौं, शैक्षिक हड्ताल कायमै छ,’ शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले भने । शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि शिक्षक तथा कर्मचारीले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण कक्षा १२ को परीक्षा हुने कि नहुने ? भन्ने अन्योल भएका बेला मंगलबार बिहान परीक्षा बोर्ड बैठकले निर्धारित मितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । मंगलबार राति परीक्षा १० दिनका लागि स्थगित गर्ने सूचना गरेको छ ।
निजामति कर्मचारी परिचालन अमान्य: ट्रेड युनियन
निजामति कर्मचारी ट्रेड युनियनले कक्षा १२ को परीक्षा संचालनमा निजामति कर्मचारी परिचालन गर्न खोजिएको भनेर असन्तुष्टि जनाएको थियो ।मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा युनियनका नेताहरुले असन्तुष्टि जनाएका हुन् । ‘१२ कक्षाको परीक्षामा निजामति कर्मचारी परिचालन गर्न खोजिएको छ, त्यसमा हाम्रो असहमति छ,’ नेपाल निजामति कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष उत्तम कटुवालले भनेका थिए । शिक्षकको आन्दोलनप्रति आफूहरुको पूर्णसमर्थन रहेको भन्दै उनले शिक्षक आन्दोलन कमजोर बनाउने प्रयासलाई समर्थन गर्न नसकिने बताए ।
१२ को परीक्षा प्रक्रियामा सहभागी हुन शिक्षकलाई धम्की आयो : महासंघ
राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट शिक्षकहरुलाई धम्की आएको भन्दै नेपाल शिक्षक महासंघले यस्तो कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै ११ वैशाखदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षाकेन्द्र रहेका विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई बोर्डका पदाधिकारी र जिल्ला प्रशासनबाट धम्कीसहित परीक्षा प्रक्रियामा सामेल हुन दबाव आएको जनाएको छ ।
विगत २२ दिनदेखि काठमाडौंमा आन्दोलन जारी रहेको भन्दैमहासंघले कक्षा १२ को परीक्षा प्रक्रियामा कुनैपनि हालतमा सहभागी नहुन प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीलाई आग्रह गरेको छ ।महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै कक्षा १२ को केन्द्र तोकिएका विद्यालयका केन्द्राध्यक्षलाई काठमाडौं केन्द्रित सडक आन्दोलमा आउन आह्वान गरेको छ ।