जनता माविलाई बहुमुखी क्याम्पस, बकैयामा आवासीय विद्यालय्
हेटौंडा-पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटको आकार बढाएको छ ।गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित ८३ करोड ७२ लाख ६७ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाको सातौँ अधिवेशनमा अध्यक्ष सर्केस घलानले नीति तथा कार्यक्रम र उपाध्यक्ष फणिन्द्रकुमार तिमल्सिनाले चालू आर्थिक वर्षको भन्दा १२ करोडले बढी बजेट प्रस्तुत गरेका हुन् । गाउँपालिकाले चालू आर्थिक वर्षको लागि ७१ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
आर्थिक वर्ष ०८२÷८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ९ करोड ८ लाख २५ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट २२ करोड ५९ लाख, ३१ हजार ६७४ रुपौयाँ, प्रदेश सरकारबाट ५ करोड ९९ लाख ११ हजार रुपैयाँ र संघीय सरकारबाट ४६ करोड ६ लाख रुपैयाँ व्यहोरिने उल्लेख गरिएको छ । गाउँसभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष तिमल्सिनाले आगामी आर्थिक वर्षमा सामाजिक विकास क्षेत्रमा कुल बजेटको आधा बजेट विनियोजन गरिएको बताए ।
उनका अनुसार सामाजिक क्षेत्रका विभिन्न कार्यक्रमका लागि सबैभन्दा बढी ४२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । उपाध्यक्ष तिमल्सिनाले गाउँपालिकाको महत्वपूर्ण खानेपानी आयोजनाको रुपमा रहेको गुन्द्रुकखोला खानेपानी आयोजनाको लागि संघीय विशेष अनुदानतर्फ २ करोड २० लाख, आठौँ बागमती राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको लागि ५० लाख बजेट प्रस्ताव गरेका छन् । यसैगरी, राईगाउँ क्यान्टिन सडक र कुटीभकारी–गुर्दुम सडकको लागि प्रदेश समपूरक अनुदानअन्तर्गत ३ करोड ८५ लाख बजेट प्रस्ताव गरिएको छ ।
स्थानीय ग्रामीण सडक तथा झोलु·े पुल कार्यक्रमअन्तर्गत् गाउँपालिकाको महत्वपूर्ण सडक योजना, स्थानीय ग्रामीण सडक तथा झोलु·े पुल निर्माणसमेतका आयोजनाको लागि ४ करोड ५८ लाख ५० हजार बजेट प्रस्ताव गरिएको छ । गाउँपालिकाको स्थानीय स्रोतसाधनको प्रयोग गरी आन्तरिक आयमा बढोत्तरी गर्नका लागि आगामी आर्थिक वर्ष ०८२÷८३ मा आफैँले क्रसर उद्योग स्थापना गर्ने तयारी गरेको उपाध्यक्ष तिमल्सिनाले बताए । क्रसर उद्योग स्थापनाका लागि ५ करोड ७५ लाख बजेट प्रस्ताव गरिएको गाउँसभामा उपाध्यक्ष तिमल्सिनाले जानकारी दिए ।
पूर्वाधार विकासका लागि १७ करोड, कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यका लागि १२ करोड २६ लाख, वातावरण तथा विपत् व्यवस्थापनका लागि १ करोड १६ लाख, आर्थिक विकासका लागि ५ करोड ४३ लाख र सुशासन तथा संस्थागत विकासका लागि ४ करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष घलानले ८ नम्बर वडामा रहेको जनता माविलाई बहुमुखी क्याम्पसकारुपमा सञ्चालन गर्ने योजना अघि सारेका छन् ।
प्रत्येक वडा कार्यलयबाट सामाजिक सुरक्षाभत्ता वितरण गर्ने र एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने नीति लिएको अध्यक्ष घलानले जानकारी दिए । उनका अनुसार गाउँपालिकाबासी जनप्रतिनिधि र सरकारी कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने नीति पनि पालिकाले ल्याएको छ । यदि भर्ना नगरेमा तलब र सेवासुविधाबाट १० प्रतिशत शैक्षिक कर तिर्नुपर्ने उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गरेका छन् ।
