नेसनल नमोबुद्ध र सुमेरु सहकारीको अनियमितता छानबीनको बाटो खुल्यो

साझाकुरा
२०८२ जेष्ठ ३०, बिहीबार १०:५४

हेटौंडा- बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको नेसनल नमोबुद्ध र सुमेरु ऋण सहकारीमा भएको आर्थिक अनियमितताको छनबीनका लागि बाटो खुलेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले छनबीन गर्न समिति गठन गरेपछि त्यसलाई रोक्न सहकारी व्यवस्थापनपक्ष गत चैत २ गते रिट लिएर सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्चले रिट खारेज गरेपछि छानबीनको बाटो खुलेको हो । नमोबुद्ध र सुमेरु सहकारीको रिट निवदेन खारेज भएको छ । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेलगत्तै हुने भनिएको छानबीन रोक्न सहकारी व्यवस्थापनपक्ष रिट लिएर सर्वोच्च गएका थिए । रिट सोमबार खारेज भएको हो । सर्वोच्चका न्यायधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलाशले सोमबार रिट खारेज गर्ने फैसला गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले नमोबुद्ध र सुमेरु सहकारीको रिट निवेदन खारेज भएको बताए । उनले भने, ‘नमोबुद्ध र समेरु सहकारीको सर्वोच्चमा रिट निवेदन परेको थियो । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेलगत्तै हुने भनिएको छानबीन रोक्न भन्दै उनीहरु रिट लिएर सर्वोच्च आएका थिए । रिट सोमबार खारेज भएको छ ।’ मन्त्रालयले गत पुस २८ गते ती सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै आर्थिक अनियमितता छानबीन गर्न समिति गठन गर्ने तयारी गरेको थियो ।

सर्वोच्चको फैसला हालसम्म प्रदेशस्थित मन्त्रालय भने पुगेको छैन । मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले रिट निवेदन खारेजी फैसला भएको पत्र मन्त्रालय आइनपुगेको बताए । उनले भने, ‘नमोबुद्ध र सुमेरु सहकारी समस्याग्रस्त घोषणा भएको जानकारी छ । तर, यो विषयमा परेको रिट सर्वोच्च अदालतबाट खारेज भएको विवरण भने जानकारी भएन । सर्वोच्चको फैसला मन्त्रालय आइनपुगेको हुँदा पनि यस्तो भएको हुन सक्छ ।’समस्याग्रस्त घोषणा भएलगत्तै गत पुस २८ गते दुबै सहकारीमा तालाबन्दी गरिएको थियो ।

तालाबन्दीसँगै कार्यालयबाट कम्प्युटरका हार्डडिक्स र अन्य कागजात जफत गरिएको थियो । प्रदेशस्थित सहकारी रजिस्ट्रारको कार्यालयबाटै समस्या समाधान गर्ने वा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई सिफारिस गर्ने सम्बन्धमा अध्ययन हुँदै गर्दा व्यवस्थापनपक्ष रिट लिएर सर्वोच्च पुगेका थिए । त्योसँगै सबै प्रक्रिया अवरुद्ध भएको थियो । मन्त्रालयका अनुसार नमोबुद्धले करिब ११ हजार बचतकर्ताको एक अर्ब ५२ करोड डुबाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । सुमेरुले दुई अर्ब २५ करोड १४ लाख रुपैयाँ अपचलन गरेको बताइएको छ ।

सुमेरुसँग १३ अर्ब बढीको सम्पत्ति रहेको अनुमान गरिएको छ भने सात अर्बभन्दा बढीको दायित्व रहेको छ । सुमेरुविरुद्ध ८४८ जना बचतकर्ताले उजुरी दिएका छन् । मन्त्रालयको सहकारी महाशाखाका अनुसार हालसम्म बागमती प्रदेशमा ५ वटा सहकारी समस्याग्रस्त घोषित भएका छन् । नेश्नल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौं, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौं, सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लि. ललितपुर, दर्शन बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौं र सिभिल बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौं समस्याग्रस्त सहकारी घोषणा भएका छन् ।

बागमती प्रदेशमा रहेका ३ हजार २ सय २९ सहकारीमध्ये जेठ २५ गतेसम्म ३ सय ५१ वटा सहकारीविरुद्ध उजुरी परेका छन् । तीमध्ये ६० वटा प्रहरी अनुसन्धानमा छन् भने १४ वटा सहकारीको अनुसन्धान जिम्मा सीआईबीलाई दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*