बागमती प्रदेश सरकारले लाइसेन्स, ब्लूबुक छाप्ने
हेटौंडा- लाखौंको संख्यामा सवारीचालकले अनुमतिपत्र नबीकरण गरेपछि वषौंंसम्म राजश्व तिरेको रसिदको भरमा सवारी चलाउनु परिरहेको छ । बागमती प्रदेश सरकारले लाइसेन्स र ब्लू बुकको डिजिटल कार्ड छाप्ने भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले विद्युतीय बोलपत्र आह्वान गर्दै तीनवटा लेजर प्रिन्टर (कार्ड छाप्ने मेसिन) खरिदको लागि सूचना जारी गरिसकेको छ । लेजर प्रिन्टरबाट लाइसेन्स (सवारीचालक अनुमतिपत्र) र ब्लू बुक (सवारी दर्ता प्रमाणपत्र) को डिजिटल कार्ड छापिने यातायात मन्त्री प्रेमभक्त महर्जनले जानकारी दिए । मन्त्रालयले वैशाख ४ गते नै डिजिटल कार्ड खरिदको लागि बोलपत्र आह्वान गरेको हो ।
लाइसेन्सको लागि २ लाख ३५ हजार कार्ड र ब्लू बुकको लागि ३ लाख कार्ड खरिद गर्न बोलपत्र आह्वान गरिएको मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए । यसअघि यातायात व्यवस्था विभागले लाइसेन्सको डिजिटल कार्ड छापेर सम्बन्धित यातायात कार्यालयमा पठाउने गरेको थियो । बागमती प्रदेशको १२ लाख थान लाइसेन्स कार्ड छापिन बाँकी रहेको पौडेलले बताए ।
विभागले चैतसम्मको कार्ड छापेर पठाउने जानकारी गराएकाले वैशाखदेखिको कार्ड मन्त्रालय आफैंले छाप्ने पौडेलले जानकारी दिएका छन् । चैतसम्मको कार्ड विभागले पठाएमा वैशाख देखिको लाइसेन्सको २ लाख कार्डले एक वर्ष धान्ने अनुमान मन्त्रालयले गरेको छ । ब्लू बुकको लागि १५ लाख कार्ड आवश्यक रहेको पौडेलले बताए । मन्त्रालयले प्रदेशका तीन जिल्लामा लेजर प्रिन्टर (मेसिन)राखेर कार्ड छपाइको कार्य गर्ने योजना बनाएको छ ।
बागमती प्रदेशका १३ जिल्लालाई भौगोलिक दृष्टिले पायक पर्नेगरी चितवन, काठमाडौं र भक्तपुरमा मेसिन राखिने योजना रहेको सूचनाअधिकारी पौडेलले बताए । आगामी आर्थिक वर्ष २०८२÷८३ को साउनबाट कार्ड छापाइको काम नियमित हुने उनको भनाइ छ । यातायात मन्त्रालयले विगतका वर्षहरुमा पनि आफैं कार्ड छपाइ गर्ने योजनाले बजेट छुट्याउँदै आएको थियो ।
यसअघि कार्ड छाप्ने योजना कार्यान्वयनमा जान नसक्दा वर्षेनी बजेट फ्रिज भएको सूचनाअधिकारी पौडेलले बताए । चालु आर्थिक वर्ष २०८१÷८२ मा मन्त्रालयले मेसिन खरिदमा ४ करोड २० लाख र कार्ड खरिदमा ८ करोड बजेट बिनियोजन गरेको थियो । मन्त्रालयले आफ्नै ‘बागमती ईडीएल (इलेक्ट्रोनिक्स ड्राइभिङ लाइसेन्स) प्रणाली समेत निर्माण गरेको छ । आगामी वैशाख १९ गते प्रदेशको आफ्नै यातायात प्रणालीको उद्घाटन गर्ने तयारी रहेको मन्त्री महर्जनले जानकारी दिए । यो सफ्टवेयरबाट यातायात क्षेत्रको सबै काम गर्न सकिने उनको भनाइ छ ।
राष्ट्रिय परिचयपत्रसँग जोडिएकाले व्यक्तिको फोटो, वैयक्तिक विवरण स्वतः प्रणालीले प्राप्त गर्न सक्नेगरी विकास गरिएको मन्त्री महर्जनको भनाइ छ । बागमती प्रदेशभित्रका सेवाग्राहीले अब डिजिटल कार्डमा लाइसेन्स मात्र नभई, ब्लू बुक पनि पाउने भएका छन् । लाइसेन्स र ब्लू बुकको डिजिटल कार्डमा चिप्सलाई हटाएर क्यूआर कोड राखिने तय भएको मन्त्रालयका सचिव वीरेन्द्रदेव भारतीले जानकारी दिए । सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को दशौं संशोधनबाट क्यूआर राख्न सकिने कानुनी बाटो खुलेको हो ।
सवारी तथा यातायात व्यवस्था (दशौं संशोधन) नियमावली, २०८१ ले चालक अनुमतिपत्र विद्युतीय अनुमतिपत्र (इलेक्ट्रोनिक स्मार्ट कार्ड वा क्यूआर कोडसहितको कार्ड) को रुपमा दिनुपर्ने व्यवस्था गरेको छ । बागमती प्रदेश सरकारले नागरिक एपको डिजिटल लाइसेन्सलाई गत कात्तिकमा मान्यता दिइसकेको छ । नागरिक एपलाई अपडेट गरेर लाइसेन्स लिंक गरिएको थियो । सवारी नियम उल्लंघन गरेको अवस्थामा नागरिक एपबाटै जरिवाना तिर्न सकिने बनाइएको मन्त्री महर्जनले बताए । यातायात क्षेत्रको सबै काम डिजिटल सुविधामा लगिने योजनामा मन्त्रालय लागेको उनले बताए ।
यसैगरी, मन्त्रालयले सवारी साधनको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेसन) को काम गरिरहेको छ । गत २०८१ फागुन ५ गतेबाट मन्त्रालयले १ सय ३७ जना डाटा इन्ट्रीकर्ता छनोट गरी ३६ लाख ढड्डालाई डिजिटल प्रणालीमा प्रविष्ट गर्दैछ । यो कार्य सम्पन्न हुन २ वर्ष लाग्ने र त्यसपछि यातायात क्षेत्र पूर्ण डिजिटलमैत्री हुने मन्त्री महर्जनको भनाइ छ ।







