हेटौंडामा जमिन मुनी हराएको गाडीको भूगर्भविद्‍ले थाले अध्ययन

साझाकुरा
२०८२ बैशाख २३, मंगलवार ११:५१

हेटौंडा – हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडाको सिमानामा पर्ने गैरीगाउँमा जमिन भासिएर गाडी नै बेपत्ता भएको क्षेत्रको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली आइपुगेको छ । नारायण अधिकारीको नेतृत्वमा विभागको चार सदस्यीय टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थालेको हो । भूगर्भविद अधिकारीका अनुसार घटना स्थलको भू–बनोट भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र लगायत विषयमा अध्ययन केन्द्रित हुने छ ।

घटनास्थलको माटोको सतह र घटनाको कारणबारे तथ्यांकीय अध्ययन गर्ने अधिकारीले जानकारी दिए । प्रोटोन म्याग्नेटो मिटरको प्रयोग गरी चुम्बकीय क्षेत्र र अन्य पदार्थको अवस्था सम्बन्धी अध्ययन गरिने छ । शुक्रबार दिउँसो ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बोलेरो पिकअप गाडी गुड्दागुड्दै जमिनमा भासिएर बेपत्ता भएको गाडी धनी हरिराम राईले बताएका छन् । सो गाडीको खोजी जारी राखिए पनि अहिलेसम्म भेटिएको छैन ।

गाडी भासिएको त्यो ठाउँमा अहिले ठूलो खाल्डो परेको छ र त्यो खाल्डो धमिलो पानीले भरिएको छ । बाटोमा गुडिरहेको गाडी भासिएर जमिनमुनि हराएको घटनाले धेरैको ध्यान तानेको छ । गाडी हराएको दुई दिनपछि  हेटौंडा उपमहानगरपालिकामा विपद व्यवस्थापन समितिको बैठक बसेर भूगर्भविदको सहयोग लिने निर्णय भएको थियो । सोही अनुसार भूगर्भविदको टोली हेटौंडा पुगेर अध्ययन थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*