बेलिब्रिज राखेपछि कान्तिराजपथ सञ्चालनमा

साझाकुरा
२०८२ जेष्ठ २७, सोमबार ११:५१

हेटौंडा- बागमती नदीको बगुवा खोलामा बेलिब्रिज राखेपछि कान्तिराजपथ सञ्चालनमा आएको छ ।मकवानपुर र ललितपुरलाई जोड्ने स्थानमा शनिबारराति बेलिब्रिज जडानकार्य सम्पन्न भएपछि पुलबाट सवारीसाधन चल्न थालेका हुन् । कान्तिराजपथ सडक आयोजनाका प्रवक्ता ई. उपेन्द्र महरानका अनुसार आइतबार बिहान ९ बजेदेखि पुल पूर्णरुपमा सञ्चालनमा आएको हो । गतवर्ष असोज ११ र १२ गतेको बाढीले पुलको मकवानपुरतर्फको भाग भत्काएपछि डाइभर्सन मार्फत् सवारीसाधन सञ्चालन हुँदै आएका थिए । तर, डाइभर्सनगरिएको स्थानमा राखिएका ह्युमपाइप सानो बाढीले पनि बगाइदिने गरेकाले यात्रा अप्ठेरो हुने गरेको थियो ।

हालै बेलिब्रिज जडान गर्नका लागि चार दिनसम्म डाइभर्सनबाट पनि यात्रा गर्न रोक लगाइएको थियो । बेलिब्रिज जडानकार्य सम्पन्न भएर गाडी पनि चल्न थालिसकेकाले अब कान्तिराजपथमा यात्रा सहज हुने अपेक्षा छ । कान्तिलोकपथ बन्द हुँदा हेटौंडा–काठमाडौं र काठमाडौं–हेटौंडा चल्ने सवारीसाधनले कुलेखानी–कलंकी–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्दै आएका थिए ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको वागमती गाउँपालिका–२ बगुवा जोड्ने पुलमा जडान गरिएको बेलिब्रिज २४ दशमलब ४ मिटर लम्बाइ र ५ मिटर चौडाइको छ । निर्माणकार्यका लागि ठेक्का प्राप्त कम्पनीलाई करीब साढे एक करोड रुपैयाँको लागतमा जिम्मा दिइएको हो । कान्तिराजमार्ग सडक आयोजनाका प्रवक्ता ई. महरानका अनुसार बेलिब्रिजको भारबहन क्षमता ३० टन मात्र छ ।

सडक आयोजनाले मकवानपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर दुवैतर्फ मालबाहक सवारी साधनलाई निगरानी गर्न अनुरोध गरेको छ । मालवाहक सवारी (ट्रक÷ट्रेलर) को हकमा एकपटकमा एकतर्फी गुडाउनुका साथै अधिकतम कुल वजन ३० टन र अधिकतम प्रतिएक्सल वजन १० टनमात्र हुने गरी सवारीसाधन सञ्चालनको प्रबन्ध मिलाइएको प्रवक्ता महरानले बताए ।

‘१२ चक्के ट्रक खाली छ भने बेलिब्रिजले धान्छ तर, भारी बोकेको १२ चक्के गाडीलाई धान्दैन,’ प्रवक्ता महरानले भने ‘त्यसैले दुवै जिल्लाका सिडियो कार्यालयलाई पनि त्यो जानकारी गराएका छौं ।’ बाढीले बागमती खोलामाथिको पुलको मकवानपुरतर्फको १५ मिटर पहुँचमार्ग बगाएपछि सवारी आवागमनमा समस्या हुँदै आएको थियो । अस्थायी डाइभर्सन बनाएर सवारी सञ्चालन गरिए पनि पटक–पटकको बाढीले डाइभर्सन बगाउँदा केही दिनदेखि सडक खण्ड अवरुद्ध हुँदै आएको थियो ।

जेठ १५ गते बागमतीमा आएको बाढीले एउटा तेल ट्यांकर र एउटा डब्बा ट्रक बगाएको थियो । यसैबीच, कान्तिलोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिकातर्फ ठिंगन–बगुवा सडकखण्डको गँगटेनजिकै रहेको भ¥याङडाँडामा सडक चौडाइ विस्तारका लागि चट्टान कटानको काम सकिएको जानकारी आयोजनाले दिएको छ । यो क्षेत्रमा अब तत्काल कुनै सडक समस्या नरहेको बताइएको छ ।

सीमखोलामा ६० मिटर लामो बेलिब्रिज जडान हुनेईन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी जलविद्युत् आयोजना अन्तर्गत ड्यामको तल्लो भागमारहेको सीमखोलाको पुल पनि गत असोजको बाढीले क्षतिग्रस्त बनाएको थियो । ‘ओभरफ्लो’ रोक्न खोलिएको गेटका कारण पुलसँगै दायाँबायाँको पहुँचमार्ग बगाएपछि हाल डाइभर्सनबाट सवारी सञ्चालन हुँदै आएको छ ।

सीमखोलामा स्थायी सवारी आवगमन सहज बनाउन ६० मिटर लामो बेलिब्रिज जडान गरिने तयारी गरिएको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले जनाएको छ । निर्देशनालयका प्रमुख नवीन सिंहका अनुसार सीमखोलामा बेलिब्रिज जडानकार्यका लागि हेटौंडा–भीमफेदी–कुलेखानी सडकखण्डको घट्टेखोलाबाट १३ मिटर र माण्डुखोलाबाट ५० मिटर लामो बेलिब्रिज झिक्ने काम भइरहेको छ ।

बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री अमन मास्केका अनुसार १५ असारसम्म सीमखोलामा बेलिब्रिज राखेर सवारी सञ्चालन गर्ने लक्ष्य राखिएको छ । गौरव इन्जिनियरियर्स प्रालिले यो कामको ठेक्का एक करोड ८८ लाख रुपैयाँमा लिएको निर्देशनालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*