कैलाशका विद्यालयमा स्थानीय पाठ्यपुस्तक वितरण : कलासंस्कृति, ऐतिहासिक विषयवस्तु समेटिएको दाबी

साझाकुरा
२०८२ जेष्ठ ३, शुक्रबार ११:०१

हेटौंडा-मकवानपुरको कैलाश गाउँपालिकाले स्थानीय विषयवस्तुमा आधारित ‘हाम्रो कैलाश’ नामक पुस्तक विद्यालयलाई वितरण गरेको छ । विहीबार गाउँ शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले विद्यालयका प्रध्यानाध्यापकलाई पुस्तक वितरण गरेका हुन् । पुस्तक वितरण गर्दै अध्यक्ष मुुक्तानले कैलाशमा रहेका कला, संस्कृति, ऐतिहासिक तथा पर्यटकीय विषयवस्तु समेटिएको पुस्तकले बालबालिकामा कैलाशबारे ज्ञान रहने बताए । पुस्तकमा स्थानीय रहनसहन, जातजाति, कलासंस्कृति, परम्परालगायत यहाँको भौगोलिक अवस्थाबारे सबै बालबालिकामा थाहा हुने गरी विज्ञबाट पुस्तक तयार पारिएको उनको भनाई छ ।

अध्यक्ष मुक्तानले समग्र कैलाशको शिक्षामा सुधार ल्याउनुपर्ने बताउँदै परीक्षामा धेरै कुरा ख्याल गर्नुपर्ने बताए । कक्षा ८ को परीक्षा समीक्षा समेत रहेकाले अध्यक्ष मुक्तानले नतिजाअनुरुप शिक्षामा गुणस्तर नभएको देखिन्छ, त्यसतर्फ शिक्षाको क्वालिटीमा सुधार ल्याउन विद्यालय प्रध्यानाध्यापकलाई आग्रह गरेको बताए । ‘भौगोलिक विकटा छ, विद्यार्थी र शिक्षक नै आवतजावतमा समस्या छ, त्यसमा पनि विज्ञान, गणित, अंग्रेजी विषयशिक्षक अभावमै पठनपाठन गराउनुपर्ने हाम्रो बाध्यता रहेको छ,’ उनले भने ।

गाउँपालिकाले शिक्षामा पर्याप्त लगानी गर्दै आइरहेको गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बताए । विद्यार्थीहरु विद्यालयमा टिकाउन हम्मेहम्मे परिरहेको अवस्थामा पनि पालिकामा क्रमिक रुपमा शिक्षामा सुधार हुँदै आइरहेको उनको भनाई छ । ‘शिक्षक अभावकै कारण कतिपय विषयगत शिक्षक बाहेकले पनि अध्यापन गराउँदै आइरहेको अवस्था छ, के गर्नु ? भौगोलिक विकटता छ, शिक्षक आउनै मान्दैनन्,’ उपाध्यक्ष मल्लले भने । गाउँपालिकामा १० वटा निमावि तथा मावि तहका विद्यालय छन् ।

कक्षा ६, ७ र ८ का विद्यार्थीका लागि हाम्रो कैलाश पुस्तक गत शैक्षिक सत्रबाट पठनपाठन सुरु भएको शिक्षा, युवा तथा खेलकुद शाखाप्रमुख समीर जोशीले बताए । ‘हामीले गतवर्षबाट सुरु ग¥र्यौं, यसवर्ष पुस्तक पनि प्रकाशन भयो, अब विद्यार्थीले पुस्तक नै हेरेर पढ्नेछन्,’ जोशीले भने । गतवर्षको ईएमआएस प्रणालीमा दर्ता भएको तथ्यांकको आधारमा कक्षा ६ मा ४ सय ४१, कक्षा ७ मा ३ सय ९४ र कक्षा ८ मा ४ सय ५ जना विद्यार्थीको लागि भर्नापुस्तक प्रकाशित गरिएको जोशीले बताए ।

कार्यक्रममा कक्षा ८ को अन्तिम परीक्षाको समीक्षा गरिएको छ । ईएमआइएस प्रणालीमा तीन सय ९८ विद्यार्थी दर्ता भएता पनि परीक्षामा तीन सय ४४ जना विद्यार्थी सहभागी रहेको शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र अधिकारीले बताए । परीक्षामा सहभागीमध्ये एक सय ८१ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण हुनेमा ५२ दशमलब ६ प्रतिशत रहेको उनले बताए ।

