५३ औं विश्व वातावरण दिवस मनाइयो, ७ जना सम्मानित
हेटौंडा-५३ औं विश्व वातावरण दिवस हेटौंडामा मनाइएको छ । टोल विकास संस्था नगरसमन्वय समितिको आयोजनामा सप्ताहव्यापी कार्यक्रम गरी दिवस मनाइएको हो ।
बिहीबार विश्व वातावरण दिवसको दिन वातावरणीय सचेतनामूलक बृहत¥याली, पुरस्कार वितरण र सम्मान कार्यक्रम सम्पन्न भएको हो । हेटौंडाका १९ वटै वडामा रहेका ३ सय ७६ टोल विकास संस्थाले आफ्नै क्षेत्रमा र हेटौंडाको मुख्य बजार वरपरका टोल विकास संस्थाले बजारक्षेत्रमा ¥याली निकालेर यो दिवस मनाएका हुन् । ‘प्लास्टिक प्रदुषण न्युनीकरणः हाम्रो दायित्व’ भन्ने नाराकासाथ यसवर्षको विश्व वातावरण दिवस मनाइएको हो । हुप्राचौरबाट सुरु भएको ¥याली शितलमहलचोक, पारिजातपथ, ओमभवन, बुद्धचोक हुँदै रोयल पार्टी प्यालेसमा गएर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रममा नगरको वातावरण संरक्षण तथा सरसफाईमा योगदान पु¥याएको भन्दै ७ जनालाई सम्मान गरिएको थियो । हेटौंडा–१ का विकास थापामगर, हेटौंडा–१० का वीरबहादुर लामा, निर्मला राई र इन्द्रकुमारी राई, हेटौंडा–२ की रिता पाण्डे, हेटौंडा–९ की बालकुमारी घलान र हेटौंडा–४ का ओम परियारलाई प्रशंसापत्रबाट सम्मानित गरिएको हो । सप्ताहव्यापीरुपमा आयोजना भएका विभिन्न कार्यक्रममा उत्कृष्ट हुने प्रतियोगीलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट ¥याली पुरस्कारतर्फ कालिकामाई टोल विकास संस्था हेटौंडा–८ प्रथम, मनकामना टोल विकास संस्था (ख) हेटौंडा–८ द्वितीय, विकास टोल विकास संस्था हेटौंडा–८ तृतीय, सिमलटार टोल विकास संस्था हेटौंडा–११, तपोवन टोल विकास संस्था हेटौंडा–१९, रुद्रेश्वर भजनमण्डली, स्वर्गद्वारी महिला पञ्चेबाजा र नेवा सांस्कृतिक पुचः सान्त्वना भएका छन् ।
प्रथम हुनेले नगद २० हजार, द्वितीय हुनेले १५ हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुनेले जनही ५ हजार नगद पाएका छन् । ¥यालीतर्फ सिद्धार्थ मावि. प्रथम, आधुनिक राष्ट्रिय मावि द्वितीय र लक्ष्मी मावि. तृतीय हुन सफल भएका छन् । प्रथम हुनेले नगद १५ हजार, द्वितीय हुनेले १० हजार, तृतीय हुनेले ७ हजार ५ सय पाएका छन् । त्यसैगरी चित्रकला प्रतियोगितामा जिएस निकेतनकी आरोही राउत प्रथम, तासिरकी दियाना उप्रेती दोश्रो, ब्रम्हदिकका प्रवेश श्रेष्ठ तृतीय भएका छन् । यस्तै, ‘यदि म हेटौंडाको मेयर भए भने म मेरो सहरलाई कसरी सफा र प्लास्टिकरहित बनाउँछु’ भन्ने विषयक भिडियो प्रतियोगितामा नवोदयका इतिस अधिकारी प्रथम, जिएस निकेतनकी आकांक्षा निरौला द्वितीय र नवोदयकै अभि बानियाँ तृतीय भएका छन् ।
विद्यालयस्तरीय खेर गएका वस्तुबाट उत्पादित सामग्रीको प्रतिस्पर्धामा नवोदय शिशुसदन प्रथम, आधुनिक राष्ट्रिय मावि द्वितीय, भुटनदेवी मावि तृतीय भएका छन् । प्रथम हुनेले नगद १० हजार, द्वितीय हुनेले ७ हजार ५ सय र तृतीय हुनेले ५ हजार पाएका छन् । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले नेपालको हिमालयहरु कालो हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । जलवायु परिवर्तनको कारण तापक्रम बढ्दा हिमालहरु कालो हुँदै गएको उनको भनाई छ ।
