संघीय प्रहरी ऐन नआउँदा प्रदेश प्रहरीमा द्विविधा भयो : मन्त्री लामिछाने महिला प्रहरी ब्यारेकको उद्घाटन

साझाकुरा
२०८२ बैशाख ११, बिहीबार ११:००

हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा निर्माण गरिएको सुविधा सम्पन्न महिला प्रहरी ब्यारेक भवनको उद्घाटन गरिएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने र बागमती प्रदेश प्रहरीप्रमुख कृष्णहरि शर्माले बुधबार संयुक्तरुपमा भवनको उद्घाटन गरेका हुन् । तीनतले ब्यारेक भवन कुल एक करोड ९५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । २०८० साल असोज ८ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर र गौरीगणेश कन्ट्रक्नसन रौतहटबीच १ करोड ९१ लाख रुपैयाँमा सम्झौता भएपनि पछि केही डिजाइन थपघट गर्नुपर्ने भएकोले १ करोड ९५ लाख रुपैंयाँ लागतमा निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्वराज खड्काले जानकारी दिए ।

आरसीसी स्ट्रक्चर अवधारणा अनुसार ५०४.०९ वर्गमिटर क्षेत्रफलमा भवन निर्माण गरिएको हो । यस भवनको भुईतलामा ब्यारेक–२, सभाहल–१ रशौचालय÷स्नानगृह–२, पहिलोतलामा शौचालय र स्नानगृहको सुविधा सहित प्र.ह.÷प्र.ज.महिला ब्यारेक–२ वटा र अन्तिमतलामा जु.प्र.अ महिला ब्यारेक–१ वटा, शौचालय÷ स्नानगृह सहित सि.प्र.अ. महिला व्यारेक–१, शौचालय र स्नानगृह–२ वटा व्यवस्थापन गरिएको छ । नयाँ भवन निर्माणसँगै महिला प्रहरीको लागि अनुकूल वातावरण निर्माण भएर कार्यसम्पादन उत्कृष्ट हुने प्रमुख खड्काको विश्वास छ ।

खड्काले जिल्ला प्रहरी कार्यालय र यस अन्तर्गतका इकाइको लागि आवश्यक स्रोतसाधान व्यवस्थापन गर्न मन्त्री लामिछानेलाई आग्रह गरे । कार्यक्रममा नवनिर्मित महिला भवन निर्माणकार्यमा योगदान प¥याउने गौरीगणेश कन्स्ट्रक्सनका संचालक पवनकुमार मिश्रलाई प्रशंसापत्र प्रदान गरिएको थियो । त्यसैगरी प्रहरी वरिष्ठहवल्दार ज्ञानबहादुर राई र प्रहरी हवल्दार असर्फिलाल साहलाई प्रशंसापत्र सहित नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ललित घलान, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्णबहादुर शाही, हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, १ नं. वडाअध्यक्ष सविन न्यौपाने, १० नं. वडाअध्यक्ष फुर्वादोर्जे लामा, ११ नं. वडाअध्यक्ष जुना दाहाललगायतको उपस्थिति रहेको थियो ।

संघीय प्रहरी ऐन नआउँदा प्रदेश प्रहरीको सम्बन्धमा द्विविधारहेको छः मन्त्री लामिछाने

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले संविधानमा व्यवस्था भए बमोजिमको अधिकारको प्रत्यायोजना अझै हुन नसकेको बताएका छन् ।संघीय प्रहरी ऐन नआउँदा प्रदेश प्रहरीको सम्बन्धमा द्विविधा रहेको उनले बताए । जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा निर्माण गरिएको सुविधा सम्पन्न महिला प्रहरी ब्यारेक भवनको उद्घाटन गर्दै उनले प्रहरी संगठन प्रभावकारी हुन कानुन, नीति,रणनीति, योजना स्पष्ट रुपमापारिभाषित हुनुपर्ने बताए । संघीयताको सफल कार्यान्वयनको लागि पनि प्रदेश प्रहरीको सम्बन्धमा सबै गम्भीर हुनुपर्नेमा उनको जोड थियो ।

‘गत मंसिर २७ गते मात्र मन्त्रालयले संघीय राजधानी काठमाडौंमा तीनवटा सुरक्षा निकायका प्रमुख, ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री, संघीय गृहमन्त्री र गृहसचिवको उपस्थितिमा शान्तिसुरक्षा, प्रहरी समायोजन, विपद् उद्दारको विषयमा छलफलको आयोजना गरिएको थियो’ मन्त्री लामिछानले भने ‘विभिन्न बैठक, कार्यशाला गोष्ठीमा प्रहरी समायोजनको विषयलाई उच्चप्राथमिकता दिएको छु ।’ मन्त्री लामिछानेले प्रहरी संगठनभित्र पनि केही समस्या रहेको जिकिर गरे ।

प्रहरी संगठनमा प्रवेशपछि ज्ञान र सीपमा सीमितता रहेको गुनासो सुन्ने गरेको उनले बताए । सीमित स्रोत साधनको बाबजुद काम गर्नुपर्ने बाध्यता प्रहरी संगठनमा रहेको उनले बताए । मन्त्री लामिछानले अन्य सेवा जस्तो सुनिश्चित्तता नहुदा प्रहरी संगठनमा नैराश्यता पैदा हुने गरेको बताए । मन्त्री लामिछानले मकवानपुरको हटियामा निर्माण हुने प्रदेश प्रहरी अस्पताललाई समेत सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे । बहुवर्षीय योजनामा अघि बढाइएको यस अस्पतालका लागि चालु आर्थिक वर्षमा चार करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय नेपाल प्रहरीको क्रियाशीलता र सेवाप्रवाहमा कमी नहोस् भनेर प्रदेश सरकारले लगानी गरिरहेको उनले दाबी गरे । मन्त्री लामिछानेले प्रहरी सेवा र पूर्वाधारमा कमी नहोस् भनेर प्रदेश सरकारले २०७५ सालदेखि निरन्तर लगानी गर्दै आएको बताए । मन्त्री लामिछानेका अनुसार, हालसम्म प्रदेश सरकारले नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्माणमा ३ अर्ब ४७ करोड २२ लाख रुपैयाँ लगानी गरिसकेको छ । चालु आर्थिक वर्षमा मात्रै १८ वटा प्रहरी भवन निर्माणका लागि १० करोड ४४ लाख रुपैयाँ तथा भवन संरचनागत सुधारतर्फ थप तीन करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री लामिछानेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*