लटारम्मेश्वर महादेव मन्दिर पर्यटकीय गन्तव्य बन्दै

मन्दिरमा पुग्दा अलौकिक अनुभुति हुने गरेको पर्यटकको अनुभव
साझाकुरा
२०८२ असार ९, सोमबार १२:२८

हेटौंडा- मकवानपुरमा रहेको लटारम्मेश्वर महादेव मन्दिर वान डे ट्रेकिङ र हाइकिङका लागि उपयुक्त गन्तव्य बन्दै गएको छ । भीमफेदी गाउँपालिका–८ स्थित लटारम्मेश्वर महादेव मन्दिर धार्मिक पर्यटक एवम् हाइकिङ रुचाउने पर्यटकको रोजाइमा पर्न थालेको हो । समुन्द्री सतहबाट एक हजार ८ सय ५६ मिटरको उचाइमा रहेको लटारम्मेश्वर महादेव मन्दिरबाट मनोरम हिमश्रृंखला देख्न सकिन्छ । सामाजिक सञ्जालमार्फत चर्चा बटुलिरहेको लटारम्मेश्वरक्षेत्र डब्लुडाँडा नामले पनि चिनिन्छ । पौराणिक मान्यताअनुसार सतीदेवीको जटापतन भएको स्थानकारुपमा लटारम्मेश्वरलाई धार्मिक दृष्टिले अति पवित्र मानिन्छ । भीमफेदी गाउँपालिका र वागमती प्रदेश सरकारको सहयोगमा लटारम्मेश्वरक्षेत्रलाई पर्यटकीय हबको रुपमा विकास गर्न गुरुयोजना बनाइएको छ ।

बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा खानेपानी, विश्रामस्थल र पदमार्ग स्तरोन्नति लगायत पूर्वाधार विस्तारको कार्य तीब्रगतिमा अघि बढिरहेको पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले बताए । उनले पर्यटकको सहजताका लागि पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । स्थानीयवासीका अनुसार पछिल्लो समय लटारम्मेश्वरक्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको उल्लेख्य वृद्धि भएको छ । मन्दिर दर्शन गर्न आउने पयर्टकका कारण व्यापार व्यवसायमा सकारात्मक प्रभाव परेको स्थानीय विजय भोलोनले बताए ।

प्राकृतिक सुन्दरताले भरिएको यो मन्दिरमा पुग्दा अलौकिक अनुभूति हुने गरेको पर्यटक सुनिता मानन्धरको अनुभव छ । भौगोलिक अवस्थिति र धार्मिक महत्वका कारण लटारम्मेश्वरलाई पर्यटकीय हबको रुपमा विकास गरिनुपर्नेमा स्थानीयले जोड दिएका छन् । मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगन हुँदै खोरभन्ज्याङको बाटोबाट राटोमाटेसम्म सवारी साधनमा र त्यसपछि केही भाग सिडी र डेढ घण्टा ठाडो उकालो हुँदै मन्दिरमा पुग्न सकिन्छ । त्यस्तै भीमफेदी गाउँपालिकाको इपाबाट २ घण्टाको ठाडो उकालो पैदल हिँडेपछि पनि डब्लुडाँडाको थुम्कोमा रहेको महादेवको मन्दिरमा पुग्न सकिन्छ ।

थुम्कोमा पुगेपछि देखिने प्राकृतिक दृश्य, बाटोभरि फूलेका राताम्य लालीगुराँस र चिसो हावाले यहाँ पुग्ने पर्यटकलाई मन्त्रमुग्ध बनाउँदछ । भीमफेदी र बकैयाको थुम्कोबाट आकर्षक गणेश हिमाल देख्न सकिन्छ । डब्लुडाँडालाई छिनमै बादलले ढकमक्क ढाक्छ । छिनमै बादल फाटेर प्राकृतिक सुन्दरता देखिनु यो मन्दिरको विशेषता पनि हो । प्राकृतिक सुन्दरताले भरिएको यो मन्दिरमा पुग्दा अलौकिक अनुभूति हुन्छ । लटारम्मेश्वर महादेव मकवानपुरको बकैया गाउँपालिका र भीमफेदी गाउँपालिकाको सीमनामा पर्नेएक धार्मीक पर्यटकीयस्थल हो । बकैया–१२ को ठिंगन र भीमफेदी– ८ को ईपा नजिकबाट करिब ३ घण्टा पदैलमार्फत् लटारम्मेश्वर पुग्न सकिन्छ ।

करिब २ हजार मिटर अग्लो डब्लु डाँडामा रहेको लटारम्मेश्वर हिन्दू धर्मालम्बीको आस्थाको केन्द्र हो । हिन्दु धर्मको पौराणिक कथाअनुसार महादेवको पत्नी सतिदेबीले देहत्याग गरेपछि महादेवले उनको शरिर लिएर हिड्ने क्रममा उनको जटा (टाउकोको कपाल) पतन भएको स्थानको रुपमा यो क्षेत्रलाई लिइन्छ । सतिदेबीको जटा झरेर पतन भएको पौराणीक कथाअनुसार लटारम्मेश्वर महादेब भएको बताइन्छ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट कान्तिलोकपथ हुँदै ४० किलोमिटर उत्तरक्षेत्रको यात्रापछि बकैया गाउँपालिकाको ठिंगन पुगिन्छ । ठिंगन पुग्नुभन्दा ५०० मिटर अगाडि खोरभन्ज्याङबाटै कच्ची बाटो हुदै रातोमाटे भन्ने ठाँउसम्म दुई पाग्रे साधनमा पुग्न सकिन्छ ।

रातोमाटेबाट करिब ३ घण्टाको जंगल पैदलयात्रापश्चात लटारम्मेश्वर मन्दिर पुगिन्छ । महाभारतक्षेत्रकोे यो स्थानमा वर्षायाममा लेकाली जुकाले यात्रुलाई दुख दिने गरेको छ । लटारम्मेश्वरमा करिब एकसय मिटरको सिमेन्टको सिँडी बनाइएको छ । लटारम्मेश्वर डाँडामा गुफाभित्र मन्दिर रहेको छ । गुफा बाहिर ठूलो घण्टी र भित्र मन्दिर, केही मिटरमाथि ठूलो त्रिशुल र पूजाआजा गर्ने स्थल रहेको छ । पछिल्लो समय लटारम्मेश्वरमा मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर र ललितपुरबाट आउनेको संख्या बढ्दै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*