‘दृष्टिकोण नकारात्मक हुँदा अहिलेको व्यवस्था र संविधान दुबै असफल हुन्छ’

साझाकुरा
२०८२ जेष्ठ २६, आईतवार १०:५७

हेटौंडा- हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले सकारात्मक समाज निर्माणमा सञ्चारकर्मीले भूमिका खेल्नुपर्ने बताएकी छन् ।नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजना एवम् हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा भएको सञ्चारक्षेत्रमा प्रविधिले ल्याएको चूनौती र अवसर विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले पछिल्लो समयमा समाजमा मानवता हराउँदै गएको बताइन् । नेताहरुको भिजनलाई तल्लो तहसम्म लैजाने पत्रकार भएको उनको भनाई छ । नगरप्रमुख लामाले देश र समाजप्रति हेर्न दृष्टिकोण नकारात्मक हुँदा अहिलेको व्यवस्था र संविधान दुबै असफल हुने उल्लेख गरिन् । समाजलाई सुसूचित गरेर नेतृत्वमा बसेकालाई जवाफदेही बनाउने गरी सञ्चारकर्मीले आफ्नो कलम चलाउनुपर्ने उनको जोड थियो ।

हिनता, त्रास र डरमा भएको नेतृत्वले समाजको विकास गर्न नसक्ने उनको भनाई छ । नगरप्रमुख लामाले समाजमा देखिएको विकृति विसंगतिलाई जरैदेखि उखेलेर फाल्नुपर्ने बताइन् । पत्रकारको विकास भएमात्र समाजको पनि विकास हुने उनको धारणा छ । पत्रकार महासंघका महासचिवरामप्रसाद दाहालले सुरक्षितरुपमा पत्रकारिता गर्ने वातावरण बनाउन राज्यलाई जवाफदेही बनाउनुपर्ने बताए । श्रमजीवि पत्रकार ऐनको कुनै पनि दफा सरकारले अहिलेसम्म कार्यान्वयन नगरेको उनको भनाई छ । महासचिव दाहालले सरकार मिडियाप्रति जिम्मेवार नभएको जिकिर गरे । देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न केन्द्रले पहल गरिरहेको उनले जानकारी दिएका छन् ।

महासचिव दाहालले प्रविधिको तीव्रतर विकासले पेशामा चुनौती थपेको बताए । सञ्चारकर्मीले पत्रकार आचारसंहिता र मूल्य मान्यतालाई ख्याल गर्नुपर्नेमा उनले जोड दिए । एआईलाई सम्बोधन गर्ने किसिमको आचारसंहिता बनाउने कि नबनाउने भन्ने विषयमा बहस गर्नुपर्ने उनले बताए । महासचिव दाहालले तीनवटै तहको सरकारले कानुनमार्फत् प्रेसलाई नियन्त्रण गर्न खोजेको आभास हुन थालेको उल्लेख गरे ।

बागमती प्रदेश अध्यक्ष कृष्ण सारुमगरले प्रविधिको तीव्र विकासले परम्परागतरुपमा पत्रकारिता गर्ने सञ्चारमाध्यम संकटमा परिरहेको बताए । नयाँ प्रविधिसँग परिष्कृत हुँदै जानुपर्नेमा उनको जोड थियो । डिजिटल युगमा पत्रकारिताले समाज रुपान्तरणको नयाँ दिशा लिनुपर्ने उनले धारणा राखे । कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले रचनात्मक पत्रकारिता, एआईले निम्त्याउने चूनौति र यसका सकारात्मक पक्षका विषयमा प्रस्तुतिकरण राखेका थिए भने नेपाल पत्रकार महासंघका महासचिव दाहालले पत्रकार आचारसंहिता र विपद् पत्रकारितासम्बन्धी प्रशिक्षण दिए ।

एआईसँग पत्रकारले सहकार्य गर्नुपर्छ : सञ्चार रजिष्ट्रार सापकोटाप्रशिक्षणको क्रममा सञ्चार रजिष्ट्रार सापकोटाले एआईसँग पत्रकारले उपेक्षा नभई सहकार्य गर्नुपर्ने बताए । एआईबाट पनि तर्सिन नहुने उनले बताए । एआईको उपयोग गरी पत्रकारिता पेशालाई अझ परिपक्व र व्यवस्थित गरी क्षमताको विकास गर्नुपर्ने उनको भनाई छ । सञ्चार रजिष्ट्रार सापकोटाले एआइले पुराना कामलाई विस्थापित गरी नयाँ कामको सिर्जना गर्ने उल्लेख गरे ।

प्रविधिमा आएको विकासलाई पत्रकारले आत्मसात गर्दै अगाडि बढद मात्र पेशाको स्थायित्व र दिगोपन हुने उनको धारणा छ । कन्टेन्ट र प्रविधिलाई सँगसँगै जोडेर लैजानुपर्नेमा उनले जोड दिए । सञ्चार रजिष्टार सापकोटाले समाधानमुखी पत्रकारिता गर्नुपर्नेमा जोड दिए । रचनात्मक पत्रकारिताको सैद्धान्तिक मैदान लोकतन्त्र भएकोले सम्भावित समाधानबारे उचित बहसको वातावरण बनाउन सञ्चारकर्मीले प्रयत्न गर्नुपर्ने उनले बताए ।

विपद् पत्रकारितामा पत्रकार धेरै पछाडि छन्ः महासचिव दाहालमहासंघका महासचिव दाहालले विपद् पत्रकारिताको क्षेत्र धेरै भएपनि त्यसमा पत्रकार पछाडि परेको बताएका छन् । उनका अनुसार विपद् पत्रकारितालाई विपद्को पूर्वतयारी, विपद्को समय र विपद् पछिको ३ चरणमा विभाजन गर्न सकिने छ । विपद्को समयमा समाजलाई आतंकित बनाउने सूचना दिन नहुने उनले बताए । महासचिव दाहालले विपद् पत्रकारितामा स्थानीयदेखि विश्वव्यापी समस्यालाई समावेश गर्नुपर्ने उल्लेख गरे । उनले अहिले सञ्चारगृहमा विपद्मैत्री पूर्वाधार नभएको बताएका छन् ।

महासचिव दाहालले विपद्को रिपोटिङ गर्दा प्रभावित समुदायको वास्तविकताबारे जानकारी राख्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, पत्रकार महासंघ बागमती प्रदेशका सस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष हरि हुमागाईं, पत्रकार महासंघ मकवानपुरकी सल्लाहकार अञ्जली थापा, पत्रकार महासंघका पूर्व अध्यक्ष भानुभक्त आचार्य,राममणि दाहाल, विभिन्न पत्रकार संगठनका अध्यक्ष एवम् प्रतिनिधिको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*