मुख्यमन्त्रीलाई गाउँपालिका महासंघको सुझाव पत्र
हेटौँडा- गाउँपालिका महासंघ बागमती प्रदेशले स्थानीय तहका तर्फबाट प्रदेश सरकारको बजेट कार्यक्रम र सेवा प्रवाहका सम्बन्धमा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ समक्ष सुझाव पत्र प्रस्तुत गरेको छ । गाउँपालिका महासंघ बागमती प्रदेशले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिहरुलाई सेवा प्रवाह र कानुन निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री लामालाई संघीयता कार्यान्वयनमा देखिएको समस्या समटिएको सुझाव हस्तान्तरण गरेका हो ।
सुझाव पत्र हस्तान्तरण गर्दै महासंघका अध्यक्ष कणबहादुर थापा मगरले विकास आयोजना तथा कार्यक्रमको तर्जुमा, प्राथमिकीकरण र व्यवस्थित गर्न आयोजना बैंकलाई प्रभावकारी बनाउन आवस्यक रहेको बताएका थिए । स्थानीय तहलाई पनि आ–आफ्नो आयोजना बैंक निर्माण गर्न प्रदेशले सहजीकरण र मार्गदर्शन गर्नुपर्ने, आयोजना बर्गीकरण मापदण्ड २०८० को दफा ६ मा संघले ३ करोड र प्रदेशले १ करोड भन्दा माथीका आयोजना मात्र छनौट गर्ने व्यवस्था भएकाले सोही अनुुसार अघि बढ्नुपर्ने अध्यक्ष थापाले बताए । साना आयोजना स्थानीय सरकारबाट कार्यान्वयन गर्नेगरी वित्तीय हस्तान्तरणमार्फत् अघि बढाउनुपर्ने उनको भनाई थियो ।
स्थानीय सेवा ऐनका व्यवस्था कार्यान्वयनमा कठिनाइ भएको उल्लेख गर्दै अध्यक्ष थापाले चौथो तहमा सेवा प्रवेश नहुने व्यवस्था र पाँचौ तहमा दरबन्दी स्वीकृत गरेर प्रदेश लोक सेवा आयोगमा पठाउँदा पद दर्ता नभएको कारण स्थानीय सरकारमा सहायक कर्मचारीहरुको अभाव देखिएको जानकारी गराए । स्थानीय सेवा ऐनलाई संशोधन गर्ने वा पाँचौ तहलाई पद दर्ता गर्ने विकल्पमा तत्काल जानु पर्नेमा उनले मुख्यमन्त्री लामाको ध्यानाकर्षण गराए ।
स्थानीय सरकारको विधायिकी अभ्यासलाई परिपक्व बनाउन प्रदेशसभा र गाउँ÷नगर सभाबीच नियमित अन्तरक्रिया र समन्वय गर्ने व्यवस्था नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने, स्थानीय तहबाट जारी भएका कानुनहरुको प्रदेशमा अभिलेखीकरण गर्नुपर्ने, जारी गरेका कानुनहरुको उत्तर विधायिकी परीक्षण गर्ने कार्यको थालनी गर्नुपर्ने, प्रदेश र स्थानीय तहको संयुक्त लगानी र स्वामित्व हुनेगरी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विकास गर्नुपर्ने सुझाव महासंघका तर्फबाट अध्यक्ष मगरले प्रस्तुत गरेका थिए ।
यसैगरी आम नागरिकको जीवनस्तर उकास्ने र उत्पादनमा जोड दिनुपर्ने, दिगो प्रकृतिका आयोजना तथा कार्यक्रमलाई प्राथमिकता दिनपर्ने, स्थानीय तहबाट पठाइएका योजना बजेट विनियोजन गर्नुपर्ने, समानीकरण अनुदान र समपुरक कोषको बजेट सिलिङलाई बढाउनुपर्ने, मन्त्रालयहरुले जिल्लास्तरमा कार्यालयहरु राख्ने प्रवृतिले बनदगरेर त्यसता कार्यक्रमहरुलाई स्थानीय तहमा हस्तान्तरण गनरेर कार्यान्वयन गर्नुपर्ने, स्थानीय सरकारका जनप्रतिनिधिहरुको सेवा सुविधा सम्बन्धि कानुनमा समयानुकुल परिमार्जन गर्नुपर्ने महासंघको सुझाव रहेको छ ।
प्रदेश र स्थानीय तह बीच प्रभावकारी अन्तरसम्बन्ध स्थापित गर्न प्रदेश समन्वय परिषदलाई प्रभावकारी बनाउनु पर्ने, विषयगत क्षेत्रमा अन्तरसम्बन्ध र समन्वय गर्न विषयगत मन्त्रालयका मन्त्रीको संयोजकत्वमा स्थानीय तहका प्रतिनिधिहरु सम्मिलित विषयगत समिति गठन गर्नुपर्ने, प्रदेश समन्वय परिषदको अबको बैठकले आवश्यक कार्यविधि बनाएर विषयगत समितिको अवधारणा कार्यान्वयन गर्नुपर्ने उनको सुझाव छ ।
सुझाव पत्र बुझ्दै मुख्यमन्त्री लामाले पहुँचका आधारमा बजेट हाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा प्रदेश सरकार प्रतिवद्धरहेको बताए । पहँचका आधारमा आउने योजननाका कारण वर्तमान सरकारलाई बजेट सन्तुलन मिलाउनै चुनौती रहेको उनको भनाई थियो । मुख्यमन्त्री लामाले प्रदेश सरकारमा योजनाको संख्या अधिक हुँदा व्यवस्थापनमा समस्या भएको बताए ।







