प्रचारप्रसारको अभावले ओझेलमा हात्तीसार

साझाकुरा
२०८२ असार १२, बिहीबार १६:१०

हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको ऐतिहासिक हात्तीसार संग्रहालय प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । नेपाल भ्रमण वर्ष १९९८ को सन्दर्भमा संग्रहालय स्थापना गरिएको थियो । बेलायती महारानी एलिजाबेथ द्वितीया र राणा प्रधानमन्त्री जंगबहादुर राणाले सिकार खेल्न जाने क्रममा हात्ती पार्किङस्थलका रुपमा परिचित यो संग्रहालय पर्यटकको पर्खाइमा बसेको छ । हेटौंडाबाट उत्तरपूर्वमा करिब ३५ किलोमिटरको दूरीमा रहेको भीमफेदीस्थित यो संग्रहालयमा महारानी एलिजावेथले प्रयोग गरेका ४ वटा सिकारी हौदा र जंगबहादुरले प्रयोग गरेका पिँजडा सहितको हौदा राखिएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–६ मा अवस्थित राणाकालीन हात्तीसार संग्रहालय नेपालका प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणा, श्री ५ महेन्द्र, बडामहारानी, बेलायती महारानी एलिजाबेथ द्वितीया, श्री ५ वीरेन्द्र र श्री ५ ज्ञानेन्द्रसम्मले शिकारको सिलसिलामा प्रयोग गरेको ऐतिहासिकस्थल हो । उनीहरु हात्तीमा चढेर चितवनतर्फ शिकार खेल्न जाने गर्थे । संग्रहालय भवनभित्र कुल ४२ वटा हौदाहरु रहेका छन् । बाघको सिकारका लागि प्रयोग गरिने सेतो कपडा पनि यहाँ सुरक्षित राखिएको छ । संग्रहालयमा शिकार खेल्ने व्यक्तिले हात्तीमा राखेर प्रयोग गर्ने सिकारी हौदा, शिकारीको संरक्षणमा जाने भारदारी र खानपानको व्यवस्था गर्नेहरु बस्ने सुसारेले प्रयोग गर्ने हौदाहरु छन् ।

राणाकालमा बेलायती राजारानीलगायत विदेशी पाहुना हात्तीमा बसेर शिकार खेल्नका निम्ति भीमफेदी आउने गरेको इतिहास छ । पूर्वराजपरिवारका सदस्यहरुले पनि चितवन राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष, शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाने गरेको जानकारहरु बताउँछन् । हात्तीसारमात्रै नभई त्यतिबेला तराईबाट काठमाडौं पुग्ने मुख्य बाटोसमेत यही थियो । त्रिभुवन राजपथ निर्माण हुनुभन्दा अघि भीमफेदी तराई जोड्ने सेतुको रुपमा परिचित थियो । राणाकालमा बेलायती राजारानीलगायत विदेशी पाहुना हात्तीमा बसेर शिकार खेल्नको निम्ति पनि भीमफेदी नै आउँथे ।

विगतमा पैदलयात्रुको निम्ति बास बस्न बनाइएका पाटीपौवा र निजी भवनहरु अहिले जीर्ण छन् । २०५९ जेठमा तत्कालीन सांसद हिरण्यलाल श्रेष्ठले आधा दर्जन एक्युरियम राखेर यसलाई थप आकर्षक बनाउने प्रयास गरेका थिए, तर ती एक्युरियम अहिले प्रयोगमा छैनन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्वामित्वमा रहेको यो संग्रहालय करिब २५ रोपनी क्षेत्रफलमा फैलिएको छ । धेरै ऐतिहासिक महत्व बोकेको भएता पनि उचित प्रचारप्रसारको अभावले पर्यटकको आगमन हुन सकेको छैन ।

हात्तीसार संग्रहालयलाई थप ऐतिहासिक बनाउनका लागि प्रवेशद्वारमा दुईवटा हात्तिका मूर्तिका साथै ऐलिजावेथ द्धितीया र जंगबहादुर राणाको शालिक राखिने योजना रहेको भीमफेदी गाउँपालिका–६ का कार्यबाहक वडाअध्यक्ष ब्ुद्धिबहादुर वाइबाले बताएका छन् । भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार संग्रहालयमा रहेका सामग्रीले नेपालको शाही इतिहास र शिकार संस्कृतिलाई उजागर गर्छन् । तर, यसलाई व्यवस्थित संरक्षण र प्रचारप्रसारको खाँचो छ । यो संग्रहालयलाई पर्यटनको प्रमुख गन्तव्यकारुपमा विकास गर्न सकिन्छ ।

अध्यक्ष लामाले अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाउने गरी संरचनागत सुधार, सामग्री संरक्षण र प्रचार अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए । ‘सयौं वर्ष पुराना सामग्री जतन गर्नसके स्थानीय पर्यटन मात्र होइन, राष्ट्रिय सांस्कृतिक सम्पदा प्रवद्र्धनमा पनि टेवा पुग्नेछ,’ अध्यक्ष लामाले थपे । अहिले संग्रहालयमा रहेका केही दुर्लभ सामग्री र तस्वीरहरु सार्वजनिक गरिँदै छन्, जसले इतिहासप्रेमीका लागि संग्रहालयलाई अझै आकर्षक बनाउने विश्वास लिइएको छ ।

यस संग्रहालयको संरक्षण र प्रचार प्रसारमा जोड दिई यसको ऐतिहासिक महत्वलाई उजागर गर्नसके आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने देखिएको छ । सम्बन्धित निकायले यस विषयमा ध्यान दिई हात्तीसार संग्रहालयको उचित व्यवस्थापन र प्रवद्र्धन गर्न आवश्यक छ । नेपालको पहिलो हात्तीसार मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा भएको पाइन्छ । हात्ती राख्न भने सर्वप्रथम जंगबहादुर प्रधानमन्त्री भएर राख्ने गरेको हो । जंगबहादुर वि.स.१९०३ असोज २ गते कम्माण्डर इनचिफ र १९०३ कात्र्तिक १२ गते नेपालका प्रधानमन्त्री भएका थिए ।

वि.स. १९०४ आषाढ शुक्रपक्ष सुदी पूर्णिमा मंगलबारका दिन तत्कालीन राजा राजेन्द्रलाई वीरगञ्च पश्चिम अलौबाट पिंजरामा थुनेर अपहरण शैलीमा काठमाडौं लगियो । उनलाई थुनेरै राखेपश्चात जंगबहादुर शक्तिशाली भए । हात्ती जम्मा गरी सुकेको ठूलो रुखको ठूटोमा बाध्न लगाए । त्यही ठाउँको घेराबार गर्न लगाए र त्यही स्थान नेपालको पहिलो हात्तीसार बन्न पुगेको हो ।

घर निर्माण भने चन्द्रशम्शेरको पालामा भएको थियो । तराईमा औलो उन्मुलन नभएसम्म हात्तीसार भीमफेदीमै थियो । पछि राप्तीदुन जग्गा विक्री वितरण कमिशनबाट फुर्केचौरदेखि पश्चिम माडीसम्म योजना बनेपश्चात टाढा भयो भनी तराईमा सारिएको थियो । प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा विदेशी पाहुनालाई हात्ती चढाएर तराईमा सिकार खेलाउने गरिएकोले तत्कालीन हात्ती चढ्ने हौदाहरु आज पनि भीमफेदीमा छ । यहाँ भएको भौतिक पूर्वाधार तथा जग्गाहरु वेवारिसे अवस्थामा हुँदा स्थानीय निकायले सदुपयोग गर्न माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*