थाहानगरको वार्षिक नीति तथा कार्यक्रम पारित

साझाकुरा
२०८२ असार ८, आईतवार १३:११

हेटौंडा,-थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।नगरपालिकाको १८ औं अधिवेशनबाट नीति तथा कार्यक्रम पारित भएको हो । शनिबार नगरप्रमुख विष्णुबहादुर विष्टले नीति तथा कार्यक्रम नगरसभामा पेश गरेका थिए । नगरपालिकालाई क्षयरोगमुक्त पालिका घोषणाका लागि कार्ययोजना बनाई कार्यान्वयन गरिने पालिकाको नीति रहेको छ । क्षयरोगमुक्त घोषणा अभियानका लागि आवश्यक पर्ने जनशक्ति स्थानीय तहले क्रमशः व्यवस्थापन गर्ने नीतिमा उल्लेख गरिएको छ ।

निःशुल्क आधारभूत स्वास्थ्यसेवामा आमनगरबासीको सुलभ र सरल पहुँचको व्यवस्थामा थप सुधार गर्न अत्यावश्यकीय औषधि तथा उपकरणको अभाव हुन नदिने, नसर्ने रोगको प्रकोप नियन्त्रण गर्न दीर्घरोगीलाई घरघरमा औषधि पु¥याउने तथा स्वास्थ्यपरीक्षणको व्यवस्था गर्ने नगरको नीतिमा समेटिएको छ । नगरपालिकाले कक्षा १ देखि ५ मा कम विद्यार्थी भएका विद्यालयमा मल्टी ग्रेड मल्टी लेभलका कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रधानाध्यापकको आवधिक मूल्याङकन गर्ने र प्रधानाध्यापकसँग शिक्षकको करारसम्झौता गरी सिकाई उपलब्धी अभिवृद्धि गर्ने, आर्थिक वर्ष २०८२÷८३ देखि आधारभूत तहको शिक्षा अनिवार्य र माध्यमिक तहको शिक्षा निःशुल्क गर्नको लागि विद्यालयस्तरको आवधिक, वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन नगरपालिकाबाट सञ्चालनको लागि आवश्यक बजेटको व्यवस्थामा निरन्तरता दिइने उल्लेख गरिएको छ ।

नगरपालिकाले आन्तरिक रोजगारी प्रवद्र्धनको लागि वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । सुरक्षित आप्रवासन कार्यक्रम सामी, लघुउद्यम विकास कार्यक्रम, नगरका विभिन्न विषयगत शाखाबाट रोजगारी सिर्जनाको लागि टेवा पुग्ने कार्यक्रम तथा नगरपालिकाभित्र विभिन्न गैरसरकारी संस्थाबाट सञ्चालन गरिने श्रम तथा रोजगारमूलक कार्यक्रमलाई थाहा नगरपालिकाको रोजगार सेवाकेन्द्रको संयोजन र समन्वयमा सञ्चालन गरिने उल्लेख गरिएको छ ।

रोजगार सेवा केन्द्रलाई श्रम तथा रोजगार शाखाको रुपमा विस्तार गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । वैदेशिक रोजगारीमा गएका कामदार र तिनका परिवारलाई वैदेशिक रोजगार बोर्डबाट उपलब्ध गराइने सेवा सुविधाहरुका लागि नगरको रोजगार सेवा केन्द्रबाट हुँदै आएको सहजीकरण सेवालाई निरन्तरता दिने पालिकाको नीति रहेको छ । सांस्कृतिक, प्राकृतिक, चलचित्र र आरोग्यमा आधारित पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने भएको छ । थाहा नगरलाई योग ध्यान पर्यटनक्षेत्रको रुपमा विकास गर्न कार्यक्रम सञ्चालन गर्ने पालिकाको नीति रहेको छ ।