आगामी आर्थिक वर्षमा पालिकाले नै क्रसर उद्योग स्थापना गरेर सञ्चालन गर्नका लागि बजेट विनियोजन गरिएको छ । पालिकाले प्रस्तुत गरेको नीति, कार्यक्रम र वजेट असार २८ गते पारित गर्ने योजना रहेका गाउँपालिकाले जनाएको छ
।आवासीय विद्यालय बनाउन स्थानीयको माग
मकवानपुरको बकैया गाउँपालिकामा आवासीय विद्यालयको आवश्यकता रहेको भन्दै स्थानीयले आवासीय विद्यालयको माग गरेका छन् । सोमबार बकैयामा भएको आगामी आ.व २०८२÷८३ को नीति तथा कार्यक्रममा सुझाव संकलन एवम् अन्तरक्रियामा बकैयाका स्थानीयले यस्तो माग राखेका हुन् ।
आगामी आवको नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा पालिकाले सुझाव संकलन एवम् अन्तरक्रिया गरेको हो । कार्यक्रममा स्थनीयले गाउँमा विद्यालय जाने अभिभावकविहीन विद्यार्थीको संख्या बढ्दै गएकोले उनीहरुलाई लक्षित गरी स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न आवश्यक रहेको औँल्याएका थिए । यस्तै, विद्यालयको अध्ययनपश्चात् पलायन हुने विद्यार्थी रोक्न स्थानीय सरकारले चासो दिन जरुरी रहेको स्थानीयको माग छ ।
छलफलको क्रममा तरकारी, फलफूल र मुख्य आम्दानीको दिगोपनाको लागि विशेष पहल गर्नुपर्ने, भौतिक पूर्वाधारक्षेत्रमा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा पुग्ने वा अर्काे जिल्लामा जोड्ने सडक व्यवस्थित बनाउन पालिकाले बजेट विनियोजन गर्नुपर्ने, नदी, खोलानाला नियन्त्रणको लागि गुरुयोजना निर्माण, धार्मिक पर्यटकीयक्षेत्रको पहिचान र प्रवद्र्धन गरी आन्तरिक राजश्व वृद्धि, विगतका योजनालाई अध्ययन गरी आगामी आर्थिक वर्षमा आवश्यक योजना छनोट गर्नुपर्ने, सामाजिक संघसंस्थासँगको समन्वय र सहकार्यमा एकीकृत सामाजिक सुधारको कार्यक्रम समावेश हुनुपर्ने र विपद व्यवस्थापनको लागि पूर्वतयारीको लागि संघ, प्रदेश र स्थानीय तहको एकद्वारप्रणाली हुनुपर्ने स्थानीयको माग रहेको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले गाउँपालिकाको मात्र स्रोतमा आवासीय विद्यालय सञ्चालन गर्न सम्भव नरहेको भन्दै प्रदेश र संघीय सरकारसँग समन्वय र सहकार्य गरिने बताएका छन् । बकैया गाउँपालिकाको सहकार्य र अन्य संस्थाको सहयोगमा बकैया–५ अवस्थित गितावर आधारभूत विद्यालयमा आवासीय विद्यालय सञ्चालनमा ल्याएको तर, सञ्चालनमा समस्या आएको उनले बताए । अध्यक्ष लामिछानेले प्रदेश सरकारले स्थानीय सरकारले जति पनि काम गर्न नसकेको भन्दै स्थानीय सरकारले नै उत्पादनसँग नागरिकलाई जोड्ने गरी कार्यगर्दै आएको बताए ।
विगतका दिनमा योजना धेरै राखेर बजेट निर्माण गर्ने तर, कार्यान्वयन आधा काममात्र हुनेगरेको भन्दै यो समस्या समाधानको लागि अति आवश्यक विकासे बजेट निर्माण गर्नुपर्नेमा अध्यक्ष लामिछानेको जोड छ । पालिकाले बजेट निर्माण गर्दा उत्पादनको क्षेत्रमा लगानी गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै आवश्यकताको आधारमा हरेक वडामा बजेट विनियोजन गर्ने जनाएका छन् ।