परीक्षाको अन्तिम नतिजामा एनजी आउने एक सय ६३ जना रहेका छन् । ३ दशमलब ४० जिपिए भन्दा बढी ल्याउने विद्यार्थीको संख्या भने १५ जना रहेको अधिकारीले बताए । कार्यक्रममा प्रमुख प्रशासकीयअधिकृत अमुल श्रेष्ठ, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जोशी, प्राविधिक सहायक अधिकारी, विद्यालय स्रोतशिक्षक ध्रुवराज विष्टलगायत विद्यालयका प्रअहरुको उपस्थिति रहेको थियो ।

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै स्थानीय तहले पाठ्यक्रम तयार पारेर लागू गर्नु पर्ने व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दफा ११ को ज (४) मा मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमनसम्बन्धी व्यवस्था गरी स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न सकिने भएपछि मकवानपुरका पालिकाहरुले आफ्ना विद्यालयमा स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याएका छन् ।

स्थानीय पाठ्यक्रम विकास, निर्माण तथा कार्यान्वयनमा राष्ट्रिय पाठ्यक्रमले निर्देश गर्छ । स्थानीय पाठ्यक्रम निर्माणका समयमा देखिएका आवश्यकता एवम् मागलाई राष्ट्रिय पाठ्यक्रम विकासको आधार बनाउन सकिन्छ । यसबाट राष्ट्रिय पाठ्यक्रम र स्थानीय पाठ्यक्रमलाई एकअर्काका परिपूरकका रुपमा बुझ्न सकिन्छ । पाठ्यक्रमको स्थानीयकरणले केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका विषयवस्तुलाई समेट्न सहयोग गर्छ । यसले पाठ्यक्रमलाई समसामयिक, सान्दर्भिक, लचिलो, खुला, सन्तुलित, लोकतान्त्रिक र स्थानीय मूल्य मान्यताअनुरुप बनाउँछ ।

त्यस्तै यसले सरोकारावालाको सक्रिय सहभागिताको अपेक्षा गर्दछ र निर्णय प्रक्रियामा सबै पक्षको अर्थपूर्ण सहभागिता गराउँछ । स्थानीय पाठ्यक्रमले स्थानीय ज्ञान, बुद्धि, सीप र प्रविधिलाई उजागर गर्दछ । स्थानीय मूल्य, मान्यताको संरक्षण र संबद्र्धनमा सहयोग पु¥याउँदै तिनको हस्तान्तरणमा योगदान पु¥याउँछ । पाठ्यक्रमको स्थानीयकरणले शिक्षकको क्षमता र दक्षता अभिवृद्धि गराउने, विद्यालयसँग पाठ्यक्रम निर्माण गर्ने संस्थागत क्षमता विकास हुने, समुदाय र विद्यालयको सम्बन्ध सुधार हुने र अभिभावकले समेत पाठ्यक्रम निर्माण र कार्यान्वयनमा चासो राख्ने तथा पाठ्यक्रम निर्माण, कार्यान्वयनदेखि अनुगमन मूल्यांकन सम्मका कार्यमा स्थानीय सरोकारवालाको सहभागिता अभिवृद्धि हुन्छ ।

यी सबै प्रक्रियाको नतिजास्वरुप विद्यार्थीमा व्यावहारिक परिवर्तन भई सिकाइ उपलब्धिमा बढोत्तरी हुने अपेक्षा गर्न सकिन्छ । स्थानीय पाठ्यक्रम, पाठ्यपुस्तक तयार गर्दा स्थानीय विषयबिज्ञलाई नै जिम्मेवारी दिने सरकारको लक्ष्य एबम् उद्देश्य छ । अधिकांश पालिकाले स्थानीय धार्मिक, सांस्कृतिक, सामाजिक विषयलाई पाठ्यक्रममा समाबेश
गरेका छन् । विद्यार्थीको रुची र उनीहरुलाई आयआर्जनको सीपसँग जोड्ने विषयबस्तुमा ध्यान पु¥याउन सकेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*