एउटै भान्सामा पाँच हजार विद्यार्थीलाई दिवाखाजा खुवाइने
हेटौंडा-हेटौंडामा अब एउटै भान्सामा सामुदायिक विद्यालयका पाँच हजार विद्यार्थीलाई दिवाखाजा खुवाइने भएको छ ।हेटौंडा उपमहानगरपालिका–१७ मा रहेको बालबोध माध्यमिक विद्यालयस्थित मेगा किचेनमार्फत यो विद्यालयसहित आसपासका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दिवाखाजा व्यवस्थापन गरिने भएको हो । यसअघि प्रत्येक विद्यालयमा छुट्टाछुट्टै दिवाखाजाको व्यवस्था गरिँदै आएको थियो । संघीय सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ बाट सातै प्रदेशका एक÷एक स्थानीय तहमा मेगा किचन स्थापना गर्ने घोषणा अन्तर्गत हेटौंडाका पाँचवटा सामुदायिक विद्यालयका विद्यार्थी लाभान्वित हुने भएका हुन् ।
सरकारको कार्यक्रम अनुसार हेटौंडा–१७ स्थित बालबोध माध्यमिक विद्यालयमा एकीकृत भान्सा (मेगा किचन) स्थापना गरिएको छ । मेगा किचनमार्फत दिवाखाजा व्यवस्थापन गर्ने र खाजा बालबोध माविसँगै हेटौंडा–६ स्थित वंशगोपाल मावि, हेटौंडा–१६ स्थित जनप्रिय मावि, हेटौंडा–१८ स्थित ज्योति मावि र गोरक्षनाथ माविमा पु¥याइने छ ।हेटौंडा उपमहानगर शिक्षा विकास महाशाखाका प्रमुख सीताराम कोइरालाले नेपाल सरकारबाट संघीय ससर्त कार्यक्रम अन्तर्गत स्थानीय तहको साझेदारीमा मेगा किचनको स्थापना गरिएको बताएका छन् ।
भान्सा सञ्चालन गर्न ५० लाख रुपैयाँ प्राप्त भएको छ । मेगा किचन व्यवस्थापन गर्न बालबोध माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्षको संयोजकत्वमा अन्य विद्यालयका अध्यक्ष सदस्य रहने गरी समिति गठन गरिएको छ । मेगा किचन स्थापना र सञ्चालनसम्बन्धी कार्यक्रम कार्यसञ्चालन निर्देशिका, २०५१ बमोजिम प्राप्त भएको ५० लाख रुपैयाँ बालबोध माविलाई अनुदान निकासा उपलब्ध गराउने उपमहा नगरपालिकाले निर्णय गरेको छ ।
दिवाखाजा कार्यक्रमलाई प्रभावकारी बनाउन कक्षा पाँचसम्मका विद्यार्थीलाई खाजा उपलब्ध गराउने गरी दिवा खाजालाई व्यवस्थित गर्न सरकारले मेगा किचनको अवधारणा ल्याएको हो । हेटौंडा उपमहानगरका प्रवक्ता सविन न्यौपानेको अनुसार स्थानीय तहको साझेदारीमा मेगा किचनको स्थापना र सञ्चालनले विद्यार्थी र अभिभावकलाई सहज हुने बताए । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार मोरङको विराटनगर महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, मकवानपुरको हेटौंडा उपमहानगरपालिका, कास्कीको पोखरा महानगरपालिका, दाङको घोराही उपमहानगरपालिका, सुर्खेतको बीरेन्द्रनगर नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा मेगा किचन स्थापना र सञ्चालनका लागि छनोट भएका छन् ।
आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा विद्यालयका विद्यार्थीलाई पोषिलो, ताजा र गुणस्तरीय खाजा खुवाउन दिवाखाजा कार्यक्रम परिमार्जन गर्ने घोषणा गरिएको थियो । बजेटमा ७ वटै प्रदेशको एक÷एक वटा स्थानीय तहमा एकीकृत भान्साको अवधारणाअनुसार मेगा किचन कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गर्ने उल्लेख छ । हाल सरकारले कक्षा ५ सम्मका बालबालिकालाई दिवाखाजा खुवाउन विद्यालयमा नै दैनिक १५ रुपैयाँका दरले रकम उपलब्ध गराउँदै आएको छ ।
मेगा किचन अन्र्तगत स्थानीय तहका बालबालिकालाई स्थानीय उत्पादनमा आधारित खाजा एकद्वारप्रणालीमा खुवाउने लक्ष्य राखिएको छ । केन्द्रले मेगा किचेन स्थापना र सञ्चालनसम्बन्धी कार्यक्रमको कार्यविधि जारी गरिसकेको छ । कार्यविधिअनुसार स्थानीय तथा वा वडाभित्रको अगुवा विद्यालयमार्फत् केन्द्रीकृत खाजा आपूर्तिको प्रबन्ध गर्नुपर्नेछ । छनोटमा परेका स्थानीय तहले मेगा किचन कार्यक्रम सञ्चालन गर्ने स्थान, खाजा उपलब्ध गराउने विद्यार्थीको संख्या, खाजा बनाउने जनशक्ति तथा ढुवानी व्यवस्था, स्थानीय, स्वच्छ र पोषणयुक्त खाजा बनाउने विधि, प्रक्रियाको प्रतिबद्धता गरेका थिए ।







