कुलेखानी सिस्नेरी छैमले सडकको पुनःनिर्माणकार्यको अनुगमन

समय लम्ब्याउने काम भए कारवाही गर्ने मन्त्री मास्केको चेतावनी
साझाकुरा
२०८२ बैशाख १६, मंगलवार १०:२८

हेटौंडा- गत असोजको बाढीबाट क्षतिग्रस्त कुलेखानी–सिस्नेरी–छैमले सडक पुनःनिर्माणकार्यको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केले अनुगमन गरेका छन् ।मन्त्री मास्केसहित काठमाडौं दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेत, मन्त्रालयका सचिव अमृत श्रेष्ठ, यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक नवीन सिंह, प्रदेश राजधानी पूर्वाधार विकास विषेश आयोजनाप्रमुख देवनारायण यादवलगायतले अनुगमन गरेका थिए । मन्त्री मास्केले हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सिस्नेरी–दक्षिणकाली सडक खण्डको लेनडाँडा, छैमलेलगायत क्षेत्रमा सडक निर्माणको क्रममा भएका अवरोध तथा समस्याबारे जानकारी लिएका थिए । उनले यो क्षेत्रका स्थानीय तथा जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरेका थिए ।

मन्त्री मास्केले कुलेखानी सिस्नेरी खण्डका विपद् प्रभावित ३ खण्डको स्थलगत अवलोकन गरेका थिए । विपद्बाट क्षती पुगेको यो सडकको ३ खण्डमा ठेक्का लगाएर पुनःनिर्माणको काम भइरहेको छ । यो ठेक्काको गुणस्तर, प्रगति, तथा व्यवस्थापनको विषयमा मन्त्री मास्केले अनुगमन गरेका हुन् । प्रदेश राजधानी पूर्वाधार विकास विशष आयोजनामार्फत् ठेक्का लागेर सडकको पुनःनिर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ ।

गत असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण यो सडक खण्डको ३ स्थानमा सडक बगाएको थियो । कुलेखानी जलाशयको पानीलाई निकास दिने क्रममा यो सडक खण्डको ३ स्थानमा करिव १ किलोमिटर सडक बगाएको थियो । जसमध्ये कुलेखानी जलाशय मुनीको सिमखोला पुलमा क्षती पुग्नुको साथै पहूँचमार्ग बगाएको थियो भने सिस्नेरी बजारमा २५० मिटर र ज्यामिरे खण्डमा ७०० मिटर सडक बगाएको थियो ।

यो खण्डको सडक बगाउँदा प्रदेश सरकारको २० करोड रुपैयाँको आर्थिक क्षती भएको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठले बताए । ट्रयाकसमेत नभेटिने गरी बाढीले सडक बगाएपछि करिव एक महिना हेटौंडा–काठमाडौं सम्पर्क समेत टुटेको सचिव श्रेष्ठले बताए । तत्कालका लागि सडक खुलाउन सिस्नेरी खोलाको बगरबाट नै यातायात संचालनको व्यवस्था गरिएको छ । हाल यो सडक अन्तर्गतको ज्यामिरे र सिस्नेरी खण्डको लागि २ वटा ठेक्का सम्झौता भइ काम जारी रहेको उनले बताए । यो खण्डमा प्लम्प वाल सहित मेसिनरी वाल लगाएर सडकको ट्रयाक निर्माणको काम भइरहेको छ भने सिमखोलामा बेलीब्रिज हाल्ने कार्य अघि बढाइएको छ । आगामी असारसम्ममा ट्रयाक तयार गरी ग्राभेल सडकबाट यातायात संचालनको तयारी मन्त्रालयले गरिरहेको छ ।

निर्माण व्यवसायीलाई कार्ययोजना सहित काम गर्न निर्देशन गरिएको सचिव श्रेष्ठले बताए । अनुगमनका क्रममा मन्त्री मास्केले ठेक्का लागेका क्षेत्रको काम छिटो सक्न निर्देशन दिएका छन् । नागरिकको सहज यात्राका विषयमा कुनै बहनाबाजी नगरी काम गर्न मन्त्री मास्कले निर्देशन दिए ।मन्त्रालय र मातहतका निकायले ठेक्का लगाएका क्षेत्रमा भएका काम गुणस्तरीय र पारदर्शी गर्न उनले आग्रह गरे । निर्माण व्यवसायीको भुक्तानी तथा समन्वयमा प्रदेश सरकारबाट कुनै समस्या नहुने उनले बताए । निर्माण व्यवसायीले कुनैपनि बाहनामा काममा आलटाल गर्न नहुने उनको भनाई छ । समस्या भएका स्थानमा स्थानीय तह, प्रदेश सरकार लगायत निकायले समन्वय गर्ने मन्त्री मास्केले बताए ।

नागरिकलाई समस्यामा राख्ने, आलटाल गरेर समय लम्ब्याउने काम निर्माण व्यवसायीबाट भएमा मन्त्रालयले कारवाही गर्ने मन्त्री मास्केले चेतावनी दिए । अनुगमनका क्रममा मेयर बस्नेतले सडक निर्माणका क्रममा भएका समस्याका विषयमा छलफलमा आउन उनले आग्रह गरे । केही स्थानमा स्थानीयबाट सडक निर्माणमा भएको अवरोध हटाउन र सहज वातावरण तयार गर्न आफूहरु तयार रहेका उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*