हेटौंडामा दैनिक करिव ४ करोड लिटर पानी वितरण

साझाकुरा
२०८२ असार ३, मंगलवार १२:०५

हेटौंडा- हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक ३ करोड ७० लाख लिटर पानी वितरण गरिरहेको छ ।६ सय २८ किलोमिटर लामो पाइपलाइनमार्फत् दैनिक ३ करोड ७० लाख लिटर पानी उत्पादन भई २८ हजार ४ सय ६३ धारामा दैनिक सरदर ८ देखि १० घन्टा पानी वितरण भइरहेको छ । हाल बोर्डले ३९ वटा डिप ट्युबवेल, १५ वटा समवेल मार्फत उत्पादन गरिरहेको छ । १९ वडा रहेको हेटौडा उपमहानगर क्षेत्रका १६ वटा वडामा बोर्ड मार्फत् खानेपानी वितरण हुँदै आएको निमित्त कार्यकारी निर्देशक विष्णु सापकोटाले जानकारी दिएका छन् । अन्य वडामा उपभोक्ता समिति मार्फत् पानी वितरण हुने गरेको छ ।

बोर्डका अनुसार वडा नं. २, ४, ५, ६, ७, ८, ९, १० र १४ पुरै र वडा नं. १, ३, १५, १६, १७, १८ र १९ का आंशिक क्षेत्रमा बसोबास गर्ने करिब १ लाख ६५ हजार नगरबासीलाई दैनिक पानी वितरण गर्दै आएको छ । बोर्डले मासिक रुपमा १ करोड २० लाख रुपैयाँ पानी महशुल उठाउने गरेको छ । बोर्डले आफ्नै स्रोतबाट नगरक्षेत्रामा १५ वटा डिप ट्युबेल, मकवानपुरगढी गाउँपालिकामा ३, भीमफेदी गाउँपालिकामा २ र हेटौंडा ९ मा एकवटा गरी ६ थान साना ट्युबेल निर्माण गरेको अध्यक्ष प्रताप विष्टले जानकारी दिएका छन् ।

संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौंडा उपमहानगरपालिका र बोर्डको सहलगानीमा करिब १५ करोडको लागतमा ओभर हेड पानी ट्याङकी १ वटा, भुमिगत पानी ट्याङकी ३ वटा, डिप बोरिङ ४ वटा मुख्य तथा शाखा पाइपलाइन विस्तार र विद्युतीकरणको काम गरिएको छ । संघीय सरकारको ८ करोडको लगानीमा हेटौंडा १९ मा पानी ट्याङकी, कार्यालय भवन तथा पालेघर निर्माण, प्रमुख तथा शाखा पाइपलाइन विस्तार र विद्युतीकरणको कामअन्तर्गत अपुरो रहेका योजना सम्पन्न गर्न बोर्डबाट ३ करोडरुपैयाँ लगानी गरी योजना सम्पन्न गरिएको छ ।

बागमती प्रदेश सरकारसँगको सहकार्यमा हेटौंडा–१९ बस्तीपुरमा साना ट्युबेल निर्माण, हेटौंडा–१६ मा डिप ट्युबेल, त्रिशुलीमा ५ लाख लिटर क्षमताको भूमिगत पानी ट्याङ्की निर्माणको काम र करिब २० हजार किलोमिटर प्रमुख तथा शाखा पाइपलाइन विस्तार गरिएको छ । हालसम्म बोर्डमा हेटौंडाको वडा नं. ३, ६, ७, १४, १५, १६, १७, १८ र १९ मा १६ वटा खानेपानी उपभोक्ता समितिबाट खानेपानीको पूर्वाधार सहित ९ हजार ५ सय धारा हस्तान्तरण गरिएको छ ।

त्यसैगरी हेटौंडामा २० करोड रुपैयाँ भन्दा बढीको लगानीमा खानेपानी योजना निर्माण हुने भएको छ । हेटौंडा उपमहानगरपालिका र संघीय सरकारको सहलगानीमा खानेपानी योजना निर्माण हुन लागेको हो । उपमहानगरको ९, १४ र १५ नम्बर वडालक्षित गर्दै सिमलटार–रातोमाटे सहलगानी खानेपानी योजना अन्तरगत ठुलो लगानीको काम हुने भएको छ । २० करोड ५६ लाखको लगानीमा हेटौंडा–९ को बेतखोल्सीमा ६ लाख लिटर, हेटौंडा–१५ पिसपार्कमा २ लाख लिटर र हेटौंडा–१४ मा २ लाख लिटरको खानेपानी टंकी निर्माण गरिने छ भने हेटौंडा–१४ मै २ वटा सामवेल बनाउने सम्झौतामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*