बागमती सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
हेटौंडा- बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को कार्यक्रम बहुमतले पारित भएको हो । जेठ १४ गते प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि जेठ १९, २० र २१ गते छलफल भएको थियो । जेठ २१ गते मुख्यमन्त्री बहादुरसिंह लामाले छलफलको क्रममा उठेका जिज्ञाशाको जवाफ दिएसँगै नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रममाथि परेको संशोधनको प्रस्ताव प्रदेशसभाबाट बहुमतले अस्वीकृत भएको छ ।
मुख्यमन्त्री लामाले सबै सांसद्हरुको प्रतिनिधित्व हुने गरी नीति तथा कार्यक्रम ल्याएको बताएका छन् । बैठकमा सांसदहरुले उठाएका प्रश्नमा मुख्यमन्त्री लामाले जवाफ दिएका थिए । उनले सरकारको एकल अधिकारको क्षेत्रमा केन्द्रित भएर विकास निर्माणका काम गर्ने रणनीति लिएको उनले दाबी गरेका छन् । मुख्यमन्त्री लामाले भौतिक पूर्वाधारलाई व्यवस्थित गर्न पिटिएमटिका सडकलाई प्राथमिकताका साथ बजेटमा समावेश गर्ने सरकारको तयारी रहेको बताए । मुख्यमन्त्री लामाका अनुसार पटकपटकको ताकेतापछि प्रादेशिक संरचना निर्माणको लागि जग्गा प्राप्तिको काम अन्तिम चरणमा पुगेको छ ।
संघीय सरकारको आगामी क्याबिनेट बैठकबाट प्रादेशिक संरचना निर्माणको लाग जग्गा भोगाधिकारको निर्णय हुनेचरणमा रहेको उनले बताए । छलफलको क्रममा सांसद्हरुले
दिएको सुझावलाई बजेटमा समेट्ने पनि मुख्यमन्त्री लामाले प्रतिबद्धता व्यक्त गरे । नीति तथा कार्यक्रममा सरकारले सडक, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, कृषिक्षेत्रलाई प्राथमिकतामा राखेको छ । प्रादेशिक सडको गुरुयोजनाको अद्यावधिकगरी प्राथमिकताको आधारमा प्रादेशिक लोकमार्ग, प्रादेशिक मार्गहरुको विकास र स्तरोन्नति गरिने उल्लेख गरिएको छ । भौतिक पूर्वाधारको निर्माणमा स्वदेशी निर्माण सामग्रीको प्रयोगलाई प्राथमिकता दिई स्थानीय मौलिकता र वास्तुकलाको संरक्षणमा जोड दिने नीति लागु गरिने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
‘एक वडा एक कृषि कार्यक्रम’ अन्तर्गत निक्षेप तथा कर्जा सुरक्षण कोषसँगको साझेदारीमा कृषिमा लगानी अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा समावेशगरिएको छ । कृषिउत्पादन अभिवृद्धि गर्न प्रविधि र भौतिक पूर्वाधार निर्माणमा निजी, सहकारी क्षेत्रलाई समेत लगानी गर्ने वातावरणगरिने भएको छ । दिगो वन व्यवस्थापनको माध्यमबाट उत्पादन, उत्पादकत्व र वातावरणीय लाभ अभिवृद्धि गर्ने, व्यावसायिक पर्यापर्यटन विस्तार गर्ने कार्यक्रम सञ्चालन गरिने भएको छ ।
‘सबै नीतिमा स्वास्थ्य नीति’ कार्यक्रमको कार्यान्वयनलाई सरकारले निरन्तरता दिने भएको छ । एक जिल्ला एक स्वस्थ्यसहर अवधारणालाई सबै जिल्लामा सञ्चालन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । एक विद्यालय एक नर्स कार्यक्रमलाई समुदायस्तरमा विस्तार गरी क्षमता अभिवृद्धि सहित सञ्चालन गरिने नीति तथा कार्यक्रममा समावेशगरिएको छ । मुख्यमन्त्रीसँग जनता स्वास्थ्य कार्यक्रमलाई स्थानीय तहसँगको सहकार्यमा समुदायस्तरमा विस्तार गरिने भएको छ ।
महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र पुरुषमा हुने प्रोष्टेट क्यान्सरको पहिचान र रोकथाम गर्न निःशुल्क सेवाको व्यवस्था मिलाइने कार्यक्रममा समावेश गरिएको छ । बागमती प्रदेश विश्वविद्यालयको संस्थागत सुदृढीकरणको लागि उच्चस्तरीय जनशक्ति उत्पादनका लागि शैक्षिक कार्यक्रम सञ्चालन गरिने भएको छ । नीति तथा कार्यक्रममा व्यवसायिक शिक्षा र तालिमलाई एकद्वार प्रणालीबाट सञ्चालन गरी उद्यम र रोजगारीसँग जोड्न औद्योगिक प्रतिष्ठानसँग सहकार्य गरिने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् ।
प्रदेश सरकारले विपद् जोखिम न्युनीकरणको लागि विपद्को पूर्वतयारीमा जोड दिने भएको छ । प्रदेश गोदामघरमा उद्दार तथाराहत सामग्रीको उचित व्यवस्थापन गर्नुको साथै गोताखोरलाई आवश्यक उपकरणको प्रबन्ध गरिने भएको छ । त्यसैगरी प्रहरी समायोजनको लागि अन्य प्रदेशसँगको समन्वय र सहकार्यमा संघीय सरकारसँग पहल गरिने उल्लेख गरिएको छ ।भ्रष्टचारविरुद्ध शुन्य सहनशीलताको नीति लिई प्रादेशिक रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । प्रदेशसभाको अर्को बैठक जेठ ३० गते दिनको १ बजे बस्ने गरी स्थगित भएको छ । असार १ गते प्रदेश सरकारको बजेट प्रदेशसभामा प्रस्तुत हुनेछ ।