५३ औं विश्व वातावरण दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा मन्त्री सिलवालले तटीय क्षेत्रमा बसोबास गर्नेहरु जलवायु परिवर्तनको चपेटामा परेको जिकिर गरेका छन् । नेपालीहरुले खाँदै नखाएको विष भोग्नुपरेको उनको धारणा छ । विश्वसमुदायको सामु हरेक नेपालीले जलवायु परिवर्तनको असरलाई न्युनीकरण गर्नको लागि आवाज उठाउनुपर्नेमा उनले जोड दिए । मन्त्री सिलवालले प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहोर वातावरणीय दृष्टिले चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।
उनले विश्व वातावरण दिवसको सार्थकता आफैंबाट सुरु गर्नुपर्ने बताए । पृथ्वी सबैको साझा घर भएकोले यसलाई जोगाउनहरेकको भान्साघरमा प्लास्टिकजन्य वस्तुको प्रयोग नगर्न र गरिहाले पनि न्युन मात्रामा प्रयोग गर्न उनले आग्रह गरेका छन् । आगामी बजेटमा सरकारले प्लाष्टिक रहित वडा सुरु गर्ने योजना ल्याएको उनले दाबी गरे । हेटौंडाको १० नं. वडालाई प्लास्टिक रहित वडा बनाइने मन्त्री सिलवालले बताएका छन् । मन्त्री सिलवालले फोहोर व्यवस्थापनको प्रमुख जिम्मेवारी स्थानीय सरकारको भएको उल्लेख गरेका छन् । संघ सरकारसँग समन्वय गरेर वातावरणको क्षेत्रमा गर्नुपर्ने कार्य गर्न सरकार तयाररहेको उनले दाबी गरे ।
बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले मानव समुदायको गतिविधि वातावरणमैत्री हुनुपर्ने बताए । उनले कर्रा खोलाको फोहारलाई व्यवस्थापन गरी पर्यटकीयस्थल बनाउनपर्ने बताए । ८ वर्षअघि सुरु गरेको ट्रिटमेन्ट प्लान्ट छिटो सम्पन्न गर्न पनि उनले उपमहानगरपालिकालाई आग्रह गरे । हेटौंडालाई सुन्दर र व्यवस्थित बनाउने पहिलो दायित्व हेटौंडाबासीको नै भएको उनको भनाई छ । हेटौंडाको वातावरणलाई स्वच्छ बनाउन नसक्दा प्रदेश राजधानीको पहिचान नै गुम्नसक्ने भएकोले त्यसतर्फ सचेत रहन उनले आग्रह गरे । सांसद् श्रेष्ठले घरबाट निस्कने फोहोरलाई फ्याक्ने भन्दा पनि त्यसको पुनप्रयोग गर्नेतर्फ योजना बनाउनुपर्ने बताए ।
हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले विकसित हुँदै गएको हेटौंडा सहरलाई नमूना सहर बनाउनुपर्ने बताइन् । संविधानमै सहअस्तित्व, समन्वय र सहकार्यको व्यवस्था भएकोले प्रदेश राजधानीलाई व्यवस्थित बनाउन प्रदेश सरकारसँग सहकार्य गर्न उपमहानगर तयार रहेको उनले बताइन् । टोल विकास संस्था नगरसमन्वय समितिका अध्यक्ष ध्रुबप्रसाद अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा.केदार बराल, नगरप्रवक्ता तथा १ नं. वडाअध्यक्ष सविन न्यौपाने, २ नं. वडाअध्यक्ष विष्णुगोपाल महर्जन, ४ नं. वडाअध्यक्ष नवीन सिग्देल, १० नं. वडाअध्यक्ष फुर्वादोर्जे लामा, ११ नं. वडाअध्यक्ष जुना दाहालको आतिथ्यता थियो ।
नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष विष्णु दाहाल, नेकपा एमालेका जिल्ला सचिव सीता विष्ट, रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री सुमित्रा काफ्ले लगायत गैरसरकारी संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, टोल विकासका संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । संयुक्त राष्ट्रसंघको महासभाले घोषणा गरेको तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन संसारभर विश्व वातावरण दिवस मनाउने गरिएको छ । नेपालले यसै दिन अर्थात जुन ५ लाई विश्व वातावरण दिवसको रुपमा मनाउने गरेको छ ।







