वडाअध्यक्ष न्यौपानेमाथिको आक्रमणप्रति प्रमुख दलको संयुक्त विरोध
हेटौंडा-हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपाने माथि भएको सांघातिक आक्रमणप्रति मकवानपुर जिल्लाका ७ राजनीतिक दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।बिहिबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी), राप्रपा, राप्रपा नेपाल, रास्वपाले जनप्रतिनिधि माथिको अमानवीय आक्रमण लोकतान्त्रिक मूल्य–मान्यतामाथिकै प्रहार भएको निष्कर्ष निकालेको हो । उनीहरुले घटनाको तत्काल छानबीन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । उनीहरुले घटनाको तत्काल छानबीन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन् ।
समस्या समाधानको उत्तम उपाय सहकार्य र संवादलाई समेत उपहास गरी जनप्रतिनिधिमाथि भएको अभद्र एवम् अमानवीय व्यवहारप्रति घोर आपत्ती प्रकट गरिएको छ । नेपाली कांग्रेसका सभापति बुद्ध लामा, नेकपा एमालेका उपाध्यक्ष हिदम लामा, नेकपा माओवादी केन्द्रका संयोजक भीम पाख्रिन, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष विष्णु दाहाल, राप्रपाका कार्यबाहक अध्यक्ष सागर थापा, राप्रपा नेपालका अध्यक्ष गुरुप्रसाद सापकोटा, रास्वपाका अस्मिता न्यौपानेले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
दलहरुले बिहिबार नै जिल्ला प्रशासन कार्यालय मकवानपुरको पनि ध्यानाकर्षण गराएका छन् । यसैगरी नेकपा एमाले १ नं. वडा कमिटीका अध्यक्ष नारायणबहादुर सुनार र नेपाली कांग्रेस १ नं. वडा सभापति हरिकृष्ण महर्जनले विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरेका छन् । त्यस्तै घटनाको विरोधमा १ नं. वडा कार्यालयका सदस्यहरुले बिहिबार हातमा कालोपट्टी बाँधेर कार्यस्थलमा उपस्थित भएका थिए । नेपाल प्रेस युनियन मकवानपुरले पनि वडाध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस युनियन मकवानपुरका पूर्वअध्यक्ष, रिपोटर्स क्लब नेपाल मकवानपुरका पूर्वअध्यक्ष तथा निरन्तर प्रकाशित ‘क’ बर्गको दैनिक पत्रिकाका प्रकाशक समेत रहेका न्यौपानेमाथि असार ४ गते दिउँसो ४ बजेको समयमा कार्यकक्षमै पुगेका कालो पोशाकमा मोटरसाइकलमा आएका समूहले मोबिल छ्याप्दै हातपात गरेको घटनाले प्रेस स्वतन्त्रता र जनप्रतिनिधिको सुरक्षाप्रति प्रश्न उठाएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष सुवास विडारीद्वारा जारी विज्ञप्तिमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारबाट जारी कानुन र परिपत्रअनुसार सार्वजनिक जिम्मेवारीवहन गरिरहेका जनप्रतिनिधिमाथि भएको आक्रमण आपत्तिजनक रहेको जनाइएको छ । प्रेस युनियनले आक्रमणकारीलाई तत्काल कानुनी प्रक्रियामा ल्याउन र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । विज्ञप्तिमा प्रेस युनियनले कानुनले दिएको अधिकार प्रयोग गरी कर्तव्यनिर्वाह गरिरहेका जनप्रतिनिधिमाथि भएको आक्रमणप्रति भत्र्सना गर्दै घटनाको निष्पक्ष छानबीन गरी दोषी पहिचान र सजायको सुनिश्चितता गर्न माग गरेको छ ।
त्यसैगरी मकवानपुर उद्योग वाणिज्य संघले पनि वडाअध्यक्ष न्यौपानेमाथि भएको घटनाको निन्दा गरेको छ । जनप्रतिनिधि र व्यापारीमाथि भएको आक्रमण सामाजिकअराजकताको पराकष्ठा भएको संघको ठहर छ । संघका अध्यक्ष प्रमोदसिंह रानाभाटद्वारा बिहिबार जारी विज्ञप्तिमा समाजमा शान्तिसुरक्षा कायम गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराइएको छ । पदीय जिम्मेवारी पुरागर्ने क्रममा जनप्रतिनिधिले खेप्नुपर्ने आक्रमणको दुरावस्थाबाट समाजलाई जोगाउँदै शान्तिसुरक्षाको पूर्णप्रत्याभुति दिनुपर्ने कानुनी दायित्व निर्वाह गर्न संघले प्रहरी प्रशासनलाई आग्रह गरेको छ ।







