बागमती सरकारले सञ्चारक्षेत्रको बजेट कटौतीप्रति पत्रकारको आपत्ती

साझाकुरा
२०८२ असार १२, बिहीबार १६:०८

हेटौंडा- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको बजेटमा सञ्चार क्षेत्रलाई उपेक्षा गरिएको भन्दै पत्रकार महासंघ बागमती प्रदेशलगायत १२ सञ्चार सम्बद्ध संगठनहरुले असन्तुष्टि जनाएका छन् । सञ्चारमैत्री बजेट निर्माणका लागि पटकपटक ध्यानाकर्षण तथा पहल गर्दा समेत बेवास्तागरिएको भन्दै उनीहरुले मुख्यमन्त्री लगायत आन्तरिक तथा कानूनमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीलाई बुधबार ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारुमगर नेतृत्वको टोलीले मुख्यमन्त्री बहादुरसिंह लामा, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेलाई ध्यानाकर्षणपत्र बुझाएको हो । सञ्चारमाध्यमले पाउँदै आएको लोककल्याणकारी विज्ञापनमा ८५ प्रतिशत कटौती गरिएको, पत्रकार संघ संगठनको प्रदेश समितिमार्फत पत्रकारको क्षमता विकासका कार्यक्रम खारेज गरिएको तथा श्रमजीवी पत्रकारको क्षमता विकास तथा हितका कार्यक्रम कटौती गरिएकोमा संगठनहरुले गम्भीर आपत्ति जनाएका छन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने विषयलाई बजेटमा समावेश नगरिएकोमा पनि असन्तुष्टि व्यक्त गरिएको छ । सञ्चार हेर्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयले केही लाख रुपैयाँ तजबिजमा बाँड्न राखिएको रकम बाहेक सञ्चारक्षेत्रलाई शून्य बजेट विनियोजन गर्नु दुःखद भएको उनीहरुको ठहर छ । लोकतन्त्रको अभिन्न अ· सञ्चारक्षेत्रलाई कमजोर बनाउने गरी बजेट ल्याइएको भन्दै उनीहरुले बजेट संशोधन गरी सञ्चारमैत्री बनाउन माग गरेका छन् । सञ्चारक्षेत्रलाई निषेध गरी बजेट पारित गरिएमा संघर्षमा उत्रने चेतावनी दिइएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै मुख्यमन्त्री लामाले बजेट प्रणाली सुधारको आवश्यकता रहेको बताएका छन् । पत्रकारको मागका विषयमा आफू सकारात्मक रहेको बताउँदै मुख्यमन्त्री लामाले राज्यको चौंथो अ·लाई विभेद गर्ने प्रदेश सरकारको नीति नरहेको दाबी गरेका छन् ।

ध्यानाकर्षणपत्रमा नेपाल प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, आदिवासी जनजाति पत्रकार महासंघ, समाजवादी प्रेस संगठन, स्वतन्त्र पत्रकार संघ, सञ्चारिका समूह, सामुदायिक रेडियो प्रसारक संघ, ब्रोडकाष्टिङ एशोसियसन अफ नेपाल (बान) बागमती प्रदेश,राष्ट्रिय फोटो पत्रकार संघ नेपाल पत्रकार महासंघ मकवानपुरले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*