पर्यटकीयक्षेत्रका अधुरा संरचनाको निर्माण सम्पन्न गर्ने, पर्यटन सूचना केन्द्रको स्थापना र नक्सा सहितको प्रचारात्मक बोर्डहरु राख्ने, पर्यटकीय पूर्वाधार निर्माण गर्दा मौलिक र नवप्रवर्तनलाई प्रोत्साहित गर्ने, हरेक होटल एक रैथाने परिकार कार्यक्रमलाई प्रवद्र्धन गर्ने नगरको नीतिमा उल्लेख गरिएको छ । होटल, रिसोर्ट तथा होमस्टे व्यवसायलाई प्रवद्र्धन तथा नियमन गर्ने, पर्यटकीयक्षेत्र तथा पार्कहरुको पर्यटन प्रवद्र्धनका लागि निजीक्षेत्रसँग सहकार्य गर्ने, भैंसे–सीमभञ्ज्याङ केबलकार सञ्चालनको लागि निजीक्षेत्रसँग सहकार्य गर्ने थाहा नगरपालिकाको नीति छ ।

नीति तथा कार्यक्रममा दुहुना गाई भैंसी र बाख्रा पकेटक्षेत्रको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गर्दै दुहुना गाई भैंसी पाडापाडी खरिदमा अनुदानको कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ । आगामी २ वर्षभित्र नगरलाई दुधमा आत्मनिर्भर बनाउने नीति नगरपालिकाको छ । मत्स्यपालन प्रवद्र्धनको लागि सार्वजनिक खोला तथा निजी जग्गामा मत्स्यपालन गर्ने कृषकलाई भुरा माछा खरिदका लागि अनुदानको व्यवस्था गर्ने, प्रत्येक वडा कार्यालयमा माइक्रोस्कोपको व्यवस्था गरी गोबर परीक्षणको कार्य सञ्चालनमा ल्याउने, घरपालुवा कुकुर तथा बिरालोलाई निःशुल्क रेविजविरुद्धको खोप तथा बन्ध्याकरण कार्यक्रमलाई निरन्तरता दिने पालिकाको नीति छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा माटोको अम्लियपना र प्राङगरिक पदार्थको मात्रा सुधारका लागि ५० प्रतिशत अनुदानमा कृषिचुन वितरण गर्ने जनाएको छ । तरकारीखेतीको उत्पदान लागत घटाउन र कृषिपेशालाई नाफामुखी बनाउनका लावि मल्चिङ प्लाष्टिकमा ५० प्रतिशत अनुदान वितरण गरिने उल्लेख छ । ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरणमा निरन्तरता दिइने तथा खाद्यसुरक्षालाई ध्यानमा राखी धान र मकैको उत्पादन बढाउन हाइब्रिड धान र मकैको बीउमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

थाहानगरमै रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालय, मदन भण्डारी विश्वविद्यालय तथा जिल्ला र प्रदेशमा रहेका सरकारी तथा गैरसरकारी संघसंस्थासँगको सहकार्यमा प्रत्येक वडामा माटो परीक्षण शिविर, तरकारीबालीमा लाग्ने रोग कीराको जाँच, विषादि परीक्षण तथा मौसम अनुसारको विज्ञको उपस्थितिमा घुम्तीबालीको उपचार शिविर सञ्चालन गर्ने भएको छ । यसैगरी थाहानगरले अपा·ता भएका र एकलमहिलाले सञ्चालन गर्ने व्यवसाय दर्तामा २० प्रतिशत छुट दिने भएको छ ।

महिला, दलित, सीमान्तकृत समुदायबाट सञ्चालित व्यवसाय दर्तामा १० प्रतिशत छुट दिने नीति नगरपालिकाले लिएको छ । नगरपालिकामार्फत् सीप र प्रविधि हस्तान्तरण भई सुरुवात गरिएका लघुउद्यमलाई व्यवसाय दर्तामा सहुलियत प्रदान गर्ने नगरपालिकाको आगामी आर्थिक वर्षको नीति रहेको छ । प्रचलित सहकारी सम्बन्धी कानुनको पालना नगर्ने तथा नियमानुसारको प्रगति प्रतिवेदनहरु नियामक निकायमा पेश नगर्ने सहकारीलाई कानुनअनुसार कारवाही गर्ने थाहा नगरले नीति लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*